चतरा । नेपाल सरकारको स्वामित्वमा रहेको नदी किनारका पर्ती जग्गाहरूमा कृषि, पशुपालन र पर्यटन उद्योग सञ्चालन गर्न निजी क्षेत्रलाई वहालमा दिने वराहक्षेत्र नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ । शुक्रबार नगर कार्यपालिकाको बैठकले निजीक्षेत्रको लगानी र स्थानीय कृषि, पशुपालन र पर्यटनक्षेत्रको विकास गर्न यस्तो निर्णय गरेको नगर प्रमुख निलम खनालले बताए । उनले राजस्व परामर्श समितिले तोकेको कर लिने गरी निजी, सामुदायिक र सहकारीक्षेत्रले बहालमा लिई उद्योग सञ्चालन गर्न सक्ने छन् । ‘नगरपालिकाले कृषि, पर्यटन र उद्योगको विकास गर्ने नीति लिएको छ, त्यसैअनुसार निजीक्षेत्रको लगानी भिœयाउन एउटा ढोका खोलिएको छ ।’ नगर प्रमुख खनालले भने । योसँगै पर्यटनक्षेत्रको विकासका लागि केही पर्यटकीय र कृषि सडकको स्तरोन्नति गर्नेसमेत कार्यपालिकाले निर्णय गरेको छ । पर्यटकीय क्षेत्र प्रवद्र्धनका लागि भण्डारीटार– चावचा– बाग्दलबारी– चियाबारी– मिलन चोक चक्रपथको स्तरोन्नति गर्ने निर्णय भएको कार्यपालिका प्रवक्ता रुद्र दाहालले जानकारी दिए । यस्तै अमाहा पोखरी– गुरूङटोल सडक निर्माण, शिवालयदेखि २ आरडीसम्मको बाटो निर्माण, बीपी टोल– धनपुरी सडक निर्माण गर्ने निर्णय भएको छ । धरान उपमहानगरपालिकासँग जोड्ने बाङ्गे– नडाहा– सर्दुखोलासम्मको सडक स्तरोन्नति गर्ने निर्णय गरिएको छ । कार्यपालिकाको निर्णयअनुसार पिँडारी सडक उत्तर पनि स्तरोन्नति गरिनेछ ।
दमकलको विकल्प ट्याङ्कर कार्यपालिका बैठकले दमकल खरिद गर्न सकिए पनि बजेट अभावका कारण त्यसमा लाग्ने जनशक्तिको व्यभार थेग्न नसक्ने निर्णय गर्दै ट्याङ्कर खरिद गर्ने निर्णय गरेको छ । साविक गाविसहरू वराहक्षेत्र, महेन्द्रनगर, भरौल, प्रकाशपुर, मधुवनक्षेत्रबाट सञ्चालन हुने गरी पाँचवटा ट्याङ्कर खरिद गर्ने निर्णय भएको छ । ट्याङ्करमा पानी तान्ने र फाल्ने दुई मेसिन जडान गरी दमकलको विकल्पका रूपमा ट्याक्टरमा जोडेर प्रयोग गरिने बताइएको छ ।
नगर कार्यपालिकाले सेवा प्रदान गरेवापत् लिने सबै प्रकारका कर र महशुलका लागि आवश्यक बीलबिजकको सफ्टवेयर खरिद गर्नेसमेत निर्णय गरेको छ । सामुदायिक विद्यालयको लेखापरीक्षण, घरवहाल कर उठाउन, अनुगमन गर्न र यस सम्बन्धी सचेतना जगाउन माइकिङ गर्ने निर्णय गरेको छ । कार्यपालिकाले वराहक्षेत्र नगरपालिकाका माथिल्लो भेगका लागि डम्पिङ साइटसमेत निक्र्यौल गरेको छ । नडाहा– चतरा बीच जङ्गलमा पर्ने सातपत्रेमा एउटा डम्पिङ साइट निर्माण गर्ने निर्णय भएको प्रवक्ता दाहालले बताए । वराहक्षेत्र नगरपालिकामा रहेका इलाका प्रहरी कार्यालयलगायत प्रहरी चौकीलाई वार्षिक इन्धन उपलब्ध गराउने समेत निर्णय गरेको छ । कार्यपालिकाले इलाका प्रहरी कार्यालय चक्रघट्टीलाई वार्षिक ५ सय लिटर इन्धन दिने छ भने अन्य इलाका र प्रहरी चौकीलाई वार्षिक १ सय लिटर इन्धन दिने निर्णय गरेको छ ।
गुनासो व्यवस्थापन समिति यस अघि वराहक्षेत्र नगरपालिकामा रहेको गुनासो व्यवस्थापन समितिमा सदस्य थप गरिएको छ । नगर प्रमुख संयोजक रहेको समितिमा न्यायिक समितिका सदस्यसमेत रहेको वडा नं. २ का वडाध्यक्ष हरिकृष्ण भट्टराईलाई सदस्य रहने गरी निर्णय गरिएको छ । समितिको उपसंयोजकमा नगर उपप्रमुख, सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत र प्राविधिक शाखा प्रमुख सदस्य रहँदै आएका छन् ।