इटहरी ।आइतबार इटहरीको हटिया लाइनमा सडकमै बजार लागेको थियो । सडकका दुवैतिर व्यापारीले सामान राखेर बिक्री गर्दै थिए । ग्राहकको भीड उत्तिकै थियो । आइतबार र बुधबार हाट बजार लाग्ने इटहरीको सबै भन्दा ठूलो बजार यात्रुका लागि भने टाउको दुखाइ बन्ने गरेको छ । सडक कब्जा गरी बजार लागेपछि त्यहाँ कुनै सवारी चल्न सक्दैनन् । यहाँ साताको दुई दिन बुधबार र आइतबार बजार लाग्छ । बजारको दिन महँगो भाडा तिरेर पसल गर्नेहरू पनि मार्कामा पर्ने गरेको श्री कृष्ण भण्डार ज्वेलर्सका सञ्चालक विक्रम घिमिरे बताउँछन् । उनी भन्छन्, ‘बुधबार र आइतबार दोकान अगाडिको सडकमा व्यापारीहरू आएर बस्छन् ।’ तरहरामा लाग्ने सोमबार र बिहीबार लाग्ने बजारको हालत पनि उस्तै छ । व्यापारीहरू सडक कब्जा गरी पसल थाप्छन् । मानिसको भीड र पसलले सडक ढाकिएको हुन्छ । तरकारी, खाद्यान्नलगायत सामग्री बाटोमै राखिन्छन् । हाटबजारमा मानिसको भीड लाग्छ । ‘बाटोभरि पसल थापिएका हुन्छन् ।’ तरहरा बजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर गिरीले भने । बजारको विकल्प नहुँदा यात्रुलाई ‘नो इन्ट्री’ बोर्ड नै राखेर बजार लगाउनु परेको उनको भनाइ छ । ‘विकल्पका रूपमा सरकारी जग्गा भाडामा लिएर बजार लगाउने मेलोमेसो गर्दै छौँ ।’ अध्यक्ष गिरीले भने । बजार लगाउने ठाउँ अभावकै कारण सोमबार र आइतबार सर्वसाधरणले कष्ट बेर्होनु पर्ने इटहरी–२० का वडाअध्यक्ष मणिराम श्रेष्ठ बताउँछन् । बजारको दिन वडा कार्यालयलाई समेत बाधा पुग्ने गरेको श्रेष्ठको भनाइ छ । पुरानो बजार लाग्ने ठाउँ भए पनि अहिले जनसङ्ख्याको चाप बढ्दै गएपछि बजारको चरम अभाव भएको अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘हामी चाँडै नयाँ बजार लगाउने तयारीमा छौँ, सडकमै बजार लगाउँदा धेरै समस्या आएको छ ।’ श्रेष्ठ भन्छन् । त्यस्तै शनिबार जनताबस्ती छिर्ने मुख्य बाटोमै हटिया लाग्छ । व्यापारी सडकको दुवैपट्टि व्यापार गर्न बस्ने गर्छन् । सातै दिनका हरेक बार उपमहानगरको कुनै न कुनै स्थानमा हटियार लाग्ने गरेको छ । हटियामा खासगरी तरकारी, अन्न, हाँस–कुखुरा, माछाजस्ता वस्तु किनबेच हुने गरेको छ । मूल सडकदेखि सहायक सडकमा लाग्ने साप्ताहिक हटियाले इटहरीको सुन्दर बस्तीलाई पनि असर गरेको सामाजिक अगुवा बताउँछन् । नेकपाका युवा नेता तथा खनारका स्थानीय अर्जुन नेपालले बजारको दिन एम्बुलेन्स दमकल अन्य सवारी साधन छिर्न समस्या हुने बताए । ‘सडकै जाम गरेर बजार लागिरहेको छ, दिनभरी आउने ग्राहकलाई शौचालयसम्म छैन ।’ नेपालले भने । उपमहानगरले व्यवस्थित रूपमा बजार लगाउनु पर्ने उनको भनाइ छ । खनारमा पनि लामो समयदेखि हाइवे नजिकै सडकमा शनिबार बजार लाग्ने गर्छ । यता इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले हटियालाई व्यवस्थापन गर्नुको विकल्प नरेको बताए । ‘हामीसँग हाटबजार लगाउने ठाउँको समस्या छ, उपमहानगरसँग जग्गा अभाव र हटियामा निम्न वर्गका सर्वसाधारणले साना व्यवसाय गरेर आय–आर्जन गर्ने गरेकाले व्यवस्थापनमा चुनौती देखिएको छ,’ मेयर चौधरीले भने, ‘तसर्थ चाँडै सडकमा लाग्दै आएका हटियाहरूको व्यवस्थापनका लागि ठोस नीति बनाएर अगासड बढ्नु पर्ने देखिन्छ ।’