धरान/हाडजोर्नीमा गम्भीर समस्या आउँदा प्रयोग हुने टाइटानियम सामग्री ‘इम्प्लान्ट’ मा चिकित्सकलाई कमिसन दिएर विक्रेता कम्पनीले ब्रम्हलुट मच्चाइरहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका हाडजोर्नीमा कार्यरत चिकित्सकहरूले कमिसनको प्रलोभनमा निश्चित कम्पनीको इम्प्लान्ट प्रयोग गर्न बिरामीलाई पूर्जीमा लेखिदिने गरेका छन् ।
हरेक औषधिको मूल्यसूची हुने भए पनि इम्प्लान्ट सर्जिकल सामग्री भएकाले मूल्यसूची समेत राखिएको पाइदैन । धरानमा ग्रिन्स, सिङ्ग्नर, विशाल र शक्तिको इम्प्लान्ट प्रयोगमा आउने गरेको छ । जसमध्ये हाल ग्रिन्स र विशालको इम्प्लान्ट बढी प्रयोगमा आइरहेको छ । केही वर्षअघिसम्म शक्तिको इम्प्लान्ट बिक्री हुने गरेको भए पनि हाल चिकित्सकले शक्तिको इम्प्लान्ट सिफारिस कमै मात्र हुने गरेको छ । तर, शक्तिका आधिकारिक विक्रेता मनोज साह भने कमिसनको कुरालाई मान्न तयार देखिएनन् । उनले कमिसन लिने/दिने कुरा सबै असत्य भएको दावी गरे । यता ग्रिन्सको आधिकारिक विक्रेता अर्थो वल्र्ड सर्जिकलका सञ्चालक बिरेन्द्र गुप्ताले पनि आफूहरूले कुनै पनि चिकित्सकलाई कमिसन नदिएको दावी गरे ।
‘उनीहरू कहीबाट पाउँछ होला । मैले दिन्न । कुनै एउटा पाटी दिन्छु होला ।’ उनी दावी गर्दै भन्छन् । बीपी प्रतिष्ठानमा हाडजोर्नी विभागमा ‘ए, बी र सी’ गरी तीन विषेशज्ञ चिकित्सक प्रमुख रहने गरीको समूह छ । ती समूहका प्रमुखहरूले इम्प्लान्ट वितरकबाट कमिसन पाउने गरेका हुन् । नाम नछाप्ने शर्तमा हाडजोर्नीमै कार्यरत एक चिकित्सकका अनुसार इम्प्लान्ट विक्रेताहरूले चिकित्सकलाई २० देखि २५ प्रतिशतसम्म कमिसन दिने गरेको छ ।
यही विषयमा औषधि पसलका एक सञ्चालकलाई बुझ्दा ५० प्रतिशतसम्म दिने गरेको दावी गरे । नाम नछाप्ने शर्तमा उनले पनि भने, ‘यसमा भयङ्कर ब्रम्हलुट छ । कुनै सामानको मूल्यसूची हुँदैन । मनलागी विक्री गर्छन् । २०–२५ त नर्मल हो । ५० प्रतिशतसम्म दिन्छन् ।’ हाडजोर्नीमा यो प्रथा नौलो होइन् । कार्यरत चिकित्सक भन्छन्, ‘पहिलादेखि नै चलिरहेको छ । केहीले पाउँछन् । केहीलाई समूहगत इन्चार्जले कडाइ गर्दा खानै पाउँदैनन् ।’
हाडजोर्नी विभागकै फिजियोथेरापीमा १० वर्ष काम गरेर छाडेका एक फिजियोथेरापिष्टले पनि चिकित्सकले कमिसन खाने विषय सत्य भएको बताए । ‘तपाइलाई भर्खरै मात्र सूचना आएको हुनसक्छ । यो धेरैअघिदेखि चलिरहेको छ ।’ दावी गर्दै ती थेरापिष्ट भन्छन्, ‘त्यहाँ डाक्टरले भनेकै ल्याउनुपर्छ । जति पठाउँछन् । त्यसमा कमिसन हुन्छ ।’ यसविषयमा ग्रिन्सका बिक्रेता गुप्ताले आफूहरूलाई ८ देखि १० प्रतिशतसम्म मुनाफा हुने गरेको भन्दै मूल्य अभिवृद्धि कर (भ्याट) सहितको बिल देखाएका थिए ।
उनले देखाएको बिलअनुसार एउटा टाइटानियम पेडिकल स्क्रुको खुद्रा मूल्य ८ हजार पर्न जादो रहेछ । उनले कम्पनीले दिएको हुनसक्ने तर आफूले कमिसन नदिएको दावी गरे । ‘कम्पनीले उनीहरूसँग केही कमिटमेन्ट गरे होला ।’ उनले भने, ‘एकेडेमिक हिसावले उनीहरूलाई केही हेल्प पनि होला ।’ प्रतिष्ठान स्रोतका अनुसार हाडजोर्नीमा चलेका विशेषज्ञ चिकित्सकहरूले नै यो प्रथालाई कायम राखेका छन् ।
यसको अन्त्य हालसम्म भएको छैन । यसविषयमा विभागीय प्रमुख तथा प्रतिष्ठानका प्रवक्तासमेत रहेका डा. पशुपति चौधरीले कमिसन लिने कुरा नितान्त गलत कुरा रहेको बताए । उनले प्रमाण भए त्यस्ता चिकित्सकहरूलाई कारबाही गर्न आफू तयार रहेको बताए । उनले भने, ‘प्रमाण देखाउनुस् बिना प्रमाण कसैले भनेको भरमा लेख्दै हुनुहुन्छ भने त्यो कुरा वाहियात हो ।
उनले थपे, ‘केही व्यक्तिहरूले ध्वस्त गर्न लागेका छन् । त्यस्ताले नै यस्ता कुराहरू बाहिर ल्याएका छन् ।’ करिव दुई वर्षअघि यही विषयमा ब्लाष्ट दैनिकले समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि तात्कालीन समयमा विभागीय प्रमुखले इम्प्लान्ट बेच्ने आधिकारिक कम्पनीका बिक्रेतासँग मूल्यसूची माग गरेको थियो ।
उक्त मूल्यसूचीअनुसार बिरामीले जुन कम्पनीलाई रोज्छन् त्यहीअनुसार काम गर्ने भनेर निर्देशन दिइएको थियो । तर, उक्त मूल्यसूची केही समय नबित्दै एकाएक गायव भएको थियो । आम नागरिकले जान्न पाउने सूचनाको हकलाई चिकित्सकले नै मिलेर मूल्यसूची गायव गर्नुले पनि कमिसनको चक्कर पर्दाफास हुन्छ ।
कमिसनको खेलको अन्त्य गर्न प्रतिष्ठानका उपकुलपति तथा अस्पताल निर्देशकले पहल गरे मात्रै सम्भव हुने दाबी स्रोतको छ । यता प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले हालसम्म आफूहरू प्रमाण फेला नपरेकाले प्रमाण फेला परेमा कारबाही हुने दाबी गरे । उनले अगाडि भने, ‘प्रमाण छैन, हामीले पनि हल्ला सुनेका छौं । मेरो नोटिसमा छैन, यस्ता कुराको प्रमाण फेला पारे भने कारबाही अघि बढ्छ ।’