विराटनगर/प्रदेश १ को एकमात्रै महानगरपालिका विराटनगरमै व्यवस्थित बधशाला नहुँदा उपभोक्ताले अस्वस्थ्यकर मासु खान बाध्य छन् । महानगरले हालसम्म पनि बधशाला निर्माणमा चासो नदेखाउँदा विराटनगरबासी अस्वस्थ्यकर मासु खान बाध्य बनेका हुन् । नियमितजस्तो मासु खाने विराटनगर–११ की माया खड्काले आजभोली बजारबाट माछामासु किन्न छोडेकी छन् ।

बजारका मासु पसलहरु अव्यवस्थित, फोहोर, र सरकारले तोकेको न्युनतम मापदण्डसमेत पुरा नभएका कारण खड्का बजारको माछामासु किन्न छाडेकी हुन् ।

विराटनगरमा यतिबेला सडक तथा गल्लीहरु भत्काइएका कारण थप धुलाले साम्राज्य मच्चाएको छ । बायुमण्डल नै धुलाम्मे बनेपछि माछामासु पनि प्रभावित हुने गरेको छ ।

‘यस्तो अवस्था देखिदेखि कसरी मासु खानु ?’ उनले भनिन् । ‘चौकहरुमा गएर हेर्नुस् त मासु कसरी बिक्री हुन्छ अनि त्यो मासु कसरी किनेर ल्याउनु ?’

त्यसो त महानगरको ८ नम्बर वडामा पशु बधशाला निर्माण हुने चर्चा चलेको पनि दशकौं भइसकेको छ । तर, प्रयाप्त बजेटको अभावमा हालसम्म पनि निर्माण हुन सकेको छैन ।

व्यवस्थित पशु बधशाला नहुँदा प्रदेश १ को अस्थायी राजधानीबासीले अस्वस्थ्यकर माशु खाइरहेका छन् । विराटनगर–१४ का अरबिन्द मण्डलले विराटनगरमा व्यवसायीहरूले जथाभावी खसी, बोका, कुखुरा, बंगुर, राँगा काटेर बिक्री बितरण गर्दै आएको गुनासो पोखे ।

‘व्यवसायीहरुले उपभोक्ताको हितभन्दा आमदानीका लागि माशु व्यवसाय गरेको देखिन्छ,’ उनले भने, ‘माशु व्यवसायीहरुले धुलोमैलो, फोहोर ठाउँमा नै माशु काटेर बिक्री गर्दै आएको र महानगरबासी उपभोग गर्दै आएको छ ।’

अस्वस्थ्यकर माशु विक्री बितरण गरिए पनि नियमनकारी निकायले नियन्त्रण गर्न सकेको छैन । २०६६ सालमा तात्कालीन विराटनगर उपमहानगरपालिका र पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालयको सहकार्यमा निर्माण थालिएको बधशाला एकदशक बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।

निर्देशनालयले ६० लाख अनुदान दिएर निर्माण सुरु गरेको थियो । बधशाला निर्माणका लागि हालसम्म १ करोड ९ लाख रुपैयाँ खर्च भइसक्दा पनि निर्माण कार्य पूरा भएको छैन ।

गत वर्ष बधशालाका लागि बिनियोजन गरेको १ करोड २४ लाख बजेट महानगरले खर्च गर्न सकेन । महानगर चालु आर्थिक वर्षमा बधशाला निर्माणका लागि १ करोड २० लाख बजेट बिनियोजन गरेको छ ।

पशु बधशालाका लागि निर्माण भएको संरचनासमेत भत्किन थालेको छ । विराटनगर महानगर प्रमुख भीम पराजुलीले महानगरबासीलाई स्वस्थ्यकर माशु उपलब्ध गराउनका लागि पशु बधशाला निर्माणका लागि प्रदेश र संघीय सरकारलाई बजेट उपलब्ध गराइदिन आग्रह गरेको बताए ।

उनले दुबै सरकारले अगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराइदिने भन्दै आश्वासन समेत दिएको बताए । दुबै सरकारले बजेट नदिए पनि उपभोक्ता हितका लागि महानगर आफ्नै बजेटमा भए पनि दुई वर्षभित्र पशु बधशाला निर्माण गर्ने उनले प्रतिबद्धता जनाए ।

महानगरका पशुपंक्षी महाशाखा प्रमुख हिरालाल यादवका अनुसार महानगरमा २ सय ५० माशु पसल दत्र्ता भएको तर ३ सयसम्म मासु पसल नगर क्षेत्रमा हुने बताए ।

अधिकाश पसल मापदण्ड विपरीत महानगरपालिकाले उपभोक्तालाई १४ बुद्धे मापदण्ड पुरा गरेका पसलबाट मात्र मासु खरिद गर्न आह्वन गरेका छन् । तर, विराटनगरको गुद्री, बरगाछी, जनपथटोल, बसपार्क, भृकुटी चोक, तीनपैनीचोकमा रहेको अधिकाशं मासु पसलले भने नियम पालना नगरिकन सञ्चालन छन् ।

मासु उपभोगका लागि मारिने पशु तथा पन्छीको सरकारले तोकेको चिकित्सकबाट स्वास्थ्य परीक्षण गराएर पास भएपछि मात्र मार्न तथा काट्न पाउने व्यवस्था ऐनमा उल्लेख गरीएको छ ।

तर, यहा पशुको स्वास्थ्य जाँच गराएर कसैले पनि मासु काट्ने गरेका छैनन् । स्थानिय स्वायत शासन ऐन २०५५ अनुसार नगर क्षेत्रभित्र कुनै पनि व्यापार व्यवसाय सञ्चालन लागि सम्बन्धित नगरपालिकाबाट अनिवार्य रुपमा व्यवसायिक अनुमतिपत्र लिनुपर्ने कानुनि प्रावधन रहेको छ ।

क्याप्सन ः एक दशक हुन लाग्दा पनि निमार्ण कार्य पुरा हुन नसकेको बधशाला । तस्बिर ः ब्लाष्ट अनिल श्रेष्ठ