पाँचथर/ सदरमुकाम फिदिममा बिहीबार ‘कुकुर कविता’ लेखनको औचित्यमाथि विमर्श भएको छ ।
कुकुर कविता साहित्यिक आन्दोलन समूहले कार्यक्रमको आयोजना गरेको हो ।
विमर्शका लागि कुकुर कविता लेखनका प्रवर्तक सङ्गम सुहाङले आधार–पत्र प्रस्तुत गरेका थिए । आधार–पत्रमा आवाज विहीनहरूको आवाज नै कुकुर कविता भएको उल्लेख छ ।
आधार–पत्रमा भनिएको छ– ‘हिजोको गहुँगोरो कविताको व्याकरणले मात्र अबको कविता लेखनको सबै विषय पूर्ति गर्न सक्दैन भन्ने हाम्रो ठहर हो, र नै कुकर कविता लेखेका हौं ।’
कार्यक्रमका प्रमुख अतिथि लेखक राजन मुकारुङले विभेदका विरुद्ध आवाज कुकुर कविताले उठाएको महत्वपूर्ण पक्ष भएको बताए ।
मुकारुङले सदियौंदेखि एक वर्गले अर्को वर्गलाई शोषण गरिरहने श्रृङ्खला आजसम्म पनि चलिरहेको उल्लेख गर्दै यस प्रवृति विरुद्ध अलि कठोर भएर प्रश्न गर्नुपर्ने समयमा कुकुर कविता आन्दोलन त्यही प्रश्न लिएर आएकाले यो स्वागतयोग्य भएको बताए ।
कार्यक्रममा कवि तथा समीक्षक प्रकाश थाम्सुहाङले विभेदपूर्ण व्यवस्थाको प्रतिरोधि चेतना कुकुर कवितामा पाइने बताए ।
उनले भने– ‘कुकुर कवितामा समय चेतना छ ।’ आधार–पत्र र कुकर कविता साहित्यिक आन्दोलनमाथि साहित्यकार प्रेम ओझा, टङ्क सेलिङ, मधु केरुङलगायतले पनि बोलेका थिए ।
कार्यक्रममा सेसेफुङ शेर्मा, सुनिल आङ्बोलगायतले कुकुर कविता वाचन गरेको कुकुर कविता लेखनका अभियन्ता विवश बेनामले बताए ।