बराहक्षेत्र । मानिस एउटा सामाजिक प्राणी हो । ऊ समाजमा सम्मानका साथ बस्न चाहन्छ । उसलाई पनि आफन्त, नातागोता, साथीभाइ, इष्टमित्रको साथ चाहिन्छ । जोसँग मनको कुरा गर्न सकोस्, उसले पनि सुख पाउने अधिकार छ । तर धनकुटा साँघुरीगढीका टेकबहादुर राईको हकमा भने यो सब आदर्शको कुरो हो । यस पछाडिको कारण हो उनको दृष्टिविहीनता । बहुअपाङ्गता । जसले उनको आत्मसम्मान्लाई बाख्राको खोरजस्तो बाँस र टिनले छाएको सानो कटेरोमा कैद गरिदिएको छ । उनी कुनै जनावर त होइनन् तर उनको जीवन मानिसको जस्तो छैन । वराहक्षेत्र मन्दिर पुग्ने जो कोहीले उनलाई झोलुङ्गे पुल पारिपट्टि धनकुटा जिल्लाको साँघुरीगढी गाउँपालिकाको वडा नम्बर–१० स्थित डाँडामा बनाइएको कुचुक्क परेको खोरजस्तो कोठामा भेट्न सक्छ । टेकबहादुरको चौबिसै घण्टा त्यही कोठामा बित्ने गर्दछ । बिहान बेलुका दिदी भेनाले ल्याइदिएको खाना खान्छन् । त्यहीँ सुत्छन् । दिसा–पिसाब लाग्यो भने घिस्रिँदै जान्छन्, आउँछन् । तीन वर्षको कलिलो उमेरमै अचानक उनले दुवै आखाँको ज्योति गुमाए । त्यतिबेला आमाबुवा, दाजुहरूको साथ थियो, उनी त्यो पीडा सहेरै भए पनि खुशी नै थिए । समय बित्दै जाँदा टेकबहादुरको झिनो खुशीको पनि अन्त्य भयो । टेकबहादुर आफ्नो पीडा पोख्दै भन्छन्, ‘०५८ सालमा आमाबुवाको हत्या भयो, कसले मा¥यो थाहा छैन, बाआमा गुमाएँ, आर्मीमा थिए माइला दाजु, उनी पनि द्वन्द्वकालमा मारिए, पीडा त भनिनसक्नु छ ।’

जेनतेन दिदी भिनाजुसँग गुजारा गर्दै आएका उनलाई घर हेरिदिएवापत् उपचार गराइदिने भन्दै ०६६ साल वैशाख–जेठमा धनकुटाकै एक क्रिश्चियन संस्थाले ललाइफकाइ लगे । तीनवर्ष उनी त्यहाँ बसे । उनको उपचार त कता हो कता, अझै हात खुट्टा नचल्ने भएर आए ।

‘मेरो उपचार पनि भएन, तीन वर्षपछि हातखुट्टा नचल्ने बनाएर फर्काइदिए ।’ टेकबहादुरले भने, ‘झाडापखालाले सिकिस्त हुँदा पनि सामान्य उपचारबाहेक उसले केही पनि गरेन, खाली गोलीमात्र खुवाउँथ्यो, अस्पताल लगिदेऊ भन्दा पनि लगेन, उसले राम्रै गर्लाजस्तो लागेकोथ्यो, गरेन ।’ आमबस्तीभन्दा माथि डाँडामा बनाइएको कटेरोमा बस्छन् टेकबहादुर । दुवै खुट्टा चल्दैनन् । दिसापिसाब गर्न घिस्रिनुपर्छ । तल बस्तीमा झर्न मन लाग्छ । उक्लन गाह्रो छ । कहिलेकाहीँ त्यही रहर पनि पूरा गर्छन् । तर सास्ती उनी आफैंले बेहोर्छन् । धरानको ज्ञानचक्षु विद्यालयमा सात कक्षासम्म शिक्षा लिएका उनलाई भेट्ने जोकोही प्रभावित नभइरहन सक्दैनन्, गोरो वर्णका टेकबहादुर सबैसँग राम्ररी नै कुरा गर्छन् । उनलाई सबैभन्दा मन पर्ने वस्तु रेडियो हो । त्यही रेडियो सुन्छन् अनि दिन काट्छन् । ‘त्यतिखेर त म राम्रै थिएँ, आँखामात्र त देख्दिनथेँ, तर अहिले यता न उताको भएको छु ।’ टेकबहादुर पुराना दिन सम्झन्छन्, ‘खै स्कुलडाँडा भन्थे कताको हो, थाहा छैन, मलाई पढाइदिन्छु, उपचार गरिदिन्छु भन्थे, गोमा पाख्रिन नाम हुनुपर्छ, आखिर केही भएन ।’ उमेरले २७–२८ वर्ष पुगेको बताउँछन् टेकबहादुर । टेकबहादुरलाई घरमा नराखेर खोरमा राख्नु बाध्यता भएको उनका भिनाजु भक्त राई बताउँछन् । १५ वर्षदेखि टेकबहादुरको हेरचाह गरिरहेका उनको पनि जीविकोपार्जनमा आफ्नै समस्या छ । उनी भन्छन्, ‘के गर्नु र भिरपहिरोमा बसिएको छ, खोलाको किनारमा बसिएको छ, केही हुँदा आफू त कसैगरी भागिएला उनलाई कसरी बचाउने र, बरु त्यही राख्दा केही हुँदैन कि ? फेरि पैसा भए त राम्रै गर्थे नि ?’ उनी थप्छन्, ‘उसलाई बिहान बेलुका खान दिन्छौँ, जाडोमा ओढ्ने ओछ्याउने दिएको छु, आफैँ गरिब छु हजुर ।’ टेकबहादुरलाई साँघुरीगढी गाउँपालिकाले महिनाको २ हजार दिएको छ । यही रकमबाटै उनको हेरचाह गर्दै आएको उनका भिनाजु भक्त राई बताउँछन् । भाइको अवस्थाका बारेमा बताउँदा हत्तुहैरान भएको उनकी दिदी बताउँछिन् । आफ्नो नाम पनि भन्ने नमान्ने उनले भाइलाई हेर्न भन्दै विभिन्न संस्था र पत्रकार आएको तर केही उपलब्धी नभएको बताइन् । उनी भन्छिन्, ‘पत्रकार आउँछन्, जान्छन्, दिदीले भाइलाई खोरमा राख्यो, यातना दियो भन्छन् तर उसलाई त्यहाँ राख्दा हाम्रो मन दुखेको छैन ? तर के गर्नु गरिब भएपछि के पो गर्न सकिन्छ र ? हेर्नु र लेख्नुबाहेक कसले पो सहयोग गरेको छ र ?’ टेकबहादुरको पीडा स्थानीयले पनि देखेका छन् । टेकबहादुरको दिदी भिनाजुको अवस्था उनीहरूलाई थाहै छ । ‘उसलाई दिदी भिनाजुले सकेजति गरेको नै छ, आँखा बनाइदिन्छु भन्दै हातखुट्टा बिगारेर पठाइदिने त्यो क्रिश्चियन संस्थालाई चाहिँ कारबाही गर्नुपर्छ ।’ स्थानीय सुनिल सुब्बाले आक्रोश पोखे । ‘मानिस संवेदशील र सचेत प्राणी हो ।’ लेखिएका शब्दहरू उनको पीडालाई बयान गर्न कम हुन्छ । टेकबहादुरका लागि सहयोगी हातको खाँचो छ ।