चक्रघट्टी/ वराहक्षेत्र नगरपालिका परिसरमा रहेको लायन महेन्द्रनगर हेल्थ सेन्टर अपग्रेट प्रोजेक्टको १ करोड बराबरको आधुनिक स्वास्थ उपकरण उपयोगविहीन बनेको छ । लायन्सका पूर्व गभर्नर भीम घिमिरेको पहलमा लायन्स क्लब अफ सुनसरी कोशी रिभरले ०७३ साल असोज १२ गते साविक महेन्द्रनगर गाविसलाई हस्तान्तरण गरेको अत्याधुनिक स्वास्थ्य उपकरण दक्ष चिकित्सकको अभावमा उपयोगविहीन भएको हो । सेन्टरम रहेका अटो क्लाप, एक्क्सरे मेसिन, माइनरवटीलगायतका उपकरण दक्ष चिकित्सक र प्राविधिकको व्यवस्थापन हुन नसक्दा बन्द कोठामै थन्किएका छन् । भिडियो एक्सरे, सीबीसी, एनाइलाइजर, एक्सरे मेसिन, अल्ट्रासाउण्ड मिसिनको उचित उपयोग हुन नसकेको हो । हप्तामा १ दिन बुधबार बिहान ७ बजेदेखि ३ बजेसम्म एमडी र सोनोलोजिस्टले सञ्चालन गरी सेवा दिँदै आएको लायन्स क्लबका पूर्व अध्यक्ष कुमार श्रेष्ठले बताउँछन् ।

साविक गाविसलाई हस्तान्तरण गरे पनि गाविसले उपकरणको सदुपयोग गर्न सकेको थिएन । स्वास्थ्य सामग्री एक वर्षसम्म त्यतिकै थन्किएपछि पुनः लायन्स क्लब अफ सुनसरी कोशी रिभरले नेतृत्व लिँदै स्थानीयलाई स्वास्थय सेवा दिइरहेका छन् ।  ०७४ कार्तिक २७ गतेबाट चिकित्सकको व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको महेन्द्रनगर हेल्थ सेन्टर अफ अपग्रेड प्रोजेक्ट सञ्चालन समितिका अध्यक्ष दयाराम रेग्मीले बताए ।  सेन्टरमा ६ प्रकारका ल्याब मेसिन रहेको ल्याब टेक्निसियन पङ्कज साहले जानकारी दिए । आइतबारदेखि शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म सेवा दिइरहेको उनले बताए । अन्य स्वास्थ सामग्री पनि सञ्चालमा ल्याउन सके यहाँका सर्वसाधारण स्वस्थ्य सेवाका लागि धरान इटहरी विराटनगर पुग्नु नपर्ने उनको भनाइ छ । ‘यसलाई व्यवस्थापन गर्न धेरै पहल ग¥यौँ तर अहिलेसम्म चिकित्सकको व्यवस्थापन गर्न सकिएन, महँगा सामग्री बिग्रेलान् कि भन्ने पिर भैसक्यो ।’ रेग्मी भन्छन् । नगरपालिकामा करोडौंको स्वास्थ सामग्री भएपनि उपयोग गर्न नसकेको स्थानीय तुलसी श्रेष्ठ बताउँछन् । यसतर्फ नगरपालिकाले ध्यान दिन नसकेको उनको गुनासो छ । ‘यहाँका जनताले यो बर्खाको समयमा सर्दू तरेर जानू पर्ने थिएन,’ श्रेष्ठ भन्छन्, ‘सजिलै सर्वसुलभ ढङ्गले स्वास्थ्य सेवा पाउने थियौँ, दक्ष प्राविधिक नहुँदा बहुमूल्य सामग्री हुनु र नहुनुको कुनै अर्थ छैन ।’

सेन्टरमा उपचार गर्न आएकी स्थानीय ६५ वर्षीया शुभमाया राईको गुनासो पनि उस्तै छ । सेवाग्राहीले चाहेका बेला सेवा लिन नपाउँदा धरान, इटहरी, विराटनगरलगायतका शहरमा स्थानीयले धाउनु पर्ने बाध्यता छ । ‘यहाँ औषधि उपचार हुन्छ रे भनेको सुनेर आको थिएँ, तर हप्ता दिनमामात्र डाक्टर आउने रे,’ शुभमायाले भनिन्, ‘एक हप्ता कुर्नु भन्दा त बरु धरान जान्छु, बूढाबूढी मान्छे दुःख मात्र पाइयो ।’ स्थानीय जनप्रतिनिधि आएपनि स्थानीय सरकारको आन्तरिक स्रोतबाट आवश्यक दक्ष चिकित्सक र प्राविधिक उपलब्ध गराउन समस्या भएको नगरप्रमुख निलम खनाल बताउँछन् । नगरको आन्तरिक स्रोत साधन नहुँदा चाहेर पनि सेवा दिन नसकेको उनको भनाइ छ । यद्यपि नगरले प्रदेश सरकारसँग सो स्वास्थ्य संस्था सञ्चालन गर्नका लागि आवश्यक प्राविधिक माग गरको खनाल बताउँछन् ।

‘गाइनोलोजिस्ट, फिजिसियनलगायतका आवश्यक प्राविधिकको लागि प्रदेश र सङ्घीय सरकारसँग माग गरिएको छ तर, अहिलेसम्म सुनुवाइ हुन सकेको छैन ।’ नगर प्रमुख निलम खनालले भने । सेन्टर सञ्चालन भएदेखि अहिलेसम्ममा ल्याब टेस्ट गर्ने ३ हजार १ सय ७५, भिडयो एक्सरे १ हजार १ सय ९२ र ओपीडी जाँच १ हजार २ सय २१ जनाले गरेको सेन्टरको तथ्याङ्क छ ।