इटहरी/ आफ्ना सन्तानका लागि लालन-पालनमा रातोदिन खट्ने अभिभावक बुढेसकालमा बेसाहारा जीवन बाँचिरहेको हेर्न इटहरी पकलीस्थित रामजानकी मन्दिर गए पुग्छ ।
सन्ततिका लागि उमेर खर्चिएका उनीहरू अहिले आश्रमको साहारामा बाँच्न बाध्य छन् । झुम्काकी ९३ वर्षीया लिलावती चौधरी अहिले साहाराविहीन बनेपछि आश्रममा बस्दै आइरहेकी छन् ।
उनको एक छोरा र छोरी छन् । नातिनातिना छन् । तर, पनि वेसाहारा जीवन व्यतित गरिरहेकी छन् । ‘कति कष्ट खपेर सन्तान बढाएँ , अहिले कसैले वास्ता गदैनन् ।’
उनीमात्रै होइनन्, त्यहाँ घरबाट निकालिएका थुप्रै आमाहरू बस्छन् । सन्तान भएर पनि निसन्तानझैं बस्नु परेका छ उनीहरूले । अहिले उनीहरूलाई मायाको खाँचो छ ।
साहाराको खाँचो छ । तर, बुढेसकालको साहाराले नै उनीहरूलाई लतारेको छ । पकलीको मन्दिरमा ७ जना आमाहरू कष्टकर जीवनयापन गरिरहेका छन् ।
केहीको कोही नभएर मन्दिरको साहारमा बाँचेका छन् भने भएकाहरूको छोराछोरीले सम्पत्ति हडपेर छाडिदिएका छन् । सुनसरी बक्लौरीकी ७२ वर्षीया फुलवती चौधरीले आफ्ना दुई भाइले हेलोहोचो गरेपछि उनी चारवर्षदेखि आश्रमको साहारामा छिन् ।
झुम्काकी ६६ वर्षीया जसोमती गामीको पीडा उस्तै छ । उनको एउटी छोरी छन् । तर छोरीले पनि वेवास्ता गरेपछि उनको साहारा आश्रम बनेको छ । ‘छोरीले मलाइ कुटपिट गरेपछि आश्रम आएँ ।’ उनले गहभरी आशु पार्दै भनिन् ।
६२ वर्षीया मेनुका लुइटेलको समस्या पनि अन्यको भन्दा फरक छैन । ‘मनमा कुरा खेलायो, आफ्नो जीवनलाई सम्झियो रोयो ।’ उनी भन्छिन्, ‘साह्रैं गाह्राे हुँदोरहेछ बाबु यो बुढेसकालको जिन्दगी ।’
वेसाहरा बृद्ध, बृद्धालाई सेवा पुर्याउने उद्देश्यले वृद्धाश्रम सञ्चालन भइरहेको मञ्जु गौतम बताउँछिन् । आजभोलि बृद्ध आमा, बुबाहरू आफ्नै छोराछोरीहरूबाट अलपत्र पारेर छाडिदिने क्रम बढेको उनको अनुभव छ ।