ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ७ कि १७ वर्षीय सम्झना तामाङलाई सुत्केरी व्यथा लाग्यो । उनका परिवारले उन्लाई जिल्ला अस्पताल पनि समय मै पुर्याए । अस्पतालमा राखीयो । दिउँसो नै अस्पताल पुर्याईएकी सम्झनालाई प्रसुती गराउन अस्पताल त पुर्याईयो तर पनि उनि खतरा मुक्त रहिनन् । कलिलैमा अर्थात १७ वर्षकै उमेरमा आमा बन्ने क्रममा अधीक रक्तश्राव भयो । अधिक रक्तश्राव भएकै कारण उन्लाई रगतको आवश्यकता पर्यो । रगत कै लागि उन्का श्रीमान् दिलकुमार तामाङले आफ्ना सवै आफन्तलाई फोन गरे । तर कसैको पनि सम्झनाको रगत समुहसँग मिलेन । रातको ११ः३० भैसकेको थियो । “त्यस पछि हार गुहार गरियो, मान्छेको (सम्झना) ज्यानै जान लागि सक्यो ।” उन्का श्रीमान् दिलकुमारले भने, “त्यहिँको डाक्टर सावले एक पिन्ट रगत दिनुभयो, अनि मात्रै अलि आशा पलायो ।” त्यति रगतले मात्रै उन्लाई पुग्ने थिएन । मध्यरातमा ससस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना तथा रेडक्रसका पदाधिकारीहरुलाई फोन गरे । अन्त्यमा नेपाली सेनाका एक जवानले रातका १ वजे रगत दिए । उनि मात्र उन्को ज्यान वच्यो । सम्झना त एक प्रतिनिधि पात्र मात्रै हुन् । दैनिक जसो जिल्ला अस्पतालमा शल्यक्रियाका लागि आउने विरामीको परिवारले यस्तै गर्नुपर्छ । कोहि कसै विरामी भैहाले सवैभन्दा पहिले रगत दिने मान्छे खोजी गर्नु पर्छ यहाँका स्थानियलाई । अस्पतालमा व्यवस्थित ब्लड बैँक नुहुँदा अस्पतालमा उपचारका लागि आउने विरामीको ज्यानै खतरामा पर्ने गरेको छ । केहि महिना अघि फुङलिङ नगरपालिकाको सहयोगमा जिल्ला रेडक्रस सोसाइटी ताप्लेजुङद्वारा जिल्ला अस्पतालमा प्रारम्भिक ब्लड बैङ्कको स्थापना गरिएको छ । तर पनि धेरै दिनसम्म रगत सञ्चित गर्ने क्षमता छैन । ब्लड बैङ्कको उचित सुरक्षा र क्षमताको अभावका कारण बढीमा २५ दिनसम्म प्रत्येक रक्त समूहका एक र एक पिन्ट रगत राखेपछि अन्यत्र पठाइने गरिएको रेडक्रस ताप्लेजुङका सभापति इन्द्र गुरुङले वताए । रेडक्रस सभापति गुरुङका अनुसार जिल्ला अस्पतालमा स्थापना गरिएको प्रारम्भिक चरणको ब्लड वैँकमा रगतलाई व्यवस्थित गर्ने उपकरण तथा प्रविधि नै छैन । “अहिलेलाई रगत कलेक्शन गर्ने सामान्य मेसिन र एउटा जेनेरेटर मात्रै छ । त्यति व्यवस्थित गर्न सकिएको छैन ।” गुरुङले भने “रगतलाई वचाई राख्नको लागि नियमित विद्युतको आवश्यकता पर्दछ । विद्युत पनि नियमित छैन् । जेनेरेटर भएपनि त्यसलाई समयमै सञ्चालन गर्ने कर्मचारीको पनि अभाव छ ।” गुरुङका अनुसार जेनेरेटर चलाउने तथा रगतको निगरानीको लागि पनि जिल्ला अस्पतालका कर्मचारीको सहयोग लिईरहेको छ । ब्लड वैक नै सञ्चालन गर्नको लागि आर्थिक अभाव रहेका रेडक्रसका सभापति गुरुङले वताए । “व्लड वैँकका सवै उपकरण सहित व्यवस्थीत तरिकाले सञ्चालन गर्नको लागि सुरुमा नै पनि कम्तीमा एक करोडको उपकरणको आवश्यकता पर्दछ ।” उनले भने “साथमा प्राविधिकको पनि आवश्यकता पर्दछ । यस्को लागि यहाँका माननिय मार्फत प्रदेशलाई वजेटको माग गरेका छौँ ।” जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर सचिन यादवका अनुसार अधिकांस प्रसुती गराउन आउनेहरुलाई रगतको आवश्यकता पर्दछ । “प्रसुती हुने क्रममा अत्याधिक रक्तश्राव हुन्छ । त्यति खेर रगतको आवश्यकता पर्दछ ।” डाक्टर यादवले भने । “बाहिर रेफर गर्ने अवस्था पनि रहँदैन र तत्कालै रगत खोज्दा पाउने स्थिति पनि नहुँदा स्वास्थ्यकर्मी आफैँले समेत रगत दिने अवस्था पनि आउँछ ।” उचित क्षमता सहितको व्यवस्थित ब्लड बैङ्क नभएसम्म यस्ता जोखिमको सामना गरिरहनुपर्ने अवस्था रहने निमित्त स्वास्थ्य प्रमुख यादवको भनाइ छ ।