‘मुरी फलाउने’ बेलामै मलको चरम अभाव छ । गवारो फुट्ने बेलामै किशानले मल हाल्न पाएका छैनन् । त्यसले गर्दा फल नलाग्ने हो कि भन्ने चिन्तामा कृषक छन् । झापाबाट प्रेम आचार्य, सुनसरीबाट धनबहादुर पुरी र विराटनगरबाट अनिल श्रेष्ठ लेख्छन् ।

सरकारी सुस्तताका कारण कृषकहरूले यो समयसम्म पनि मल प्राप्त गरेका छैनन् । झापा, मोरङ, सुनसरी धानको पकेट क्षेत्र हो ।

यहाँको उत्पादनले प्रदेश १ लाई करिव–करिब धान्ने गरेको छ । झापामा युरिया मलको अभाव हुँदा कृषकमा निराशा छाएको छ । ‘मल अभावमा धान नफल्ने भएको छ, झापाको अर्जुनधारा ९ का किसान गणेश बुढाथोकीले भने-‘पोटाउन थालेको धान पसाउन सकेको छैन, रातो भएर बिग्रिन थालेको छ ।’ उनले अबको १० दिन भित्रमा युरिया हाल्न नपाए सोचेजस्तो उत्पादन नहुने दाबी गरे ।

बुढाथोकीको मात्र हैन, धानखेतीको पकेट क्षेत्रको रुपमा परिचित झापाका आम कृषकको समस्या हो यो । ‘अगुवा धानमा भारतबाट चोरी तस्करी गरेर ल्याएको युरिया अलिकती किनेर हालेको थिएँ, अब पछुवा धानमा हाल्न त त्यो पनि छैन, अर्जुनधाराका अर्का किसान देवि खातीले भने-‘केही पसल सञ्चालकले लुकाएर थोरै परिमाणमा उपलब्ध गराउने भारतीय मल पनि छोइनसक्नु महङगो छ ।’ उनले बजारमा मलको अभाव भएपछि स्थानीय ब्यापारीले ४० रुपैंयाँ किलोको दरले युरिया मल बिक्रि गर्न थालेको बताए ।

कालिका कृषि सहकारी संस्था कालिस्थानले लगेको ३० बोरा युरिया वितरणका क्रममा झगडा भएपछि सो संस्थाले युरियाको बिक्रि बन्द गरेको भट्टराईले बताए । उनले ७ सयभन्दा धेरै सदस्य रहेको सहकारीमा ३० बोरा युरिया दिएका कारण बिवाद उत्पन्न भएको जानकारी दिए । युरिया अभावका कारण सहकारीले आफ्ना सदस्यलाई मात्र बिक्रि गर्न शुरु गरेको उनले बताए ।

नेपालमा पाइने युरिया मलको दाम १६ रुपैयाँ प्रतिकेजी रहेको छ । तर, कृषि सामग्री संस्थान र साल्ट टूेडिङ कर्पाेरेशनले पनि आवश्यक परिमाणमा उपलब्ध गराउन नसकेपछि युरिया मलको चरम अभाव भएको हो । अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजारमा मल बिउ बिक्रि गर्दै आएका नन्दीकेशर भट्टराईले भारतीय युरिया मल २ हजार रुपैयाँ प्रतिबोरा बिक्रि गर्नु परेको बताए ।

सरकारी स्तरबाट झापामा कृषि सामग्री कम्पनि र साल्ट टूेडिङ लिमिटेडले मल उपलब्ध गराउँदै आएका छन् । यस सिजनमा झापामा कति मल आवश्यक पर्छ भन्ने यकिन तथ्याङक छैन । यद्यपी १ लाख बोरा मल भए पर्याप्त हुने कृषि सामग्री कम्पनि बिर्तामोडका प्रमुख कमल पोखरेलले बताए ।

