तेह्रथुम/तेह्रथुमको फेदाप गाउँपालिका–२ ओयाक्जुङको जोगी बस्तीमा अहिले महिला र बालबालिकाहरू मात्र भेटिन्छन् । यहाँका जोगी युवाहरू चाडपर्वको खर्च जुटाउन अन्य जिल्लाहुँदै भारतसम्म पुग्ने गरेका छन् । युवाहरू खर्च जुटाउनका लागि ‘फेरी’ लगाउन अन्यत्र गएपछि गाउँमा साना बालबालिका, वृद्धवृद्धा र महिलामात्रै छन् । जोगीहरूले परम्परादेखि अँगाल्दै आएको ‘फेरी’ लगाउने पेशा यो समुदायमा अझै पनि कायमै छ । गाउँमा युवाहरू नहुँदा विवाह, ब्रतबन्ध, मरीमराउ साथै भौतिक निर्माण तथा अन्य सामाजिक कार्यमा समस्या हुने गरेको स्थानीय बालकुमारी जोगीले बताइन् । यहाँका युवाहरू वर्षमा ६ महिना ‘फेरी’ लगाउन गाउँबाहिर नै हुन्छन् । गाउँमा मेला, पर्म, घाँस, दाउरासँगै गाउँको विकास निर्माणको कार्यमा महिलाहरू नै खट्ने गरेका छन् ।
आर्थिक रूपमा विपन्न यहाँका महिलाहरू श्रीमान्ले खर्च जुटाएर ल्याएपछिमात्रै चाडपर्व मनाउने गर्छन् । जोगी समुदायले ‘फेरी’ लगाएबापत पाएको अन्न, चामलले गर्जो टार्दै आएका छन् । भदौमा फेरी लगाउन अन्यत्र गएका आफ्ना बुबा असोजको अन्तिम सातातिर फर्केपछि दशैँ–तिहार सँगै मनाउने सोच रहेको स्थानीय निसा जोगीले बताइन् । नजिकिँदो दशैँ तिहारमा खर्च जुटाउन यहाँका सबै जोगी भारतको सिक्किम, गान्तोक र दार्जिलिङतर्पm गएका छन् । जसले गर्दा गाउँ पुरुषविहीन छ । जोगी समुदायमा पढेलेखेका युवाहरूको सङ्ख्या न्यून छ । केही पढेलेखेकाले पनि गाउँ छाडेका छन् । परम्परा धान्ने निहुँमा पछिल्लो पुस्ताका युवाहरूसमेत पाका पुस्ताको पछि लागेर फेरी लाउन भारततिरै लागेपछि गाउँ युवाविहीन बनेको स्थानीय बालकुमारी जोगीले बताइन् । उनका श्रीमान् खड्गबहादुर पनि ८ जनाको परिवार श्रीमतीको जिम्मा लगाएर एक महिनाअघि इलामहुँदै भारततिरै लागेका छन् । जोगी युवाहरू विशेषगरी साउनदेखि कार्तिक र माघदेखि चैतसम्म ‘फेरी’ लगाउन अन्यत्र जाने गरेका छन् । जिल्लाको लालीगुराँस नगरपालिकाको सुङ्नाम र फेदाप गाउँपालिकाको ओयाक्जुङमा जोगी समुदायको बसोबास छ । वर्षभरि फलाएको अन्नले ३ महिना पनि खान नपुग्ने यहाँका धेरै जोगी परिवार छन् । तर यहाँका धेरै जोगीका छोराछोरीले बीचैमा पढाइ छाड्ने गरेको स्थानीय सिद्धकाली माविका प्रधानाध्यापक कमल दुलालले बताए । खेतबारीमा उत्पादन भएको अन्न र घरमा पालेका पशुुको आम्दानीले परिवार चलाउन नपुग्ने भएकाले गाउँका सबैजसो जोगी परिवारले दुःखले जीवन निर्वाह गरिरहेको स्थानीय युवा सूर्यबहादुर जोगीले बताए ।
आर्थिक, शैक्षिक तथा सामाजिक रूपमा पछि पर्दै आएका यो समुदायको समृद्धिका निम्ति स्थानीय सरकारको ध्यान जान जरुरी रहेको यहाँका स्थानीय बताउँछन् ।