भद्रपुर । सरकारले किसानलाइ मध्यनजर गरी दुइवर्ष अघि मेसिनको प्रयोगबाट सञ्चालनमा ल्याएको धान खेतीमा किसान सन्तुष्ट रहेको जनाएका छन् । झापाको दक्षिणी क्षेत्र कचनकवल गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपरजोनको प्रत्यक्ष निगरानीमा सयौ विगाहा जमिनमा लगाइएको विभिन्न जातका धानले किसानको मन जितेपछि उनहिरु सन्तुष्ट भएका हुन् । उन्ननत प्रविधि प्रर्दशनी फिल्ड अवलोकनको क्रममा परियोजनाका निर्देशक लक्ष्मण प्रसाद पौडेल,कृषि विकास निर्देशनालय प्रदेश १ संयोजक बेनु प्रसाद प्रसाई,कृषि व्यवसाय सहयोग तथा तालिम केन्द्र १ नम्बर प्रदेश प्रमुख वासुदेव काफ्ले,प्रदेश सांसद बसन्त कुमार वाँनिया,प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल,परियोजना वनियानीका प्रमुख मेघनाथ तिमल्सेना लगायतको टोलीले अवलोकन पश्चात गरेको अन्र्तक्रिया कार्यक्रममा किसानहरुले यस्तो खुसी व्यक्त गरेका हुन् । टोलीले मेसिनको प्रयोगबाट किसानले लगाएको छरुवा,ड्रम सिडर,सिडड्रिल,धान रोप्ने मेसिनको प्रयोग तथा रिपर(मेसिनबाट धान काटेको) समेत प्रविधिको अवलोकन गरेका थिए । टोलीले कचनकवल गाउँपालिका र भद्रपुर नगरका केही वडामा अवलोकन गरेको थियो । अवलोकनपश्चात गरेको अन्र्तक्रिया कार्यक्रममा किसान चिन्तामणि खरेलले मेसिनको प्रयोगबाट लागत रकम घटेसँगै उत्पादन बढेकोमा खुशी जनाए । छरुवा प्रविधिबाट लगाइएको गरिमा , सुख्खा ३ जातको धान अहिले धमाधम काट्न शुरु गरिएको उनले बताए । हातको प्रयोगबाट एक विगाहामा १० हजार लागत लाग्दै आएकोमा मेसिनको प्रयोगबाट २५ सय मात्र लागत लागेको हरित कृषक समूहका कन्हैयालाल गणेशले बताए । गरिमा र सुख्खा३ जातको धान काट्न शुरु गरिएको उनले जनाए । मेसिनको प्रयोगबाट किसान सन्तुष्ट भएको परियोजनाका वनियानी प्रमुख तथा बरीष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले बताए । कचनकवलमा साँढे ९ हजार हेक्टरमा यो पटक धान खेती लगाइएको उनले जानकारी दिए । पहिलो वर्षमा अलिक झन्झटीलो मानेका किसानले यो वर्षबाट मेसिनको प्रयोगलाइ आवश्यक्ताको रुपमा लिएर धान खेती गरेको उनको भनाइ छ । यता कचनकवललाइ सरकारले धान सुपरजोन घोषणा गरेपनि त्यो क्षेत्रमा आधादर्जन जति इँटा उद्योग सञ्चालनमा रहेकोले सुपरजोनलाइ चुनौती भने बढेर गएको जानकारहरु बताउँछन् । इँटाबाट निस्कने कँणले धानखेती लगायत स्वास्थ्यमा असर पुर्याउने उनिहरु जनाउँछन् ।