केही वर्षयता एसिडलाई तेजिलो हतियारको रुपमा प्रयोग गर्ने गरेको पाइएको छ ।

एसिडले आक्रमण गरेका घटना नेपालमा मात्र होइन संसारभरि नै भएको देखिन्छ ।

प्रहरीको पञ्जीकरण अनूसार नेपालमा सन् २०१० देखि २०१७ सम्ममा एसिड खन्याइएका विभिन्न घटनामा २४९ जना मानिस शिकार भएका छन् ।

सीएनएनले जनाएअनुसार लण्डनमा मात्र सन् २०१५ मा २५५,२०१६ मा ३९५ र २०१७ मा ४६५ वटा एसिड आक्रमणका घटना भएका थिए ।

विगत वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा घटनाको संख्या वृद्धि भएको छ । एसिड बोक्न पनि सजिलो छ,जतासुकै किन्न पनि पाइने र निशाना पनि सफल हुने ।

किनबेचमा कुनै व्यवधान पनि नभएको हुनाले पनि एसिडलाई सजिलो र गतिलो हतियारको रुपमा प्रयोग गर्ने क्रम बढेको स्थिति छ ।

यो हतियार अरु वारुदजन्य हतियार जस्तो आवाजप्रदायक पनि छैन । यसको अम्लियपनाका आधारमा कार्यशक्ति निर्धारण भएको हुन्छ ।

शक्तिशाली थोरै मात्राले पनि पुरा शरीर क्षणभरमा ध्वस्त पारिदिन सक्छ ।  वास्तवमा एसिड वा अम्ल वा तेजाब एउटा वहुउपयोगयी रासायनिक पदार्थ हो ।

तर,यो स्वास्थ्यका लागि साह्रै हानिकारक पनि हो । यसलाई छुन र चलाउन पनि पर्दैन बाफले नै पनि असर गरिरहेको हुन्छ ।

एसिड उद्योगहरुमा बढी परिमाणमा प्रयोग गरिन्छ ।

रासायनिक मल बनाउने काममा, डिटरजेन्ट बनाउने,रंगहरु उत्पादन गर्ने कारखानामा एसिडको औधि प्रयोग हुन्छ ।

साथै ब्युट्रिकाे आधारवुस्त’ नै एसिड हो ।

त्यति मात्र होइन रासायनिक विज्ञानका प्रयोगात्मक कक्षा एसिड प्रयोग नहुने शायदै होलान् ।

विद्यालय तहदेखि उच्च शिक्षाका रसायनशास्त्रका सबै प्रयोगशालामा विभिन्न प्रकारका एसिडहरु अनिवार्य मानिन्छन् ।

९० प्रतिशत परीक्षणहरु पुरा गर्न एसिड चाहिन्छ ।

सुनलगायत अन्य धातुको शुद्धिकरणका लागि एसिड चाहिन्छ । प्रकृतिमा पाइने मानिसलाई नभई नहुने धातुहरु प्राय अन्य वस्तुहरु मिसिएका अशुद्ध हुन्छन् ।

सुनलाई शुद्ध पार्न चलाइने एसिड सल्फ्युरिक एसिड(एक्वारेजिया) हो । यसको घोलमा डुबाएर मिश्रित अन्य पदार्थबाट मुक्त गराई शुद्ध सुन निकालिन्छ ।

विद्युत उर्जाको विकल्पको रुपमा लिइने ब्यट्रिमा पनि सल्फ्युरिक एसिड प्रयोग गरिन्छ ।

यो एसिडको माग विश्व बजारमा निकै बढेको छ ।

एक प्रतिवेदनका अनुसार सन् २०११ मा सल्फ्युरिक एसिडको मात्र बीस करोड लिटर उत्पादन भएको थियो ।

बढी चल्तीमा रहेका एसिडहरुमा सल्फ्युरिक एसिड,हाइडूोक्लोरिक एसिड,नाइटिूक एसिड,हाइडूोजन ब्रोमाइड आदि हुन् ।

यिनीहरु अकार्बनिक अम्ल हुन् । रसायन विज्ञानका विज्ञहरुका अनुसार एसिडको क्रियात्मक शैली नै आक्रमक हुन्छ ।

रासायनिक गतिविधिलाई क्षणभरमा उलटपुलट पारिदिन्छन् ।  चलनचल्तीमा दुई स्वरुपमा एसिड रहन्छन् ।

एउटा कन्सन्ट्रेटेड पानी नमिसाइएको(कडा) र अर्को चाँहि डाइलुट-पानी मिसाएर पातलो बनाएको(नरम) ।

पानी नभएको धेरै कडा हुन्छ,राखिएको भाँडोको बिर्को खोलिदिँदा पतपत धुवा आउन थाल्छ ।

किनभने यसले हावामा भएको पानीलाई पनि सोझै सोसिदिन्छ वा बाफ बनाइदिन्छ ।

एसिड खासमा प्रकृतिमा रहेका भुगर्भीय पदार्थबाट बनिने हुन् ।

आवश्यकताका आधारमा तिनीहरुलाई विभिन्न कडापनमा रुपान्तरण गरिएको हुन्छ । आजकाल कृत्रिम तरिकाले पनि बनाउने गरिएको छ ।

