मधुमल्ला/नेपालीहरूको ठूला चाडपर्वहरू नजिकिँदै जाँदा र उपभोक्ता हित संरक्षणका लागि समय–समयमा बजार अनुगमन गर्नुपर्ने भए पनि मिक्लाजुङका विभिन्न बजारहरूमा अनुगमन हुन सकेको छैन । स्थानीय सरकारले बजार अनुगमनका विषयमा चासो नदिँदा वर्षौं बित्दा समेत मिक्लाजुङ वडा नम्बर १ को आइतबारे बजार, वडा नम्बर २ र ३ को धोबेनी बजार, वडा नम्बर ४ को सङ्गम चौक बजार, ७ र ९ मा पर्ने पूर्वकै पुरानो मानिने मधुमल्ला बजारमा अनुगमन हुन नसकेको हो ।

वस्तु वा सेवाप्रदायक व्यवसायको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, नापतौल, विज्ञापनलगायत व्यापारिक क्रियाकलापको नियमित एवम् आकस्मिक अनुगमन गर्न गाउँपालिकाले बजार अनुगमन टोली गठन गर्ने व्यवस्था निर्देशिकामा छ । तर स्थानीय बजारमा भने मिक्लाजुङ संयुक्त व्यापार प्रबन्ध समिति वा स्थानीय तह कसले बजार अनुगमन गर्ने भन्ने अन्यौल रहेकोे उपभोक्ताले बताएका छन् ।

विभिन्न ठाउँमा अखाद्य वस्तुको बिक्रीका साथै उपभोक्ता ठगिने गरेको र सडक मिचेर पसल सञ्चालन गर्दा आवत–जावतमा समस्या हुनुका साथै दुर्घटनासमेत बढिरहेपछि स्थानीय उपभोक्ताले चासो राखेका हुन् । कुनै वस्तु वा सेवाको बिक्रेताले उपभोक्ताको हितविपरीत व्यापारिक क्रियाकलाप गरेको पाइएमा उपभोक्ता हित संरक्षण समिति तथा बजार अनुगमन टोलीमा सूचना वा उजुरी दिन सक्ने व्यवस्थासमेत रहेको छ ।

बजार अनुगमनको विषयमा चाँडै नै बैठक बस्न लागिएकाले उपभोक्ता चिन्तित नहुन मिक्लाजुङ गाउपालिका उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समिति तथा बजार अनुगमन समितिका संयोजक सरला राईले बताइन् ।  अहिले व्यवसायीको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको र तथ्याङ्क सङ्कलन गर्ने काम सकिएलगत्तै बजार अनुगमनमा लाग्ने उपप्रमुख राईले बताइन् । यता मिक्लाजुङ संयुक्त व्यापार प्रबन्ध समितिले भने बजार अनुगमन बारे आफूहरूसँग कुनै अधिकार नभएको र सम्पूर्ण जिम्मा स्थानीय सरकारसँग भएकोले स्थानीय सरकारले सहकार्य गरेमा सहयोग गर्ने बताए ।

बजार अनुगमनको मिति तोकेर गर्दा व्यवसायी सतर्क हुने भएकाले पनि यसलाई आकस्मिक रूपमा नै गरिने उपभोक्ता हित संरक्षण समिति तथा बजार अनुगमन समितिका सचिव तथा मिक्लाजुङ स्वास्थ्य प्रमुख चिन्तामणि पोख्रेलले बताए ।