[caption id="attachment_79482" align="alignnone" width="700"] फायलफाेटाे[/caption]

पथरीशनिश्चरे/  शरणार्थीसम्बन्धी राष्ट्रस सङ्घीय उच्चायोग (युएनएचसीआर) ले भुटानी शरणार्थी र स्थानीयको सामाजिक संरक्षणका लागि झापा र मोरङमा कार्यक्रम अघि सारेको छ । सामाजिक संरक्षणका लागि कार्यदल गठन गरिएको छ । शुक्रबार पथरीशनिश्चरेमा बसेको चौथो बैठकले महिला, बालबालिका, अपाङ्गता भएका र ज्येष्ठ नागरिकका समस्याका बारेमा केन्द्रित भएर सहयोग पु{र्याउने लक्ष्य बनाएको छ । बैठकले, पथरीशनिश्चरेको शिविर र बस्तीमा रहेका महिला, बालबालिका, अपाङ्गता भएका र ज्येष्ठ नागरिकका गतिविधिलाई मासिक रूपमा अनुगमन गर्ने, ती पक्षसँग सम्बन्धित संस्थाको लेखाजोखा गर्ने निर्णय गरेको छ । बैठकमा शरणार्थी ज्येष्ठ नागरिकका लागि भत्तासहितका प्रयोजनका लागि नभएर, मात्र ज्येष्ठ नागरिक झल्किने हिसाबले नगरपालिकाले परिचयपत्र दिन सकिने या नसकिने विषयमा थप छलफल गरिनु पर्ने कुरा उठेको छ ।

पथरीशनिश्चरे–१० र दमक–३ मा शिविर क्षेत्र पर्दछ । भुटानी शरणार्थी समुदायमा आधारित संस्थाहरू भुटानी शरणार्थी महिला मञ्च, बाल मञ्च र अपाङ्ग सङ्घलाई सम्बन्धित वडामा सूचीकृत गर्ने निर्णय यसअघि भएको थियो । दमक–३ मा रहेको बेलडाँगी शिविरमा यूएनएचसीआरको सहयोगमा यसअघि निर्मित महिला संरक्षण गृहको स्तरोन्नति भइरहेको कुरा जानकारी गराइएको छ । ‘सामाजिक संरक्षणका गतिविधि कसरी अघि बढाउने भन्ने बारे थप छलफल गर्दै अघि बढ्दै जानेछौं’– युएनएचसीआर दमककी सङ्गीता खतिवडाले कार्यक्रमको सहजीकरणका क्रममा भनिन् । कार्यदल र लक्षितको सङ्ख्या

१ वर्षअघि गठित कार्यदलमा दुवै नगरका नगरपालिका उपप्रमुख, शिविर रहेको वडाका वडाध्यक्ष, युएनएचसीआर, एलडब्लुएफ, कारितास, आम्दा, दमक अपाङ्ग सहयोग समिति, ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान, नगर बालसञ्जाल, ग्रामीण तथा शहरी विकास नेपाल, शिविर व्यवस्थापन समितिको बालबालिका हेर्ने फोकल पोइन्टका प्रतिनिधि रहेका छन् । त्यस्तै केन्द्रीय बालकल्याण समितिका प्रदेश प्रतिनिधि, बीआरसीएफ, बीआरडब्लुएफ, बीआरएडी, इलाका प्रहरी कार्यालय कार्यदल सदस्यका रूपमा राखिएको छ । नगरप्रमुख आमन्त्रित रहन्छन् ।  कार्यदलले मुख्य ४ वटा क्षेत्रका दुवै नगरका गतिविधि, तीसँग सम्बन्धित सङ्घ–संस्थाका बारेमा प्रतिवेदन तयार पारेको छ । ०६८ को जनगणनाअनुसार दमक नगरमा ३९ हजार ६ सय ६४ महिला र ३५ हजार ४ सय ३८ पुरुष गरी ७५ हजार १ सय २ जनसङ्ख्या रहेको छ । जसमध्ये, २८ हजार बालबालिका, ६ हजार ज्येष्ठ नागरिक र १ हजार ५ सय जना अपाङ्गता भएका व्यक्तिहरूको अनुमानित तथ्याङ्क प्रतिवेदनमा उल्लेख छ ।

बेलडाँगी शिविरमा, २ हजार ४ सय ९० महिला, २ हजार ९ सय ६१ पुरुष गरी ५ हजार ४ सय ५१ जनसङ्ख्या छ । जसमध्ये, १ हजार ७ सय ५६ बालबालिका, ६ सय ३ ज्येष्ठ र ३ सय ३३ अपाङ्गता भएकाको सङ्ख्या छ । पथरीशनिश्चरेतर्फ ३३ हजार ३ सय ७६ महिला र २७ हजार ७ सय ५६ पुरुष गरी ६१ हजार १ सय ३२ जनसङख्या छ । जसमध्ये २२ हजार ८ सय बालबालिका, ५ हजार ज्येष्ठ नागरिक र १ हजार २ सय अपाङ्गता भएका व्यक्तिहरूको अनुमानित तथ्याङ्क छ । शिविरमा ७ सय ४ महिला र ७ सय ५६ पुरुष गरी १ हजार ४ सय ६० जनसङ्ख्या छ । जसमध्ये, ५ सय ३ बालबालिका, १ सय ३४ ज्येष्ठ र ९० जना अपाङ्गता भएकाको सङ्ख्या उल्लेख छ ।