मुस्ताङमा रहेका शेर्पा समुदायको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘छिरिङ’ प्रदर्शनका लागि सिनेमा घरमा छ । प्रचार प्रसारको सुस्तताका कारण उत्कृष्ट भएपनि यस चलचित्रले अपेक्षाकृत ब्यापार गर्न भने सकेको छैन । हलमा फाट्टफुट्टमात्र दर्शक तान्न सकेको चलचित्रको बारेमा यहाँ चर्चा गरिएको छ । चलचित्रको कथा यस्तो छ, ‘मुस्ताङको कुनै गाँउमा एकजना छिरिङ नामको पात्र हुन्छ । उसको गाउँमा अर्का एकजना खलपात्र जिग्मेले शिक्षा र बिकासमा अवरोध खडा गरिरहेको हुन्छ । अवरोधको मुखियाबाले बिरोध गर्दा उनको जिग्मेले हत्या गरेको हुन्छ । चलचित्रमा यार्सागुम्बा र गाउँमा आएको बिकास बजेट हत्याउन पल्केको जिग्मेको दवदवालाई बिद्रोहमार्फत दर्शकमाझ देखाउने प्रयास गरिएको हुन्छ । मुखिया बा को छोरो छिरिङ पढेलेखेको युवक हुन्छ । छिरिङ पढ्नका लागि लामो समयदेखि अमेरिकामा बसेको हुन्छ । अमेरिकाबाट फर्केर आएपछि छिरिङले शिक्षा र बिकासको बिरोधी जिग्मेमाथि धावा बोल्न थाल्छ । गाउँले सचेत भएर आफु हावी हुन नपाउने भयले बिवाहकै दिन जिग्मेले छिरिङलाई आक्रमण गर्छ । आक्रमण भएपछि पोखराको एक हस्पिटलमा उनको उपचार हुन्छ । उपचारको क्रममा छिरिङको निधन हुन्छ । छिरिङको निधन भएपनि ब्रेन भने सक्रिय हुन्छ । ठिक त्यसैबेला सोही अस्पतालमा कार्यारत एकजना डाक्टरको छोराको पनि दुर्घटना हुन्छ । मृतकको छोराको ब्रेनमा असर परेपछि डाक्टरले उनको ब्रेन परिवर्तन गरिदिन्छन । बेहोस भएका उनको एक महिनापछि होस आउँछ । होस आउँदा आफ्ना डाक्टर बाबुलाई छोडेर छिरिङ हुँ भन्दै उनी मुूताङको सोही गाँउमा पुग्छन् । उनलाई त्यहाँका स्थानीयले छिरिङ हो भनेर पत्याउदैनन् । तर, उनी आफु छिरिङ नै भएको दावी गर्न छोड्दैनन् । उनले खान्दानी दुस्मन जिग्मेको अन्त्य गरेपछि समाजले उनलाई छिरिङ हो भनेर स्विकार गर्छ । त्यो भन्दा पहिले उनका डाक्टर बाबुले वास्तविकता बताउँदै सो गाँउमा गएर क्षमायाचना गरिसकेका हुन्छन् ।’ चलचित्रमा निमा रुम्वा, यस कुमार र नवनायिका कामना भुजेलको अभिनय जोडदार छ । चारवटा गित रहेको चलचित्रमा दुइवटा कभर गितहरु रहेका छन् । जुन गितमा चलचित्रका निर्देशक समेत रहेका नायक यस कुमारको स्वर सुन्न सकिन्छ । चलचित्रमा रोनाधोना, द्धन्द र संवाद मजबुत छ । नवनायिका भुजेलले कुनै कुनै सम्वादमा चिप्लेको देख्न सकिन्छ । मुस्ताङको आकर्षक तथा पर्यटकीय क्षेत्र तथा लुम्बिनी र पोखरामा छायांकन भएको चलचित्र छिरिङका दृष्यहरु आकर्षक छन् । क्यामेरा पर्सनले आफ्नो कला देखाउन कुनै कसर बाँकी राखेका छैनन् । सविर श्रेष्ठको कथा रहेको चलचित्र छिरिङमा द्धन्दका आकर्षक दृष्य देख्न पाइन्छ । चलचित्र हेर्ने दर्शकलाई मुस्ताङको एउटा गाउँको वास्तविकता हेर्दै छु भन्ने भान पर्ने गरी चलचित्र निर्माण भएको छ । असोज १२ गतेदेखि देशभर प्रदर्शन भइरहेको चलचित्र छिरिङले प्रचार प्रसारका कन्जुस्यांई गरेका कारण अपेक्षाकृत दर्शक बटुल्न भने सकेको छैन ।