कडा एसिडले शरीरको कुनै भाग मात्र छोयो भने क्रमशः तन्तुलाई जलाउँदै, नष्ट गर्दै शरीरभित्र प्रवेश गर्छ ।

भित्र रहेका संवेदनशील अंगहरुलाई यही क्रमले नाश गरेपछि मानिसको मृत्यु हुन्छ ।

यसलाई लुगा कपडाले पनि छेक्न सकिँदैन । यस्तै किसिमले कपडा, कागज,जुत्तालाई काटिदिन्छ ।

शरीरमा यो रसायन पसेपछि सहनै नसकिने गरी पोल्छ । आक्कल-झक्कल जीउमा पर्यो भने यसको प्राथमिक उपचार पानीले धुनु नै हो ।

पुरा शरीरभरि फैलिएको भए त अस्पतालको विकल्प पनि हुन्न ।

यसको बाफले नै स्वासमार्फत भित्र छिरेर नजानिदो तरिकाले असर पुर्याइरहेको हुन्छ ।

तसर्थ प्रयोगशाला, कारखानातिर प्रयोगकर्ताहरुले जीउ जोगाउन धेरै सावधानीका उपायहरु अपनाएका हुन्छन् ।

धातुका भाँडाकुँडाका लागि त एसिड ठूलो शत्रु रसायन हो । यसले धातुलाई खियाइदिन्छ ।

त्यसैले यसलाई प्लाष्टिक वा शिशाको भाँडामा राख्ने गरिन्छ ।

एसिड हुुन त हाम्रै जीउभित्र पनि छ । हाम्रो अमाशायमा पिएच मान एकदेखि ३ दशमलव ५ भएको हाइडूोक्लोरिक अम्ल छ ।

पिएच मान सातभन्दा तल भएको पदार्थ अम्ल हो । जति यो मान सानो हुन्छ उति कडा अम्ल भन्ने बुझ्नुपर्छ ।

अमाशायमा भएको अम्ललाई हातमा राख्ने हो भने हातलाई दुलो पारिदिन्छ । तर पेटभित्र यसको काम सकिनेबित्तिकै पित्तरस र म्युकसले तथष्ट पारिदिन्छन् ।

यसले खाइएका जीवित वस्तुलाई मार्ने र खानेकुरालाई टुक्र्याउने काम गर्छ । यो एसिड खपत हुन सकेन भने ग्यासट्राइटिस र अल्सर हुनजान्छ ।

हाम्रो शरीरको बनावटको आधारशिला नै अम्ल हो भन्दा फरक पर्दैन । तर शरीरमा रहने अम्ल कार्वनिक हुन् ।

यिनीहरु घातक हुँदैनन् बरु फाइदाप्रद हुन्छन् । आनुवांशिक पदार्थहरु डिएनए र आरएनको बनावटमै एसिड हुन्छ ।

एमिनो एसिड,फ्याट्टी एसिड,न्युक्लिक एसिड आदि शरीरका वाञ्छिनीय अवयवहरु हुन् ।

खाद्यवस्तुमा पनि त एसिड हुन्छ । जस्तैः प्रायजसो भिटामिनमा यो पदार्थ मिसिएकै हुन्छ ।

काँचो आँपमा टारटारिक अम्ल हँन्छ भने कागती सुन्तला आदिमा साइट्रक अम्ल ।

त्यसैगरी गोलभेँडामा अक्जालिक अम्ल हुन्छ त अमलामा एस्कर्विक अम्ल । चिसो पेय पदार्थ कोलामा फोस्फोरिक अम्ल हुन्छ भने अचार चुक आदिमा भिनेगार हुन्छ ।

यँहा जुन हतियारको रुपमा एसिड प्रयोग हुँदैछ,यसले झन्झन् विकराल रुप लिन्न भन्न सकिन्न ।

यो न विष्फोटक पदार्थ हो न अन्य उपयोग नभएको ।

अनि त, यसको ओसारपसार व्यापारमा प्रतिबन्ध लगाउन पनि अव्यवहारिक हुने ।

त्यसैले नियमनकारी निकायबाट कम्तीमा एसिडको कारोबार गर्न अनिवार्य अनुमतिपत्रको व्यवस्था गरिनुपर्छ ।

किन्नेको पनि विवरण र प्रयोजन खुलाएर रेकर्ड गर्नु पर्छ । खुल्ला रुपमा र थोरै मात्रामा बिक्री गर्न नपाउने व्यवस्था गर्न जरुरी देखिन्छ ।

अरु देशमा पनि त्यस्तो बलियो कानुन यस सन्दर्भमा बन्न सकेका छैनन् ।

नेपालमा यससम्बन्धी विधेयक संसदबाट पास भएको छ ।

जसअनुसार एसिड र अन्य हानिकारक रसायनले प्रहार गरी घाइते बनाएमा पाँचदेखि आठ वर्षसम्म जेल सजाय र एक लाख देखि तीन लाख रुपैयासम्म जरिवानाको व्यवस्था छ ।

यदि आक्रमणबाट मृत्य’ भएमा ज्यान मुद्दा लाग्ने छ ।

रामचन्द्र अधिकारी , मो. नं. ९८५२०३४६१५ उपप्राध्यापक,त्रिभुवन विश्वविद्यालय,प्राणीशास्त्र विभाग,स्नातकोत्तर क्याम्पस विराटनगर । (स्वतन्त्र र वातावरण पत्रकार)