दमक/दमक नगरपालिकाले डेङ्गू नियन्त्रणमा लागि छुट्याएको बजेट सकिँदा पनि डेङ्गू नियन्त्रणमा आउन सकेको छैन ।
दमक नगरले महामारी रोग नियन्त्रणका लागि यसवर्ष ५ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ ।
जसमध्ये डेङ्गू नियन्त्रणका लागि १ लाख रूपैयाँ बजेट खर्च गरिएको थियो । डेङ्गुका लागि छुटिएको बजेट भत्ता वितरणमै सकिएको छ ।
दमक नगरपालिकाले असोज ५ देखि ८ गतेसम्म डेङ्गु नियन्त्रण गर्न भन्दै अभियान चलाएको थियो ।
अभियानका लागि खटिने जनप्रतिनिधि तथा स्वास्थ्य स्वयमसेविकाहरूलाई अभिमुखीकरण तालिम गराइयो ।
दमक नगरका प्रमुख, उप–प्रमुख , कार्यपालिका सदस्य, दमकका तीन वटा स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम्सेविका गरी २५ जना सहभागी भए । सहभागीहरूलाई ७ सयको दरले भत्ता वितरण गरिएको थियो ।
तालिमपछि ४ दिन डेङ्गु नियन्त्रण भन्दै २० देखि २५ जनाको टोली हिड्यो । टोलीले जनही सात सय रूपैयाँको दरले नै भत्ता बाडियो ।
तर, पनि डेङ्गु नियन्त्रण हुन नसकेको उपभोक्ता बताउँछन् । दैनिक बिहान कसरतका लागि निस्किने दमक–५ का राजनारायण खड्का लामखुट्टेबाट हैरान हुने गरेका छन् ।
उनले लामखुट्टे नियन्त्रण आउनुको सट्टा बढिरहेको गुनासो गरे । सडकको किनारमा हुने गरेको फोहोर राजमार्गको छेउमा रहेका अव्यवस्थित टायरहरू, जताततै प्लाष्टिक तथा अन्य नकुहिने सामाग्रीहरूमा डेङ्गु बस्ने गरेको छ ।
फुटपाथमा व्यावसाय चलाउँदै आएका सौरव मण्डलले पनि लामखुट्टेको विगविगी देख्दा डेङ्गु नियन्त्रण नआएको हो कि भन्ने उनलाई लागेको छ ।
केही वर्षयता झापामा महामारीका रूपमा डेंगू रोग देखिएको भए पनि अझै नियन्त्रणमा आउन सकेको छैन ।
गतवर्ष जिल्लामा २ सय जना भन्दा बढीमा यो रोगको संक्रमण देखिएको थियो । झापामा सन् २०१२ देखि डेंगु रोगको संक्रमण देखिएको दमक नगरपालिकाका जनस्वास्थ्य प्रमुख इन्द्र अर्यालले बताए ।
स्थानीय सरकारले डेंगु नियन्त्रणमा खासै ध्यान नदिएको भन्दै नगरवासीहरू निकै आक्रोशित बनेका छन् ।
२०७३ सालमा झापामा महामारीकै रुपमा डेंगू देखिएको थियो । नियन्त्रणमा पहल नगर्दा ०७४ मा पनि यो समस्या बल्झिएको थियो ।
०७३ मा दमक तथा आसपासमा बढि संक्रमण देखिएको थियो भने गत वर्ष विर्तामोड तथा आसपासका क्षेत्रमा डेंगू संक्रमित बढि भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
पुराना गाडीको टायरमा जमेको पानीबाट ‘एजिव एजिप्टाई’ जातको संक्रमित पोथी लामखुट्टेले लार्भा उत्पादन गर्ने गरेको भेटिएको छ ।
अघिल्लो वर्ष दमकमा मात्र विभिन्न अस्पतालमा दैनिक ५ जनाभन्दा बढी डेंगुका बिरामी आउने गरेको दमक जनस्वास्थ्य कार्यालयको भनाइ छ ।
दमकसँगै गौरदह, झिलझिले, बिर्तामोड, काकडभिट्टा, सुरुङ्गा, भद्रपुर, लगायतका क्षेत्रमा पनि यसको सङ्क्रमण देखिएको स्वास्थ्यकर्मी बताउँछन् ।