पानवारी/ धरान उपमहानगरपालिकाले कवाडीमा छुट्टै कर लगाएपछि कवाडी संकलन गर्नेहरु आफ्नो व्यवसाय बन्द गर्न बाध्य भएका छन् ।

उपमहानगरपालिकाले कवाडी कर भनि कवाडीको कारोबार भएमा कागजजन्य सामानमा प्रतिकिलो एक रुपैया, फलामजन्य सामानमा प्रतिकिलो तीन रुपैया, स्टिलजन्य सामानमा प्रतिकिलो दुई रुपैया, शिशाजन्य सामानमा प्रतिकिलो एक रुपैया र अन्य कवाडी सामानमा प्रतिकिलो २ रुपैया कर तोकेको छ ।

धरान उपमहानगरपालिकाले कवाडीमा तोकेको कर असुल गर्नको लागी टेण्डर समेत स्वीकृत गरीसकेको छ । तर ठेक्का सम्झौता भने भइनसकेको बरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीले बताए ।

कवाडीमा धान्नै नसकिने गरी अवैज्ञानीक कर लादिएको भन्दै कवाडी व्यवसायीहरुले त्यसको विरोधमा आफ्नो व्यवसाय नै बन्द गरेका छन् ।

गत असोज १० गतेदेखि धरान उपमहानगरपालिकालाई एक निवेदन पत्र दिएर कवाडीमा लगाएको कर नहटुन्जेलसम्म आफ्नो काम नै ठप्प पारेका हुन् ।

कवाडीको सामान संकलन गरी विक्री गर्ने काम गर्दै आएका धरानका ११ वटा कवाडी पसलले संयुक्त रुपमा काम ठप्प पार्दा कवाडीको संकलन गर्ने काम गर्दै आएका करिब २ सय ५० मजदुर बेरोजार भएका छन् ।

रिषु इन्टरप्राइजेज धरान–९ का सञ्चालक त्रिपुरारी प्रसाद जैसवालले भने हामीले आय करदेखि व्यवसाय कर तथा नगरपालिकालाई फोहोरबापतको कर समेत तिर्दै आएकोमा अहिले कवाडीको सामानमा प्रतिकिलोको दरले कर लादिदा व्यवसाय नै गर्न नसक्ने अवस्थामा पुगेको बताए ।

‘बिना जानकारी एक्कासी माल लोड गरिरहेको गाडी रोकेर कर असुल्न खोज्यो –उनले भने ।’ उनका अनुसार साइकलवाला (कवाडी संकलन गर्ने) सँग फलाम २३ रुपैया किलो किनेर २४ रुपैयामा बेच्ने गरिएको त्यस्तै, बोतल ३ रुपैया ३० पैसा प्रति गोटा खरिद गरी ३ रुपैया ७० पैसामा विक्रि गरिने, कागज प्रतिकिलो १० रुपैयामा खरिद गरी ११ रुपैयामा विक्री गरिने तथा प्लाष्टिकजन्य सामान प्रतिकिलो १५ रुपैयामा खरिद गरी १७ रुपैयासम्ममा विक्री गरिदै आएका छौँ ।

धरान उपमहानगरपालिकाले अव्यवहारिक कर लगाएको भन्दै गत असोज ९ गते विक्रीका लागी लोड गरिएको सामान समेत अनलोड गर्नुपरेको गुनासो व्यवसायीले गरेका छन् ।

यता कवाडी संकलन गर्ने मजदुरहरु भने १२ दिनदेखि कवाडी बिक्री नहुँदा भोकभोकै बस्ने अवस्था आइपरेको गुनासो गरेका छन् ।

कवाडी संकलक राजकुमार चौधरीले भने –‘दैनिक ३ सयदेखि ५ सयसम्म कमाइ हुन्थ्यो र त्यसैले छोराछोरीलाई खुवाउने तथा पढाउने गरिरहेको थिए तर अहिले धेरै दिन भइसक्यो कवाडी सामान बिक्रि नभएको जहान छोराछोरी कसरी पाल्ने होला ?’

धरान उपमहानगरपालिकाका प्रबक्ता तथा २० नं.  वडाका वडाध्यक्ष मणीराम राईले कवाडीमा लगाइएको करको बारेमा के गर्ने भनेर छलफल भइरहेको बताए ।

उनले करको विषयमा विवाद मिलाउन बनेको समितिले नै यसको विषयमा समेत छलफल गरेर टुंगोमा पुग्ने बताए ।

कर सुझाव कार्यदलका सदस्य समेत रहेका धरान १५ नं. वडाका वडाध्यक्ष नरेश इवारमले भने कवाडीको मात्र नभइ अहिले विवादमा आएका थुप्रै विषयलाई एकैपटक समाधान गर्ने गरी काम अगाडी बढीरहेको बताए ।