- धरानमा खानेपानी आयोजना र खानेपानी संस्थानको द्वन्द्वले पानी वितरण भएन
धरान / एडिबीको सहयोगमा निर्माण भएको धरान खानेपानी आयोजनाले अहिले दैनिक एक करोड ६ लाख लिटर पानी उत्पादन गर्न सक्छ । तर, समयमा नै वितरण प्रणाली निर्माण नगर्दा उपभोक्ताले भने उपयोग गर्न पाएका छैनन् । आयोजनाका अनुसार हाल ४ वटा ट्युबेलबाट भूमिगत स्रोतको पानी डिजाइन गरेको लक्ष्यभन्दा बढी उत्पादन भएको छ । चारकोसे जंगलस्थित चारवटा ट्युबेलबाट प्रतिदिन ८० लाख लिटर र कुम्भीआहालस्थित तीनवटा ट्युबेलबाट प्रतिदिन २६ लाख लिटर पानी उत्पादन भइरहेको छ । तर, एउटा सबसिस्टमबाट पानी उपभोक्ताको घरमा पुगे पनि अन्यवटा सबसिस्टमबाट पानी वितरण हुन सकेको छैन । आयोजनाले हाल रेलवे सबसिस्टमबाट खानेपानी वितरण सुरु गरेको छ । अन्य तीनवटा सबसिस्टम बने पनि मुख्य लाइनमा इन्टरकनेक्सन छैन । अरू दुईवटा सबसिस्टमका लागि चाहिने रिजर्भ वेयर विवादका कारण बन्नै सकेको छैन । पञ्चकन्या जंगलक्षेत्रमा बनाउने भनिएको रिर्जभ वेयर ट्याङ्की केही जातीय संस्थाहरुको चर्को विरोधका कारण बन्न सकेको छैन् ।
पिण्डेश्वर, सुम्निमा र फुस्रे सबसिस्टमको निर्माण सकिए पनि खानेपानी संस्थानसँग इन्टरकनेक्सन नहुँदा आपूर्ति नभएको परियोजनाका व्यवस्थापक इन्जीनियर राजु पोखरेलले जानकारी दिए । सो आयोजना एसियाली विकास बैंक एडिबीको करिब सवा दुई अर्ब रुपैयाँमा बनिरहेको हो । तर, खानेपानी आयोजनामा अनियमितता भएको भन्दै छानबिनको माग उठ्न थालेको छ । अक्टोबरमा सकिनुपर्ने आयोजना नसकिएपछि एडिबीले थप लगानी नगर्ने बताइसकेको छ । यस विषयमा प्रदेश सभा बैठकमा समेत सांसदहरुले अनुगमन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराईसकेका छन् । आयोजना अलपत्र पर्ने अवस्था आएपछि सरोकारवालाले छानबिनको माग गरेका छन् । प्रदेश सभाको वर्षे अधिवेशनको अन्तिम दिन मंगलबार सांसदले पनि शून्य समयमा सो खानेपानी आयोजनाको छानबिन गर्न माग गरे । मोरङका समानुपातिक सांसद लोकप्रसाद संग्रौलाले शून्य समयमा बोल्दै आयोजनाको डिजाइनअनुसार खानेपानी उत्पादन र आपूर्ति गर्न नसकेको बताए । विदेशी दाताहरूबाट आएको ठूलो बजेट सही रूपमा सदुपयोग नभएको जानकारी आफूले पाएको उनले बताए । नेपाल खानेपानी संस्थानको शाखा धरानमा रहेको छ । संस्थान र नयाँ आयोजनाको खानेपानी बोर्ड विच द्वन्द्वका कारण उपभोक्ताले सहज रुपमा खानेपानी उपभोग गर्न पाएका छैनन् । संस्थानको सम्पति हस्तान्तरणमा समस्या भएका कारण संस्थाको इन्टेकमा इन्टरकनेक्सन जोडेर वितरण गर्न समास्या हुदै आएको आयोजनाले जनाएको छ ।