धरान/ झोराहाट नाट्य केन्द्रको रङ्गमञ्चमा शनिबार गाउँमा कविताको २८ औं श्रृङ्खला गुञ्जियो । ओढेर भुइँ कुहिरो तुत्तु तङसिङ सुहाङ्मा तङसिङ सम्हालेर आएँ है तमर खोलाको किनारै किनार हुँदै ओढेर घाम ओढेर जून बोकेर सिलाम साक्मा मेन्छ्यायेमको नजिकै आएँ है । यो श्रृङ्खलामा कवि, साहित्यप्रेमीले मुन्धुममा वर्णित पृथ्वीको आदिम उत्पत्ति, संस्कृति, माया–प्रेम र यौन मनोविज्ञानलाई सुने । लिम्बू (याक्थुम्बा) हरूले मान्दै आएको मुन्धुममा आधारित मिथक, प्रतीक र बिम्बहरूले सजिएका कविता पूर्वका साहित्यप्रेमीले पहिलो पटक मञ्चमा सुने । नेपाली कवितामा पहिलो पटक मिहिन ढङ्गले मुन्धुमका मिथकलाई प्रयोग गरी कवि प्रदीप मेन्याङ्बोले चार कविता सुनाए । नेपाली कवितामा प्रयोग हुँदै आएका हिन्दू, किरात, पाश्चात्य र लोक मिथकभन्दा पृथक सौन्दर्य कवितामा थिए ।
एकजोडी चिम्सा नयन अझै नचुमिएका मादक अधर नमुसारिएका युगल वक्षका शैलुङे थुम्की खोज्दै तन्नेरी बरालिएर बैंशमा– मुजिङ्ना मयङ्ना सङसङ्बो इखाबुको मालिङ्गोघारीमा खेलेर पिङ वरपीपलको लहरामा सेलोनफुङ तुक्साहाङ्मा र मुक्तोहाङ हिप्साहाङ्वाहरूसँग पल्टेर उत्तानो लेसोत लुङमाथि दिनमा घामसँग अँगालोमा बाँधिएर सम्भोग कल्पनामा हराउन सिक्दै रातमा जूनसँग लुटपुटिएर मदहोस हुने सपना देख्दै ... कवि मेन्याङ्बोले कविता सुनाइरहँदा झोराहाट नाट्यघरको त्यो रङ्गमञ्च स्तब्ध रह्यो । ‘सायद बिम्बहरू क्लिष्ट भए कि ?’ कवि प्रकाश दिप्सालीले टिप्पणी गरे । कविता सुन्न बसेकाहरूले मुन्धुम कवितामा नयाँ स्वाद पाएको बताए । यद्यपि मिथकीय दृष्टिले नवीन प्रयोग भएकाले केही ‘कन्फ्युजन’ हुन सक्ने कवि राज माङ्लाकले बताए । उनले कवितामा रहेका शब्दका अर्थलाई प्रष्ट पार्दा कविताको मीठासमा क्रमभङ्गता भएको समीक्षा गरे । कविता सुनाउनु अघि नै कवितामा नयाँ प्रयोग भएको बताइरहेका कवि मेन्याङ्बोले आफ्नो कविता सुनाइसकेपछि पनि खटपट व्यक्त गरे । ‘मुन्धुम कविता सुन्नेलाई नयाँ स्वाद भए पनि मेरो लागि नयाँ अनुभव रह्यो, भलै कतिपयले चिनेनन् मेरा कविताका पात्रहरूलाई, कतिपयले बुझेनन् होला मेरा मिथकीय मेटाफोरलाई, कतिपयलाई लागेन होला कविताजस्तो,’ कवि मेन्याङ्बोले भने, ‘झोराहाट नाट्य केन्द्रका मित्रहरूले मलाई मञ्चमा उभ्याएर नेपाली धरातलसँग जोडिएका मुन्धुमी कविता सुनाउन अवसर दिने साहस गर्नु भयो यसैमा म सन्तुष्ट छु ।’
मुन्धुमी कविता सुनाउँदै गर्दा न कवि यहाँ ‘मिथमेकर’ हुन् न मिथकहरूको सिर्जनशील पुनर्लेखन भएको नै छ । यहाँ त कविले प्रयोग नभएका आदिम मिथक कवितामा उतारेका छन् । कवितामार्फत् मुन्धुमका रहस्यहरूको उद्घाटन गरेका कवि मेन्याङ्बो मञ्चमा मुन्धुमी मिथकको द्योतकका रूपमा देखा परे ।
‘नेपाली कवितामा नयाँ मिथकीय प्रयोग हो, यो हाम्रै माटो सुहाउँदो मिथक भएपनि प्रयोगवादी शिल्पका रूपमा आएकाले कवि, कविता र कविताप्रेमीहरूको साक्षात्कार बढाउँदै लानु पर्छ ।’ इटहरीका कवि नवराज मैनालीले प्रतिक्रिया दिए । कवि प्रदीप मेन्याङ्बोसँगै पश्चिमका कवि हेमन्त विवशले देउडाबाट शुरु गरेको कवितामा सुदूरपश्चिमका बिम्बले भरिएका गाउँले जनजीवनका पीडालाई कलात्मक तरिकाले सुनाए । मोरङका कवि चुडामणि नेपाल ‘अकिञ्चन’ ले समसामयिक कवितालाई मञ्चमा पोखे । झापाकी कवि मायामितु न्यौपानेले आफ्नो केही पुराना तथा चर्चित कविता ‘ऐना’ मार्फत् साहित्यप्रेमीको तारिफ बटुलिन् ।
..........ऐना फुटेपछि आजभोलि म पानीमा अनुहार हेर्छु ... ऐना फुट्छ तर पानी फुट्दैन..........