१. जमुना त्रिखत्री मोक्तान वडा सदस्य धरान– १८
— यो भूगोल हामी विभिन्न जातजातिहरूको बसोबास गरेको भूगोल हो । प्रदेशको नाम जातीय आधारमा नभएको नै ठीक लाग्छ । जातीयरूपमा प्रदेशको नाम राख्दा अन्य समुदायलाई असर पर्छ कि जस्तो लाग्छ । त्यही कारणले मलाई सगरमाथा राखे हुन्थ्यो जस्तो लाग्छ । सगरमाथाको विश्वमा पहिचान भएकाले सगरमाथा नै ठीक लाग्छ ।
— राजधानीको कुरो गर्दा मलाई चाहिँ खासमा धरान उत्तम लाग्छ । आफू बसेको भएर होइन विराटनगरमा सीमा सुरक्षाको कमि छ । इटहरी, विराटनगरभन्दा धरान सुरक्षित लाग्छ । सुरक्षाको दृष्टिले गर्दा धरान नै ठीक लागेको छ ।
२. भाषाविद् प्रा.डा. टङ्क न्यौपाने — मेरो विचारमा पृथ्वीनारायण शाहले एकीकरण गरेपछि वा पहिलेको इतिहासलाई हेर्ने हो भने पूर्वी प्रदेश भनेको किरात प्रदेश हो । वल्लो किरात, पल्लो किरात, माझ किरात भनिएको इतिहास पनि छ । लिम्बूहरूले किरात याक्थुम चुम्लुङ, याक्खाले किरात याख्खा छुम्मा भन्ने गर्छन् । राईले त किरात भनिहाले, किरात नाम राख्यो भने किरातीलाई सम्मान हुने र अन्य जातजातिलाई पनि मान्य हुनेछ । सुक्ष्म ढङ्गले जानुभन्दा व्यापक ढङ्गले जानुपर्दछ । व्यापक ढङ्गले जाँदा किरात प्रदेश नाम नै उपयुक्त हुन्छ । जसमा लिम्बुवान साथीहरूको अलिकति आपत्ति देखिएको छ । तर लिम्बू पनि त किरात हुन् नि, किरात भनेको जाति होइन सभ्यता र संस्कृति हो । इतिहासलाई हेर्ने हो भने लिम्बू शब्दभन्दा किरात शब्द पुरानो हो । किरात शब्दलाई चिनाइरहनु पर्दैन । यो गौरवमय संस्कृति पनि हो । त्यसैले मैले पहिलेदेखि नै भनिरहेको छु र अहिले पनि त्यही नै भन्दछु अरु नै नाम राखे पनि म विरोध गर्ने छैन मलाई त्यो पनि मान्य छ तर किरात नाम राख्दा उपयुक्त हुन्छ यसमा लिम्बू साथीहरूले पनि सहमति जनाउनुपर्छ ।
— राजधानीको कुरामा म अलिक फरक किसिमको छु । राजधानीका लागि आधार भन्छु राम्रा र नराम्रा पक्षमा । राजधानी हुने स्थानमा अनिवार्य एयरपोर्ट हुनुपर्दछ । कार्यालय राख्नका लागि भवनहरू हुनुपर्दछ र राजधानीमा सर्वसुगम व्यवस्था पनि हुनुपर्दछ । यो सकारात्मक पक्ष हो । सकारात्मक पक्षलाई हेर्दा विराटनगरलाई सङ्केत गर्दछ तर नकारात्मक पक्ष त्यहाँ के छ भने विराटनगरमा सुरक्षाको अभाव छ । सीमा सुरक्षाको चिन्ता छ । त्यो एउटामात्र नकरात्मक पक्ष हो विराटनगरका लागि । विराटनगरबाहेक धनकुटा हो अर्को विकल्प धनकुटामा भवन पनि छन् तर एउटा बाटो बिग्रियो भने बाटो बन्द भएर यातायातमा समस्या हुन्छ । त्यसलाई विगतमा पनि हामी सबैले देखेका छौं । धरानको त म कुरै गर्दिन किनभने एउटा बसपार्क व्यवस्थापन गर्न सकेको छैन । बाटो यति साँघुरो छ, सडकमा मोटरसाइकल र गाडी जाम हुन्छ । ट्राफिक व्यवस्थापन गर्न सकेको छैन, प्रदेशको राजधानीको ट्राफिक धरानले कसरी धान्न सक्छ ? त्यसकारण मेरो के कुरा हो भन्दाखेरि सीमा सुरक्षा व्यवस्थापन गर्नसके अहिलेलाई विराटनगर ठीकै छ । यदि विराटनगर हुँदैन भने दोस्रो विकल्प पनि छ । दोस्रो विकल्पमा बर्मा र पाकिस्तानबाट शिक्षा लिनुपर्छ । बर्मा र पाकिस्तानले अगाडि नै राजधानी नतोकी विकास गरिसकेपछि राजधानी तोकेको थियो । त्यसैगरी उक्त कुरालाई सिकेर पहिले नै राजधानी नतोकी भौतिक पूर्वाधारको विकास गर्ने, पाँच वर्षसम्म विकास गरेर उपयुक्त स्थानमा राजधानी तोक्न सकिन्छ । तत्काललाई चै विराटनगर नै ठीक छ । अनि अन्त्यमा राजधानी हुँदा के के नै हुन्छ भन्ने जनमानसमा भ्रम छ । यसमा म एउटा उदाहरण दिन्छु सुनसरीको राजधानी इनरुवालाई हेर्नुस त्यसपछि थाहा हुन्छ । राजधानी भएरमात्र विकास हुँदैन । इनरुवाभन्दा सुनसरीका अन्य क्षेत्र धरान, इटहरी बढी विकास भएका छन् । त्यसैले राजधानीको मुद्दालाई त्यत्ति पेचिलो बनाउनु पर्दैन । प्रदेश सरकारले जे निर्णय गर्छ सहर्ष स्वीकार्नु पर्छ ।