हालसम्म १६ हजार बोरा मात्र युरिया मल आएको जानकारी दिदै पोखरेलले थप युरिया छिटो उपलब्ध गराउन सकेसम्म पहल गरिरहेको जानकारी दिए । सुनसरी इटहरी १४ का किसान ल्याकप अन्सारीले धानमा हाल्ने युरिया अभाब भएको भन्दै आफुले कृषि सामाग्री कम्पनी लिमिटेड बाट ल्याएको बताए । युरिया मलको बर्षेनी माग बढ्दो भए पनि मल भने पछिल्लो समयमा अभाब भएको लामिछानेको भनाइ छ । गत आर्थिक बर्षमा ३ हजार,४ सय १५ मेट्रिक टन,पोटा २ सय ३० मेटिूक टन,र डिएपी १ हजार ५ सय ५० मेटिूक टन मल खपत भएको कृषि सामाग्री कम्पनीले जनाएको छ ।

चालु आर्थिक बर्षको अहिले सम्म युरिया १ हजार ७ सय ७४ मेटिूक टन,डिएपी ३ सय ६५ मेटिूक टन र पोटा १ सय १८ मेटिूक टन वितरण गरेको कम्पनीले जनाएको छ । अनुदानको रासायनिक मल आयात गरेर बिक्री वितरणको जिम्मेवारी पाएको सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी जिम्मेवारीमा चुक्दा युरिया मल अभाव भएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय विराटनगरका वरिष्ठ अधिकृत नवरत्न गौतमले तेस्रो मुलकुबाट आयत गरिएको यूरिया मल ढुवनीकर्ताले ढिलो गर्दा समयमै कृषकलाई वितरण गर्न नसकेको बताए । अहिले कृषि सामाग्री कम्पनीमा पूर्वाञ्चलको लागि ३ हजार ५ सय मेट्रिक टन यूरिया मल आएको जानकारी दिए ।

‘हिउदे बालीको लागि पूर्वाञ्चल क्षेत्रको लागि पहिलो लटमा साढे ७ हजार मेट्रिक टन यूरिया मल आउने तयारीमा छ,’ उनले भने, ‘अहिले ३ हजार ५ सय मेट्रिक टन आयो ।

आएको मल विक्रेता सहकारी मार्फत किसानलाई विक्री हुँदै आएको छ । पहिलो लटमा आएको मलले कृषकलाई केही राहत हुनेछ ।’ बाँकी रहेको ४ हजार मेट्रिक टन यूरिया दशै अगाडी नै आउने उनले बताए ।

दोस्रो लटमा आएको ४ हजार मेट्रिक टन यूरिया आएपछि कृषकलाई प्रयाप्त रुपमा मल पुग्ने कृषि समाग्री कार्यालयले दाबी गरेको छ । गौतमले यस बर्ष मल खरिदमा भएको ढिलाईले समयमा डिएपी, यूरिया, पोटास नआउ“दा बितरणमा समस्या भएको स्विकारे ।

उनले सहकारीहरुले माग गरेअनुसारको मल आपुर्ति गर्न नसकेको बताए । ‘अहिले दैनिक ३÷४ ट्रक आइरहेको यूरिया सहकारीलाई समान रुपमा बितरण गरिरहेका छौं,’ उनले भने, ‘सरकारले खरिद गरेको ९ हजार ६ सय १९ मेट्रिक टन यूरिया पूर्वाञ्चलको लागि आउने क्रममा छ ।’

गत आर्थिक वर्षमा पूर्वाञ्चलमा २८ हजार मेट्रिकटन यूरिया, १५ हजार मेट्रिकटन डिएपी, १ हजार ७ सय ९६ मेट्रिकटन पोटासल मल सहकारीमाफर्त विक्री गरिएको उक्त कार्यालय तथ्यांकले जनाएको छ । कृषि विकास निर्देशानलयका वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतिले किसानलाई अहिले धानमा यूरिया मल हाल्नै पर्ने बेलामा अभाव हुनुले प्रतिफल राम्रो नदिने बताए ।