पाँचथर/बालविवाह न्यूनीकरणका लागि भएका प्रयास निष्प्रभावी देखिएका छन् । एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरका सबै स्थानीय तहले बालविवाहलाई निरुत्साहित गर्ने प्रयास गरेको देखिन्छ । तर ती प्रयासले समाजमा खासै प्रभाव छाड्न नसकेको सरोकारवाला बताउँछन् । स्थानीय तह र अन्य सरकारी निकायबाहेक जिल्लामा क्रियाशील सङ्घ–संस्थाहरूले पनि बालविवाह न्यूनीकरणका लागि विभिन्न समयमा विभिन्न क्रियाकलाप गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालयले जिल्लास्थित विभिन्न विद्यालयमा सञ्चालन गर्दै आएको साइबर अपराध सचेतना कक्षाका माध्यमबाट पनि बालविवाह न्यूनीकरणको सन्देश दिइँदै आएको छ । गत आर्थिक वर्षमा सबै स्थानीय तहले बालविवाहलाई निरुत्साहित गर्ने उद्देश्यले केही कार्यक्रम गरेका थिए । चालु आर्थिक वर्षमा पनि बालविवाह न्यूनीकरणका लागि सचेतनामूलकलगायतका कार्यक्रम राखेका छन् । यद्यपि ती कार्यक्रमले प्रतिफल दिन नसकेको सञ्चारिका समूह पाँचथरकी अध्यक्ष शान्तिदेवी राई बताउँछिन् ।
हरेक कुरामा क्रमशः उदार बन्दै गएको नेपाली समाज, पश्चिमा संस्कृतिको बढ्दो प्रभाव, अभिभावक आफ्ना बालबच्चाको क्रियाकलाप र रुचिप्रति गम्भीर नहुनु, किशोर–किशोरीमा सामाजिक सञ्जालको अस्वभाविक प्रयोग लगायतका कारणले बदलिँदै गएको किशोर–किशोरीको मनोविज्ञानलाई बदल्न ठूलो चुनौती बन्दै गएको राई बताउँछिन् । जिल्लाको अन्य क्षेत्रको तुलनामा बढी बालविवाह हुने भनिएको तुम्बेवा गाउँपालिकाको पाँचवटै वडामा गत आर्थिक वर्षमा महिला विकास शाखामार्फत् सचेतनाका कार्यक्रम गरेको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । तर कार्यक्रमबाट अपेक्षित उपलब्धि भने हासिल हुन सकेन । बालविवाह न्यूनीकरणका लागि सबैभन्दा ठूलो कुरा चेतना नै भएकाले यसलाई निरन्तरता दिने थापाको भनाइ छ । बालविवाह घटाउन अहिलेसम्म भइरहेका कोशिस प्रभावकारी नभएको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष हिमादेवी अधिकारी पनि स्वीकार्छिन् । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पनि २० वर्षमुनिका बालबालिकालाई यसबारे सचेत गराउने कार्यक्रम तय गरेको छ । उनले भनिन्, ‘प्रयास गरिएकै हो, तर त्यो प्रयास प्रभावकारी हुन सकेको छैन, यसलाई परिणाममुखी बनाउन कसरी कार्यक्रम गर्नुपर्ने हो, हामी नै अन्यौलमा छौं ।’ अधिकांश बालविवाह परिवारको सहमतिमा भन्दा पनि आफूखुसी हुने गरेको हिलिहाङ गाउँपालिका–१ अमरपुरस्थित अमरज्योति आधारभूत विद्यालयका शिक्षक पुष्पा तामाङ बताउँछिन् । ‘सानै उमेरमा प्रेममा पर्ने अनि लह–लहैमा बिहे गरिहाल्ने प्रवृत्ति बढेको छ’ उनले भनिन्, ‘यसले जटिल किसिमका सामाजिक, शारीरिक र मानसिक समस्या निम्त्याउने देखिन्छ ।’
जिल्लामा कति बालविवाह भएका छन्, यसको यकिन तथ्याङ्क कसैसँग पनि छैन । तर जिल्लाको सबै क्षेत्रमा बालविवाह समस्यासँगै चुनौती बन्दै गएको बालबालिकाको अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मी अर्पण थापा बताउँछन् । कानून कार्यान्वयनमा देखिएको फितलोपनका कारण वर्षेनी बालविवाह बढिरहेको थापाको अनुभव छ । उनले भने, ‘यसमा के पनि समस्या छ भने विवाह गरिसकेपछि मिलेर बसेका केटाकेटीलाई छुट्याउन पनि अप्ठ्यारो हुन्छ, यसरी पनि बालविवाह बढ्दो क्रममा छ ।’ मुलुकी अपराध संहिता ऐनले २० वर्षभन्दा कम उमेरमा गरिने विवाहलाई बालविवाह माने पनि यो क्रम भने बढ्दो अवस्थामा रहेको छ । जिल्लामा बालविवाह विकराल समस्या बन्दै गएको छ । सम्बन्धित निकायको तथ्याङ्कमा बालविवाहको रेकर्ड खासै देखिँंदैन । तर समाजमा भने बालविवाह ठूलो समस्याको रूपमा हुर्किंदै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७२/७३ मा २० वर्षभन्दा कम उमेरका ७ सय १२ महिलाले पहिलोपल्ट गर्भवती जाँच गराएका थिए । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा ८ सय ४२ र आर्थिक वर्ष २०७४/७५ मा ७ सय ६६ जना २० वर्षभन्दा कम उमेरका महिलाले पहिलोपल्टको गर्भवती जाँच गराएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए ।
शारीरिक र मानसिक रूपमा परिपक्व नभई विवाह गर्ने र गर्भवती हुँदा आमाको स्वास्थ्यमा जटिल किसिमका समस्या समेत देखा पर्नसक्ने र बच्चाको स्वभाविक वृद्धि तथा विकासमा पनि असर पुग्ने स्वास्थ्यकर्मी बताउँछन् । तर वर्षेनी बालविवाह भने बढिरहेको छ । यसबारे गम्भीर अध्ययन गरी समस्याको वास्तविक गहिराइमा पुगेर न्यूनीकरणको कार्य थालिए मात्र बालविवाह न्यूनीकरणको प्रयास प्रभावकारी हुने सरोकारवालाको सुझाव छ ।