पथरीशनिश्चरे । उत्तरपूर्वी मोरङको पथरी–जाँते–ज्यामिरे हुँदै किमाथाङ्काको पहुँचसम्म पुग्ने सडकको अवस्था जीर्ण भएको छ । यो सडक ज्यामिरेबाट ६ नम्बर बुधबारे– धनकुटा तथा पाँचथर र इलामको सिमाना चिसापानी पञ्चमी हुँदै रवि–राँकेबाट ताप्लेजुङ किमाथाङ्का जोड्ने सडकको पहुँचमा पुग्छ । वर्षाको समयमा विभिन्न ठाउँमा सडक भासिएको छ । ग्राभेलिङ नहुँदा बर्खाको पानीले बाटो बिगारेपछि ज्यामिरे खण्डमा यातायात सञ्चालन गर्न कठिन भएको छ । लेटाङ–९ जाँतेका सामाजिक अगुवा सोमनाथ निरौलाले पहाही क्षेत्रबाट तराई जोड्ने छोटो र पुल हाल्नु नपर्ने अवस्थाको ज्यामिरेसम्मको साढे १८ किलोमिटर लम्बाईको सो सडक निर्माणले आफ्नो क्षेत्रको भविष्य निर्माण हुने बताए । पहाडी क्षेत्रमा उत्पादित कृषिजन्य सामग्री तराई झार्न र तराईबाट आवश्यक उपभोग्य सामग्री पहाड उकाल्नका लागि सडक महत्वपूर्ण रहेको बताए । पूर्वपश्चिम मुख्य सडकअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बजार उत्तर जाँतेमोडबाट ज्यामिरेसम्म साढे १८ किलोमिटर लम्बाईको सडक हो यो । पथरी, लेटाङको जाँते, मिक्लाजुङ हुँदै धनकुटा नजिक चौबिसे गाउँपालिकाको ६ नम्बर बुधबारे पुग्छ । ६ नम्बर बुधबारेबाट आउने तेर्साे सडक ज्यामिरेमा जोडिन्छ । ८ किलोमिटर ३ सय मिटर जङ्गल क्षेत्र हुँदै जाँतेसम्म १२ किलोमिटर र त्यसभन्दा माथि ज्यामिरेसम्म साढे ६ किलोमिटर लम्बाई छ । ०५० मा स्थानीयको श्रमदान जुटाएर बाटो खन्न थालिएको थियो । ०५१ सालमा केन्द्र सरकारले ३ लाख रकम दिएपछि जङ्गल क्षेत्रमा रुख, जरा निकाल्ने काम भयो । ०५२ मा गाविसले ५ लाख लगानी गरेर नाला खन्ने काम ग¥यो । ०५३÷५४ र ०५४÷५५ मा गाविसले ४÷४ लाख छुट्यायो । त्यसमा तात्कालीन पथरी गाविसले १ लाख, जिल्ला विकास समितिले २ लाख गरेर ११ लाख बनाएर जाँतेको मदनचोक दक्षिण पथरीसम्म ग्राभेल गरिएको थियो । ग्राभेल भएपछि ०५५ वैशाख १ देखि जाँतेबाट पथरीसम्म बस र ट्याक्सी सञ्चालन भयो । ०५५÷५६ मा पुनः जाँते गाविसले ५ लाख लगाएर मदनचोक उत्तर गाविस कार्यालयसम्म ग्राभेल गर्ने काम भयो । जिविसबाट प्राप्त भएको ५ लाख रुपैयाँबाट ०५७ सालमा ज्यामिरेखण्डको सडक निर्माण थालेर ०५८ सम्पन्न भएको थियो । सो सडक मर्मतका लागि ०५६÷५७ मा जिविसले १० लाख दियो । हालसम्म १ करोड हाराहारी रकम सो बाटोमा खर्च भइसकेको छ । पथरीबाट ६ नम्बर बुधबारेसम्म २० वटाको हाराहारीमा ट्याक्सी सञ्चालन हुँदै आएका छन् । पथरीबाट जाँतेसम्म ६ वटा बस सञ्चालित छन् । लेटाङ नगरपालिकाले सो सडकको कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारिसकेको छ । जङ्गलबाहेकको क्षेत्रमा पक्का ड्रेनसहित कालोपत्रेका लागि २२ करोडको बजेट लाग्ने डीपीआरले देखाएको छ ।
सांसदसहितको टोलीद्वारा अनुगमन पथरी–जाँते–ज्यामिरे हुँदै किमाथाङ्काको पहुँचसम्म पुग्ने सडकको सांसद्सहितको टोलीले अनुगमन गरेका छन् । अनुगमनका क्रममा टोलीले सडकको दूरावस्था रहेको बताउँदै चाँडो निर्माण गर्न माग गरेका छन् । लेटाङको जाँते निवासी १ नम्बर प्रदेशका सांसद उपेन्द्र घिमिरेसहित पथरीशनिश्चरे र लेटाङ नगरपालिकाका जनप्रतिनिधि एवम् प्राविधिकले सो सडकको अनुगमन गरेका हुन् । वर्षायाममा सडक हिलाम्मे भएर आवत्जावत्मा समस्या भएको बिहीबार अवलोकन पछि सांसद्ले प्रतिक्रिया दिएका छन् । घिमिरेले लेटाङ नगरपालिकाले तत्कालका लागि गिट्टी हाल्ने काम थालेको सुनाए । सो सडकको अवलोकन गर्न पुगेका पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले पनि आफ्नो नगरपालिकाका तर्फबाट मर्मत सम्भार गर्ने बताए । तर यसको दीगो व्यवस्थापनका लागि प्रदेश सरकारबाट छुट्टिएको बजेटलाई कार्यान्वयनमा ल्याइहाल्न माग गरे । पहिले भएको ग्राभेलिङ भासिँदै गएको अवस्थामा ग्रेडर लगाएर पुनः ग्राभेलिङ गर्दै कालोपत्रे गर्नुपर्ने आवश्यकता रहेको लेटाङ–९ का वडाध्यक्ष कृष्ण लुइँटेलले औँल्याए । स्थानीयवासीले निकै दुःख गरेर खनेर बनाएको सडकमा यो वर्ष प्रदेश सरकारबाट ३ करोड रुपैयाँ छुट्टिएपछि सो भेगका मानिस केही उत्साहित देखिएका छन् । भासिएको र भत्किएको ठाउँमा लेटाङ र पथरीशनिश्चरे नगरपालिका कार्यालयले मर्मतको काम अघि बढाएको छ ।