ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोलागाउँपालिका वडा नं ५ तोक्पेगोलामा बसोवास गर्ने स्थानियलाई अझैपनि स्थानिय सरकारको महशुस भएको छैन । स्थानिय सरकार गठन भएपछि घर नजिकैबाट शेवा पाईन्छ भन्ने सोचेका उनिहरुलाई कागलाई वेल पाक्यो हर्श न विश्मत जस्तो भएको छ । एक वर्ष अघिदेखि नागरिकलाई घरदैलोमै सेवा दिन भनेर गठित स्थानीय सरकार उनिहरुका लागि एक दिनको पैदल दुरीमा छ । तोक्पेगोला वासीलाई त्यहि वडा कार्यालय पुग्नपनि एक दिन बेश्सरी हिँड्नु पर्छ ।
गोलाबाट मुस्किलले एक दिनमा पुगिने पापुङमा वडा कार्यालय, प्राथमिक विद्यालय, स्वास्थ्यर प्रहरी चौकी छन् । ‘हामी कहाँ कुनै पनि सरकारको उपस्थिति छैन,’ स्थानीय अगुवा सागर शेर्पाले भने, ‘वर्षौदेखि अन्धकारमा बसिरहेका छौं ।’ तोक्पेगोला तीब्बतसँग सिमाजोडिएको ४ हजार १ सय मिटर उचाईमा रहेको बस्ती हो ।
सिमान्तकृत समूहमा सूचिकृत तोक्पेगोला जातिको यस क्षेत्रमा बसोबास रहेको छ । गाउँ र जातिको नाम एउटै रहेका उनिहरुको मुख्य पेशा पशुपालन हो । यहाँका २३ परिवार सबैले आफ्ना छोराछोरी पढाउन बाहिर पठाएका छन् । ‘सक्नेले काठमाडौ, दार्जेलिङ लगायतका शहरमा लगेर पढाउँछन्,’ शेर्पा भन्छन्,‘अर्थिक अवस्था कमजोर हुने केहिले पापुङमा राखेका छन् भने केहिका नानीहरु विद्यालयनै जान सक्दैनन् ।’बाबुआमा देखि छुटाएरै विद्यालय पठाउनु पर्ने भएकाले बालबालिकाले ढिलो गरि मात्रै पढ्न सुरु गर्ने शेर्पाको भनाई छ । वडा कार्यालयबाट लिनु पर्ने कुनै पनि सेवाकालागि कम्तिमापनि तीनदिनको समय छुट्याउनुपर्छ । ‘नागरिकता लगायतका सिफारिस, पञ्जिकरण, कर, तिरो जस्ता काम गर्नलाई एक हप्ता अघि देखि योजना बनाउनु पर्ने अवस्था छ, खाजा, कपडा पनि बोकेरै लानुपर्छ,’ स्थानीय मिलन दोर्जि शेर्पा भन्छन्, ‘त्यति गरेर कार्यालय पुग्दा वडाध्यक्ष र सचिव भेटिएनन् भने त कति दिन लाग्छ भन्नै सकिदैन ।’
तोक्पेगोलाको नाममा रहेको प्रहरी चौकीपनि पापुङमै राखिएको छ । सबैभन्दा ठूलो समस्या स्वास्थ्यको रहेको मिलन दोर्जि बताउँछन् । तोक्पेगोला बासीलाई सबैभन्दा ठूलो समस्या नै स्वास्थ्यको छ,’उनले भने,‘कोहि सामान्य बिरामी भए बोकेर लैजान्छौं, गम्भिर बिरामी परे सक्नेले हेलिकप्टर चार्टर गर्छन्, नसक्नेको कुनै उपाय छैन ।’ मेवा खोलैखोला जाने बाटो धेरै अप्ठ्यारो भएकाले स्ट्रेचरमा बोक्न नमिल्ने हुँदा डोकोमै बोक्नुपर्ने र कहिले त बोकेर लैजाने मान्छे समेत गाउँमा नहुँने मिलन दोर्जिले बताए । याक र चौैरिहरु बिरामी परे भने माया मार्नुको विकल्प नभएको स्थानीय बताउँछन् । पशु कार्यालय र वनका कर्मचारी हालसम्म नदेखेको उनिहरुको भनाई छ । तोक्पेगोला सोदुपोखरी सहित सयौं पोखरी, ताल, झरना र असंख्य जडिबुटी रहेको क्षेत्र हो । अत्यन्तै चित्ताकर्षक र मनमोहक लेकाली तथा उच्च हिमाली फाँट र खर्कहरु यहाँ छन् । नेपाली नागरिक भए पनि गोलाबासीले अधिकांश सामग्री तीब्बतको प्रयोग गर्छन् । तीब्बतीयनहरुसँग राम्रो व्यापारिक सम्बन्ध रहेको छ । ‘चामलबाहेक सबै सामान माथि(तीब्बत) बाटै ल्याउछौं,’ मिलन दोर्जिले भने,‘यताबाट याकका बाछा र जडिबुटी लिएर जान्छौं, खाद्यान्न र लत्तापकडा लिएर फर्कन्छौं ।’अम्बोला नाकाहुँदै दुई दिनमा तीब्बतको रिउ बजार पुगिने उनले बताए । २ वर्षको याकका बाछा रिउमा ८० हजार देखि १ लाख सम्ममा बिक्रि हुने उनले बताए ।
पुस र माघमा बढि चिसो हुने हुँदा गाउँमा कोहि पनि बस्दैनन् । याकगोठ सहित जाडो छल्न औल झर्छन् । बिजुली भए बाह्रै महिना बस्न सकिने तेञ्जिङ शेर्पाको बताउँछन् । भन्छन् ‘गाउँमा बिजुली भयो भने हिटरको प्रयोग गरेर पनि वर्ष भरि गाउँमै बस्न सकिन्छ, पानी प्रशस्त छ, स्वास्थ्य र विद्यालय पनि अति आवश्यक छ, अब सरकारले यसमा ध्यान देओस् ।’तोक्पेगोला क्षेत्रको विकासकालागि आफू गम्भिर रहेको वडाध्यक्ष डण्डु लामाको भनाई छ । पहिलो चरणमा अस्थायी भएपनि स्वास्थ्यचौकि र विद्यालय स्थापना गर्ने साथै बिद्युत् उत्पादन गर्ने विषयमा छलफल भएरहेको उनले बताए । सिङ्गो ५ नंम्बर वडामै सडक पुगेको छैन । यस वर्ष वडा नं ४ को फुङफङ्गे झरनासम्म सडक पुग्ने र अर्को वर्षदेखि आफूहरु पनि सडक निर्माणमा लाग्ने लामाको भनाई । ‘यसका आगामी आर्थिक वर्षमा गाउँपालिकामा योजना लैजाने सोच बनाएको छु,’ लामाले भने, ‘यो वर्ष सोदु पोखरीकालागि २० लाख, पुलनिर्माणमा ४ लाख र बाटो मर्मतमा १ लाख विनियोजन भएको छ ।’ मिक्वाखोला गाउँपालिकाको ९० प्रतिशत भूभाग यही क्षेत्रमा पर्ने भएकोले गाउँपालिकाले पनि यहाँको विकासकालागि प्राथमिकतामा राखेको गाउँपालिकाकाप्रवक्तादिपेन्द्र लिवाङले बताए । ‘गाउँपालिकाले यस तोक्पेगोलालाई स्वायत्त र जडिबुटिको क्षेत्र घोषणा गरेको छ, अब गुरु योजना बनाएरै पर्यटकिय गन्तव्यको रुपमा विकास गर्छौं,’ केहि दिनअघि ढुक्पाछेसी पर्वमा तोक्पेगोला पुगेका लिवाङले भने । यसकालागि गाउँपालिकाको मात्रै बजेट पर्याप्त नहुने भएकोले प्रदेश र केन्द्र सरकारसँग अनुरोध गर्ने उनले बताए ।