पानवारी । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र रहेको एनआइसियुमा नवजात शिशुको मृत्यु हुँदा समेत नर्सले थाहा नपाएको घटना बाहिर आएको छ । घटना बुधबार राती १२ बजेको हो । बच्चालाई दुध खुवाउन जाँदा बच्चाको मृत्यु भइसकेपछि मात्रै आमाले थाहा पाएर चिच्चाउदा मात्रै नर्स झसंग भएकी थिइन् । एनआइसियुमा बच्चाको उच्च हेरचाह हुने ठाउ हो तर एनआइसियु वार्डमा रहेकी एकमात्र नर्स समेत मोबाइलमा मस्त हुँदा बच्चाको मृत्यु भएको थाहा नै पाइनन् । यस अघि पनि चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आवज उठ्ने गरेपनि त्यसको छानविन नभई विभिन्न स्वार्थमा केस मिल्ने गरेको जानकारहरु बताउँछन् । राजविराज घर भएका पंकज चौधरीले आफ्नो श्रीमती रिया देवलाई ढाडदुख्ने समस्या भएपछि विपिमा भर्ना गरेका थिए । ७ महिनाकी गर्भवती श्रीमतीलाई गत भदौ २२ गते विपिको स्त्री रोग विभागमा भर्ना गरेर राखेका थिए । त्यसको ६ दिन पश्चात अर्थात् २८ गते अप्रेशन गरी उनका जुम्ल्याहा छोरी जन्मिएका हुन् । २८ हप्ता मा नै जन्मिएका दुवै शिशुलाई अस्पतालको एनआइसियुमा केयरिङको लागी राखिएको थियो । पहिलो छोरी ११ सय ग्राम र दोस्रो छोरी एक हजार ग्राम तौल भएको जन्मिएका थिए ।
बच्चाकाे निधन भएपछि बच्चाकाे अामा र हजुरअामा ।
सामान्यतया गर्भ बसेको ३८ हप्ता पछि मात्रै शिशु जन्मनुपर्छ भने जन्मदा बच्चाको तौल कम्तिमा २.५ किलो ग्राम हुनुपर्छ । यदि बच्चा समय अगावै जन्मे वा कम तौल भएको बच्चा जन्मिएमा त्यस्ता बच्चालाई बचाउन गाह्रो पर्छ । पंकज चौधरीका जुम्ल्याहा छोरी प्रिमेच्युरेटी (समय अगावै जन्मिएका) बच्चा हुन् । उनीहरुको तौल समेत एकदमै कम थियो । बच्चाका हजुरवुवा रामकृष्ण देवले भने मेरा नातिनिहरु ७ महिनामै जन्मिएका हुन् तर पहिलो नातिनिको मृत्यु नर्सहरुको लापरवाहीले भएको हो । उनका अनुसार छोरीले नानीहरुलाई २÷२ घण्टाको फरकमा दुध खुवाउने गर्दथी । मेरो नातिनीको मृत्यु एनआइसियु भित्र भएको छ । त्यहाका नर्सहरुले यति लापरवाही गरेका छन् कि मेरो नातिनीको मृत्यु भएको पनि थाहा पाएनन् । जब मेरी छोरी नानीलाई दुध खुवाउन भित्र गइन तब मात्र थाहा भयो कि बच्चा त मरिसकेको छ । बच्चाका बाबु पंकज चौधरीले छानविन गरी पाउँ भनी अस्पताल प्रशासनमा निवेदन दिएका छन् । उनले एनआइसियु भित्र कोही चिकित्सक नभएको र एक जना मात्रै नर्स भएको त्यो पनि मोबाइलमा व्यस्त भएको र एनआइसियुमा भएको बच्चाको मृत्इु भइसक्दा समेत नर्सले थाहा नपाएको भन्दै प्रतिष्ठानले बच्चाको उपचारमा चरम लापरवाही गरेको बताएका छन् । यता असिस्टेन्ट हस्पिटल डाइरेक्टर डा. विकास साहले भने प्रिमेच्युर बच्चा भएकोले बच्चाको स्वास्थ्य अवस्था एकदमै क्रिटिकल भएकोल र एनआइसियुमा राखेर हाइ केयर गर्दा गर्दै मृत्यु भएको बताए । उनका अनुसार बच्चालाई २÷२ घण्टामा चेक गर्ने गरेको र १५ मिनेट अगाडी मात्रै नर्सले बच्चाको स्वास्थ्य स्थिति हेरेको भन्दै अचानक बच्चाको मृत्यु भएको बताए ।
बच्चाकै स्वास्थ्यको लागी माइतै बसेकी थिइन रिया देव दुहबी–३ शान्ति टोल माइत भएकी रिया देवको घर राजबिराज बजारमा छ । उनी गर्भवती भएपछि राजविराज नजिकै भरपर्दाे अस्पताल नभएको भन्दै उनका बाबु रामकृष्ण देवले छोरीलाई आफ्नै घरमा राखेका थिए । रामकृष्ण देवका दाजु पनि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० वर्ष जागिरे थिए । दाजुकै सल्लाहमा छोरीलाई गर्भवती भएको समयमा विपिमा नै चेकजाँच गराए । देवकृष्ण भारतको हरियाणमा पर्ल ग्लोबल कम्पनीमा काम गर्दथे । सोही जागिरबाट उनले छोरीलाई बिबिए र छोरालाई इन्जिनियरिङ पढाइरहेका छन् । तर छोरीको केयरिङकै लागी उनी २ महिनादेखि छुट्टि लिएर बसेका थिए । छोरीको ढाड दुख्ने समस्या भएपछि उनले २२ गते विपिमा छोरीलाई उपचारको लागी भर्ना गरेका थिए र विपि भित्रको धर्मशालामा कोठा लिएर बसि रहेका छन् । तर प्रतिष्ठानको लापरवाहीले बच्चाको मृत्यु भएपछि उनी शोकमा डुबेका छन् । उनले भने –‘मेरो पहिलो नातिनी त जे भइहाल्यो अब अरुको यस्तो नहोस् र मेरो दोस्रो नातिनीको स्वास्थ्य अवस्था ठिक होस् ।