मधुमल्ला/ सत्य निरुपण तथा मेलमिलाप आयोग बनेको पाँच वर्ष पुग्दा पनि द्वन्द्वमा प्रभावित परिवारले न्याय त परको कुरा हो जीवन निर्वाहको आधारहरु भेटाउन सकेका छैनन् ।
आयोगले सशस्त्र द्वन्द्वको क्रममा भएका मानव अधिकारको गम्भिर उल्लंघनका घटनाहरुको बारेमा सत्य तथ्य पत्ता लगाउन र कानूनी कारवाहीको लागि सिफारिश गर्न जिम्मेवार हुन्छ ।
तर, द्वन्द्वपीडित र पीडितका परिवारहरुले राज्य निकायबाट उचित न्याय नपाएको भन्दै आयोग प्रतिनै शंका गरेका छन् । सधैझै द्वन्द्वबाट पीडित भएका परिवारहरुले आफ्नो गुनासो दोहोर्याएका छन् ।
द्वन्द्वपीडित साझा चौतारी उर्लाबारी नगरसमितिले शुक्रबार पत्रकार सम्मेलनमा उपस्थितहरुले यस्तो बताएका हुन् ।
साझा चौतारीका उर्लाबारीका संयोजक एवम् मोरङका उपाध्यक्ष भीमबहादुर राउतले द्वन्द्व पीडितलाई न्याय दिलाउने अभियानमा जोडिएपनि आफैंले अझै पनि पूर्ण राहत पनि पाउन नसकेको बताए ।
उनले भने ‘देशका हजारौं नागरिकले अनाहकमा ज्यान गुमाए, जसका कारण मुलुकमा शान्ति स्थापना भयो, तिनकै सन्तति र अभिभावकले आफै आज खाली हात बस्नुपरेको छ ।’
सत्य निरुपण तथा मेलमिलाप आयोग मात्र नभएर स्थानीय तहहरुले द्वन्द्व पीडितका लागि कुनै कार्यक्रम नल्याएको भन्दै राउतले आक्रोश पोखे ।
चाँडै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएर यसको ध्यानाकर्षण गराउने पनि उनले जनाए ।
द्वन्द्व पीडितहरुको न्यायका सवालमा सरकारले प्रतिवद्धता जनाए पनि पीडितहरुको उचित सम्मान र उनीहरुलाई गर्नुपर्ने सहयोग अपुग भएको पत्रकार सम्मेलनमा उपस्थित भएका सहिद तथा घाइते सरोकार मञ्चका केन्द्रीय उपाध्यक्ष फडिन्द्र डाँगीले बताए ।
उनले द्वन्द्वबाट प्रभावितहरु आर्थिक अवस्था कमजोर हुँदा छोराछोरीको शिक्षामा राज्यको लगानी आवश्यक रहेको बताए ।
यस्तै, द्वन्द्वबाट अंगभंग भएका उर्लाबारी–९ का हेमन्त पौडेलले आफु द्वन्द्वबाट पीडित भएपनि द्वन्द्व प्रभावितको परिभाषा अटाउन नसकेको भन्दै ब्लाष्ट संग दुखेसो पोखे ।
उनले भने,‘१३ वर्ष भयो उजुरी दिएको । आफूलाई गोली हान्नेप्रति अझै अनुसन्धान भएको छैन, राहतको त कुरै छोडौं ।’ पौडेललाई घरमै रहेको बेला गोली प्रहार भएके थियो । उनको दाहिने खुट्टा गुमेको छ ।
उनले भने–‘मैले भोगेको पीडाले मलाई त पीडा दियो नै मेरो परिवारलाई पनि थप पीडा दिलायो ।
’यस्तै, द्वन्द्व पीडित साँझा चौतारीका सदस्य केदारनाथ सिटौलाले युद्धकालमा हत्या, हिंसामात्र नभएर महिलामाथि भएको यौनजन्य हिंसा एवम् बलात्कार जस्ता गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आजसम्म पनि पीडितले न्याय पाउन नसकेको उल्लेख गरे ।
द्वन्द्वकै छिटाले पीडितको उजूरी अनुसन्धान तथा अनुगमनबाट हालसम्म पनि न्याय तथा परिपूरण पाउन नसकेको भन्दै उनले गरिब तथा सीमान्तकृत समुदायका पीडितहरुको दैनिक जीवन कष्टकर बनेको बताए ।
पीडितहरुका अनुसार न्याय पाउने कुरामा शंका थपिएको छ ।
उनीहरुले सवत्र्र खबरदारी र सहयोग आवश्यक रहेको औँल्याएका छन् । पीडितहरुको भनाई छ ‘दोषीहरु कारबाहीको भागिदार हुन्छन् की हुन्नन त्यसमा शंका छ ।’
यसैबीच द्वन्द्व पीडितको साँझा समस्या निदानका लागि यहि असोज १८ गते विहीबार उर्लाबारीको बौद्ध गुम्बामा वृहत अन्तरक्रिया कार्यक्रम आयोजना गरीने साँझा चौतारीले जनाएको छ ।