धनकुटा/ धनकुटा नगरपालिकाको विशेष गरेर दुर्गम गाउँको नामले चिनिने साविकको वडा नं.८ र ९ हाल वडा नं.८ मा पर्ने आठपहरिया गाउँवस्तीमा सरिफा परम्परागत खेतीबाटै ओइरो फल्ने गरेको छ ।

सरिफाको विरुवा रोपि रहनु पर्दैन बारीको पाटा देखी लिएर जंगलमंगल जताततै लटरम्म फल्ने गरेको छ । स्थानिय आठपहरिया कृषकहरुले सरिफाको दल राखेर कहिले पनि विरुवा उमारेका छैन्न । गाउँघरमा जताततै आफै उम्रिन्छ र आफै फुल्छ, आफै फल्छ ।

सरिफाको वोटलाई न मल चाहिन्छ, न पानी नै चाहिन्छ र नत गोड्नै पर्छ, ५८ वािर्षया पुर्णश्वरी आठपहरियाले बताईन् ।  धनकुटा–८ तित्रिदाङ्ग घर भएका आठपहरियलो बढी सुक्खा क्षेत्र भएकाले ३ देखी ४ वर्ष फलेपछि सरिफाको वोट आफै मर्ने गर्दछ । पुरानो वोट मर्दै जान्छ, नयाँ वोटले फल दिराखेको उनको अनुभव छ ।

अहिले पुर्णश्वरी आठपहरियाको घरबारीमा सरिफाको ६० देखी ८० वटा वोट रहेको छ । यो वर्ष पनि अघिल्लो वर्ष झै मज्जाले सरिफा फलेको पुर्णश्वरीले बताईन् । उनले हरेक वर्ष १०/१५ हजारको सरिफा विक्रि गर्ने गरेको बताए । उनले नानीहरुको पठनपाठनको लागी कपी, कलम, पेन्सिल, नुन्तेल खान सरिफा बिक्रि गरेको पैसाले सहयोग पुग्ने गरेको बताएका छन् ।

पहिले पहिले डोकोमा बोकेर धनकुटा बजारसम्म ३ घण्टा हिडेर जानु पर्दथ्यो, हिजो–आज गाउँमै गाडी आउँने भएकाले बिक्रि गर्न लान पनि सजिलो भएको उनले बताए । अघिल्लो वर्षको तुलनामा यो वर्ष सरिफाको मुल्य नपाएको बताए । उनले यो वर्ष ६० देखी ८० रुपैयाँसम्ममा सरिफा बिक्रि गरेको बताए । उनी जस्तै अर्का धनकुटा नगरपालिका ८ की डोरसरी आठपहरिया भने तेत्रेदाङ्ग तथा याक्तेका जंगलमा फल्ने सरिफाको माग बजारमा उल्लेख्य रहेकाले गाउँका कृषकहरुले व्यावसायीक उत्पादनमा जोड दिनु पर्ने बताईन् । पछिल्लो समय कतिपय कृषकले बारीमा रोपेरै पनि व्यवसायीक रुप दिन थालेको स्थानीय गोर्खाबहादुर आठपहरियाले जानकारी दिए ।  उनको १२ रोपनी जग्गामा आफैं उम्रिएको १ सय ५० सरिफाबाट यस वर्ष ३५ हजार रुपैयाँ आम्दानी गरेको बताएका छन् ।

स्थानीय देवकुमारी राईले पनि सरिफा बिक्रि गर्दै आएकी छिन् । उनले ५० बोट सरिफाबाट २० हजार बढि आम्दानी गरेको बताइन् । केहि वर्षदेखि सरिफाको माग अत्यधिक बढेको उनको भनाई छ । मल, विषादी प्रयोग गर्नु नपर्ने सरिफाको बजारमा माग बढेपछि स्थानीयबासी हौसिएका छन् । जंगल आसपासको वस्ती भएकोले स्थानीयबासीको बारीमा पनि सरिफा उम्रने गर्छ । केहिले भने जंगलबाट विरुवा ल्याएर बारीमा रोप्न थालेका छन् । वोटमा नपाक्ने र काँचै टिपेर ओइलाएपछि पाक्ने उक्त फल गाई बाख्रा र जंगली जनावरबाट पनि सुरक्षित रहने स्थानीय सामाजिक परिचालक नारयण आठपहरिया (सानु) ले ब्लाष्टलाई बताएका छन् ।

धनकुटाको मुख्य बजार हुलाकटोल, बसपार्कमा र विहिबारे हटियामा सरिफाको मुल्य प्रति केजी ६० देखि ८० रुपैयाँसम्म पर्छ । धनकुटा नगरपालिका वडा नं.८ का वडाध्यक्ष सुमन आठपहरियाले सरिफाको व्यावसायीक र वैज्ञानिक खेती तर्फ लान सके स्थानिय किसानहरुको आर्थिक उपार्जनमा टेवा पुग्ने बताए ।

कृषि विकास कार्यालयबाट सरिफाको खेतीका बारेमा आवश्यक प्राविधिक ज्ञान किसानहरुलाई दिन सके अझै राम्रो उत्पादन हुन सक्ने वडाध्यक्ष आठपहरियाको भनाई छ ।

साथै उचित बजारको पहिचान गरेर धनकुटा भन्दा बाहिर लान सके राम्रो आम्दामीको श्रोत हुने उनको भनाई छ ।  उनले मेयर कृषि पर्यटन कार्यक्रमबाट जसरी भए पनि सरिफा खेतीलाई आगामी वर्ष देखी समेट्ने बताएका छन् ।