तेह्रथुम/ जिल्लाका छ वटै स्थानीय तहमा बैङ्क स्थापना भएपछि आर्थिक कारोबारमा सहजता आएको छ । आर्थिक कारोबार गर्ने उद्देश्यका साथ बैङ्क खुलेपछि सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलगायत जिल्लावासीलाई सुविधा भएको हो । तेह्रथुमका छ वटा स्थानीय तहमध्ये चारवटामा पहिल्यैदेखि सञ्चालन भएको र दुईवटा स्थानीय तहमा केही दिन अगाडिदेखि बैङ्क स्थापना भई कारोबार हुँदै आएको छ । सदरमुकाम रहेको म्याङलुङ नगरपालिकामा नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क, ग्लोबल आईएमई बैङ्क, कृषि विकास बैङ्क, एसबीआई बैङ्क, साराइज बैङ्क र म्याङलुङकै जिरिखिम्तीमा जनता बैङ्क र काबेली बैङ्क अगाडिदेखि नै सञ्चालनमा थिए भने एनआईसी एसिया बैङ्क यही साउनदेखि सञ्चालनमा आएको छ । लालीगुराँस नगरपालिकामा राष्ट्रिय वाणिज्य बैङ्क, काबेली बैङ्क र एनसीसी बैङ्क, छथर गाउँपालिकामा नेपाल बङ्गलादेश बैङ्क र काबेली बैङ्क आठराई र फेदाप गाउँपालिकामा नेपाल बङ्गलादेश बैङ्क र मेन्छ्यायेम गाउँपालिकामा एनसीसी बैङ्कले आफ्नो शाखा विस्तार गरी कारोबार समेत शुरु गरेका छन् ।
गाउँपालिकामा बैङ्क नहुँदा वचत, ऋण र भुक्तानीका कारोबार गर्न फेदापवासीले म्याङ्लुङ बजार धाउनु पर्ने बाध्यता थियो तर गाउँमा नै बैङ्क स्थापना भएपछि बैङ्किङ कारोबार गर्न सदरमुकाम धाउनु पर्ने बाध्यता हटेको फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङवाङले बताए । अबदेखि सामाजिक सुरक्षा भत्ता थाप्न जिल्ला जानु नपर्ने भनेपछि हर्षित हुँदै सदरमुकाम धाउँदै आएकी फेदाप १ सिम्लेकी त्रियासी वर्षिया हरिमाया रिजालले खुसी व्यक्त गरिन् । स्थानीय तहमा बैङ्क खुल्नु आफैँमा राम्रो कार्य हो । जसका कारण सम्बन्धित गाउँका नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । सुरक्षाको चुनौती पनि उत्तिकै पेचिलो हुने हुँदा व्यवस्थापनका निम्ति भने होसियार हुनुपर्ने नेपाल बैंक लिमिटेड, तेह्रथुम शाखाका प्रबन्धक यामनाथ दाहालले बताउँछन् । जिल्ला सदरमुकामबाट झोलामा पैसा लिएर गाउँगाउँ गई सामाजिक सुरक्षा भत्ता बाँड्नु कम चुनौतीपूर्ण थिएन, अब भने गाउँमै बैङ्क स्थापना भएका कारण समस्या समाधान भएको प्रबन्धक दाहालको भनाइ छ ।
आफ्नै गाउँपालिकामा बैङ्क स्थापना भएपछि सम्पूर्ण आर्थिक सेवा बैङ्कबाट शुरु गरिएको मेन्छ्यामेम गाउँपालिका अध्यक्ष यादव खापुङले बताए ।