ताप्लेजुङ/गत भदौ २१ गते ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङबाट मिक्वा खोला गाउँपालिकाको केन्द्र साँवामा हिँडेका पाञ्जो भोटेलाई लिवाङको छिपछिपेको पहिरो पार गर्दा युद्ध जितेजस्तै भयो । ‘करिब ६० मिटर लामो पहिरोको बीचमा पुगेपछि छेवैबाट ठूला–ठूला तीन वटा ढुङ्गा खसे, त्यसपछि हतार–हतार गर्दै पारि पुगेँ’ भोटे भन्छन्,‘अनिमात्रै अब चाहिँ बाँचेँजस्तो लायो र ढुक्कको सास आयो ।’ आफूजस्तो यो बाटो नियमित हिँड्ने सबैको नियति यस्तै भएको उनी बताउँछन् । सदरमुकाम फुङ्लिङबाट मिक्वा खोला गाउँपालिकाको केन्द्र साँवा हुँदै तिब्बतको सीमा क्षेत्रसँग जोडिएको तोक्पेगोला जाने सडक तथा पैदल मार्गका विभिन्न स्थान पहिरोले बगाएपछि स्थानीय जोखिमपूर्ण यात्रा गरिरहेका छन् । लिवाङको पञ्चेश्वरी मावि छेउसम्म सडक भए पनि सवारी चल्न सक्दैनन् । त्यहाँबाट माथि पैदलमार्ग मात्रै छ । तीन वर्षअघि पहिरोले छियाछिया पारेको वडा नं. ३ लिवाङमा अहिले पनि पहिरो खस्ने क्रम रोएिको छैन । वडा नं. १ खोक्लिङबाट लिवाङ, साँवा र पापुङ जोड्ने सडकको ट्रयाक खोल्न शुरु भएको वर्षौं भइसकेको छ ।
वर्षेनी हिउँदमा सडक खन्ने गरिएको छ तर बर्खामा आधा दर्जन ठाउँमा पहिरोले बगाइदिँदा आवत–जावत गर्न कठिनाइ भएको स्थानीय बताउँछन् । ‘पहिरोले हिँड्न अप्ठ्यारो त धेरै ठाउँमा बनाएको छ’ साँवाबाट सदरमुकाम हिँडेका मोहन थलङले भने, ‘त्यसमध्ये पनि छिपछिपेको पहिरोमा जोखिम बढी छ ।’ निरन्तर बगिरहने, तल हेर्दा खोलो र माथि पनि झर्न लागेजस्ता ढुङ्गाले ज्यान हत्केलामा राखेर हिँड्नुपर्ने अवस्था रहेको थलङ बताउँछन् । उक्त बाटोमा बिरामी, वृद्धवृद्धा र विद्यार्थीलाई झनै सास्ती रहेको स्थानीय नरेन्द्र लिम्बूले बताए । लिवाङ र साँवाको बीचमा रहेको ताक्तिममा पनि पहिरो नरोकिएपछि वडा नं. १, २ र ३ का नागरिकलाई गाउँपालिका केन्द्र जान समस्या भएको लिम्बूको भनाइ छ । कोही बिरामी भएर अस्पताल लानुपरे बाटै नरहेको वडा सदस्य गोपी अधिकारी बताउँछन् । ‘तीन वर्षअघिको पहिरोमा परिवार र आफन्त गुमाउँदाको पीडा निरन्तरको पहिरोले भुल्न सकेका छैनौं’ अधिकारी भन्छन्, ‘पहिरोको बीचमा बसेका छौँ, गाउँपालिकातर्फ जाने बाटोमा पहिरो र सदरमुकाम जाने बाटोमा पनि पहिरो नै गइरहेको छ ।’
पहिरोग्रस्त क्षेत्र नै घोषणा गरेर यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको भए पनि पहिरोले हैरान बनाएको गाउँपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष दीपेन्द्र लिवाङले बताए । गतवर्ष पनि यही सडकमा गाउँपालिकाले २ करोड रुपैयाँ खर्चिएको थियो । यसवर्ष एक करोड विनियोजन गरेको छ । ‘हाम्रो वडालाई पहिरोले साह्रै दुःख दियो, सकेसम्म त गरिरहेका छौं’ वडाध्यक्ष लिवाङले भने, ‘पहिरोले गर्दा अरु क्षेत्रको विकासमा ध्यान दिनै पाइएन ।’ गाउँपालिकाको मात्रै बजेटले नपुग्ने हुँदा अब प्रदेश र केन्द्र सरकारले नै पहिरो क्षेत्रका लागि चासो दिनुपर्ने उनको भनाइ छ ।