बिर्तामोड । झापामा युरिया मलको अभाव हुँदा कृषक चिन्तित भएका छन् । विशेषगरी धानखेती गर्ने कृषकलाई यतिबेला युरिया मल अभावमा उत्पादन नहुने कुराले चिन्तित बनाएको हो । ‘मल अभावमा धान नफल्ने भएको छ, झापाको अर्जुनधारा ९ का किसान गणेश बुढाथोकीले भने–‘पोटाउन थालेको धान पसाउन सकेको छैन, रातो भएर बिग्रिन थालेको छ ।’ उनले अब १० दिन भित्रमा युरिया हाल्न नपाए धान नफल्ने बताए । बिगतका बर्षहरुमा यस्तो हुँदैनथ्यो, उनले भने–‘गतबर्षदेखि त झन् आगनमै कृषि कार्यालय आएको छ, अहिले झन् अभाव भयो ।’ बुढाथोकी मात्र होइन झापामा धानखेति गर्ने अधिकांस किसानको साझा समस्या यो हो । युरिया मल अभाव भएपछि उत्पादन नहुने कुराले किसान निरास भएका हुन् । ‘अगुवा धानमा भारतबाट चोरी तस्करी गरेर ल्याएको युरिया अलिकती किनेर हालेको थिए, अब पछुवा धानमा हाल्न त त्यो पनि छैन, अर्जुनधाराका अर्का किसान देवि खातीले भने–‘केही पसल सञ्चालकले लुकाएर थोरै परिमाणमा उपलब्ध गराउने भारतीय मल पनि छोइनसक्नु महङगो छ ।’ उनले बजारमा मलको अभाव भएपछि स्थानीय ब्यापारीले ४० रुपैंयाँ किलोको दरले युरिया मल बिक्रि गर्न थालेको बताए । कालिका कृषि सहकारी संस्था कालिस्थानले लगेको ३० बोरा युरिया वितरणका क्रममा झगडा भएपछि सो संस्थाले युरियाको बिक्रि बन्द गरेको भट्टराईले बताए । उनले ७ सयभन्दा धेरै सदस्य रहेको सहकारीमा ३० बोरा युरिया दिएका कारण बिवाद उत्पन्न भएको जानकारी दिए । युरिया अभावका कारण सहकारीले आफ्ना सदस्यलाई मात्र बिक्रि गर्न शुरु गरेको उनले बताए । नेपालमा पाइने युरिया मलको दाम १६ रुपैयाँ प्रतिकेजी रहेको छ । तर, कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ कर्पाेरेशनले पनि आवश्यक परिमाणमा उपलब्ध गराउन नसकेपछि युरिया मलको चरम अभाव भएको हो । युरियाको अभावका कारण नियमित बर्षा भएपछि बिगत बर्षको जस्तो धान उत्पादन नहुनेमा किसान चिन्तित भएका हुन् । अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा मल बिउ बिक्रि गर्दै आएका नन्दीकेशर भट्टराईले भारतीय युरिया मल २ हजार रुपैयाँ प्रतिबोरा बिक्रि गर्नु परेको बताए । उनले जसरी भएपनि किसानलाई मल उपलब्ध गराउनु परेकोले महङगो मुल्यमा किनेर बिक्रि गर्नुपरेको बताए । रोपेको बेलामा डिएपीको पनि यसरी नै हाहाकार भएको बताउँदै भट्टराईले चाहिने बेलामा मल उपलब्ध नभएपछि कालोबजारी बढेको बताए । सरकारी स्तरबाट झापामा कृषि सामग्री कम्पनि र साल्ट ट्रेडिङ लिमिटेडले मल उपलब्ध गराउँदै आएका छन् । यस सिजनमा झापामा कति मल आवश्यक पर्छ भन्ने यकिन तथ्याङक छैन । यद्यपी १ लाख बोरा मल भए पर्याप्त हुने कृषि सामग्री कम्पनि बिर्तामोडका प्रमुख कमल पोखरेलले बताए । उनले आवश्यकता भन्दा कम्ती आयात भएका कारण सबै किसानले मल नपाएको बताए । ‘आइतबारदेखि पर्याप्त हुन्छ होला, पोखरेलले भने–‘झापाको मल बिरगञ्जमा रोकिएको छ, त्यो आउने बित्तिकै सबैतिर पुग्छ ।’ हालसम्म १६ हजार बोरा मात्र युरिया मल आएको जानकारी दिदै पोखरेलले थप युरिया छिटो उपलब्ध गराउन सकेसम्म पहल गरिरहेको जानकारी दिए । विशेषगरी सबैभन्दा ठुलो परिणाममा युरिया आवश्यक पर्ने यस समयमा सरकारी बेवास्ताका कारण अभाव भएको हो । कतिपय सरकारी अधिकारी भने कृषकलाई यस सिजनमा युरिया मल आवश्यक पर्ने कुराबाट बेखबर बनेजस्तो गर्ने गरेका कारण पनि यो समस्या थपिएको हो ।