ताप्लेजुङ । शनिबार रेड पाण्डा डे अर्थात नवौँ अन्तराष्टिूय रातो हाब्रे दिवस विभिन्न कार्यक्रम गरि मनाईदै छ । यसको संरक्षणका क्षेत्रमा क्रियाशील संघ-संस्थाले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेका छन् । रातो हाब्रे संरक्षणकै लागि नेटवर्कले विभिन्न गैरसरकारी संघ-संस्थासँग मिलेर विगत केहि समय देखि काम गर्दै आएको छ । पुर्वको ताप्लेजुङ, पाँचथर र ईलाममा रेडपाण्डा नेटवर्कको सहयोगमा संरक्षणका गतिविधि गर्दै आएका हिमाली संरक्षण मञ्च ताप्लेजुङ, दीपज्योति युवा क्लब पाँचथर र इलामको उच्च हिमाली जडीबुटी उत्पादन तथा संरक्षण संस्थाले विद्यालय स्तरमा सप्ताह व्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको हिमाली संरक्षण मञ्च ताप्लेजुङका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए। नेटर्वकको सहयोगमा समुदाय स्तरमा पुगेर विभिन्न क्रियाकलाप सञ्चालन गरिँदै आएको छ तर रातो हाब्रे संरक्षणमा भने दिनानुदिन विभिन्न कठिनाइ थपिँदै गएको छ । रातो हाब्रेको बास स्थान विनाश, चोरी शिकारका घटना, संरक्षणमा कम लगानी लगायत कारण संरक्षणमा कठिनाइ थपिँदै गएको हो । दुर्गम क्षेत्रमा यातायात, मानव बस्ती र चरिचरण क्षेत्रको विस्तार, वन डढेलो, रासायनिक वस्तुको अधिकतम प्रयोग, चोरी शिकार जस्ता कार्य हाब्रे संरक्षणका मुख्य चुनौती रहेको सरोकारवालाहरुले बताएका छन् ।
यस्तै संरक्षणका लागि सरकारको लगानी न्यून रहनुले पनि समस्या भएको छ । हाब्रे पाइने पूर्वी क्षेत्रमा गैर सरकारी संघ-संस्थाका भरमा मात्र यसको संरक्षणका लागि काम भइरहेको छ । नेटवर्कको सहयोगमा संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दै आएको हिमालीका संरक्षण मञ्च ताप्लेजुङका रमेश राईले वन जंगलको विनाश, मानव बस्तीको विस्तार, चोरी शिकार जस्ता कार्य बढ्दै गएकाले संरक्षणमा कठिनाइ उत्पन्न भएको बताए । उनका अनुसार रातो हाब्रे पाइने पूर्वका ताप्लेजुङ, पाँचथर र इलामका क्षेत्रमा पछिल्लो समय वन जंगलको फँडानी, बढ्दो बस्ती विस्तार, चोरी शिकार जस्ता कार्य भइरहेका छन् ।
विश्वमा नै दुर्लभ वन्यजन्तुको सुचिमा सुचिकृत रातो हाब्रेको बासस्थान र आहारा संकटमा पर्दै गएपछि रेड पाण्डा नेटवर्कले सन् २०१० देखि सेप्टेम्वर १५ लाई रेडपाण्डा दिवशको रुपमा मनाउन शुरु गरेको हो । सन् २०१३ को एक अध्ययन अनुसार ताप्लेजुङमा ७७ देखि १३४, पाँचथरमा २५ देखि ४३ र इलाममा २३ देखि ४० वटासम्म रातो हाब्रे रहेको अनुमान गरिएको संयोजक राईले बताए । यो अध्ययन नेटवर्क र स्थानीय साझेदार संस्था संरक्षण मञ्च ताप्लेजुङ, दीप ज्योति युवा क्लब र उच्च हिमाली जडीबुटी उत्पादन तथा संरक्षण संस्थाले गरेको थियो । नेटवर्कका अनुसार मुलुकका २३ हिमाली तथा पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, डोल्पा, जुम्ला, मुगु, कालीकोट र जाजरकोटमा रातो हाब्रे पाइन्छ । भारत, भुटान, म्यान्मार चीनमा समेत गरी एक हजारको हाराहारीमा रातो हाब्रे छ । नेपाल मामात्रै ५०० भन्दा बढी रातो हाब्रे भएको एक तथ्यांकमा जनाइएको छ । समुद्री सतहबाट दुई हजार २०० देखि चार हजार ८०० मिटरको उचाइमा अवस्थित मिश्रित जंगलमा पाइने रातो हाब्रे घर पालुवा, गोठमा राखिने र शिकारी कुकुरको समेत शिकार हुने गरेको छ । यस्तै रातो हाब्रेलाई नै लक्ष्य नगरी अन्य जनावरलाई थापिएको पासोमा समेत रातो हाब्रे पर्ने गरेको छ । रातो हाब्रेको मुख्य आहारा मालिङ्गो र निगालो मासिँदै जानु, अव्यवस्थित चरिचरन, चोरी शिकार र संरक्षणका लागि जनचेतनाको कमी नै अहिलेको मुख्यचुनौती रहेको संरक्षणकर्मी बताउँछन् ।