यसपालिको दशैंदेखि विशेषतः बालबालिकालाई यस्तो आशिष दिँदा कसो होला ?
‘पढाइमा फस्ट भएस्, डाक्टर–इञ्जिनियर बनेस्, ठूलो मान्छे बनेस्, कहिल्यै दुःख नपरोस्, चिरायु भएस्, हिँड्दा ठेस नलागोस्, नुहाउँदा केस नझरोस्, कुनै रोग नलागोस् !’
मैले हजुरबा, हजुरआमा, आमा, बा, मामा, माइजू आदिबाट सानैदेखि माथिका आशिर्वाद निरन्तर पाउँदै आएको छु ।
यस्तो आशिर्वाद दशैंमा जति घरमा टीका थाप्न जान्थेँ, ती सबै घरमा पाउँथेँ । ठूलालाई भेटेपछि नमस्कार, ढोग गर्ने, आदर सम्मान गर्ने र त्यसको बदलामा आशिर्वाद थाप्ने हाम्रो सांस्कृतिक परम्परा नै हो ।
त्यस्तो परम्पराप्रति मेरो पूर्ण सम्मान छ । यो सानो लेखमा चाहिँ अग्रज या ठूलाले सानालाई दिने आशिर्वाद र त्यसमा अन्तरनिहित विषयले कस्तो शिक्षा दिइरहेछ भन्ने विषयमा चर्चा गर्ने जमर्को गरिएको छ ।
माथि उल्लेख गरिएको पहिलो आशिर्वाद ‘पढाइमा फस्ट भएस् !’ सायद नेपाली समाजमा सर्वाधिक प्रचलित आशिष हो ।
यो आशिषमा अभिभावक वा वयस्कको चाहना, रहर र अलि कठोर रूपमा भन्नुपर्दा ‘पढ्ने जति सबै मानिस ‘फस्ट’ हुनुपर्दछ’ भन्ने अतिवादी सोच लुकेको पाइन्छ ।
अर्को शब्दमा, पढ्नु भनेकै फस्ट हुनका लागि हो भन्ने सन्देश पनि यसभित्र छिपेको देखिन्छ ।
के शिक्षा भनेको कक्षामा फस्ट हुनु मात्रै हो त ?
यदि पढाइमा दोस्रो वा तेस्रो भइयो भने आशिर्वाद दिने मान्यजनको मापदण्डभन्दा कमजोर भइन्छ ?
त्यसैले दोस्रो हुनेलाई पुनः आशिर्वाद दिइन्छः ‘दोस्रो त भएछौ अब अर्कोपालि फस्टै हुनुपर्छ है !’अर्थात् हामी दोस्रो हुनुलाई कुनै उपलब्धि नै मान्दैनौं किनभने ऊ फस्ट भएन ।
५० जना पढ्ने कक्षामा फस्ट हुने त एक जना मात्र हो तर वयस्कको नजरमा अरू ४९ जना बालबालिका असफल ठहरिन्छन् ।
अझ फस्ट हुनेलाई पनि हाइसन्चो हुँदैन ।
किनकि उसलाई पनि सायद भनिन्छ, ‘फस्ट एकचोटि भएर पुग्दैन, सधैँ हुनुपर्छ ।’ फस्ट नहुनेलाई त झन् ‘फलानो कसरी फस्ट भयो, उबाट सिक्, तैंले पनि उसको जस्तो मिहिनेत गर्नु पर्दैन ?’ भनेर तुलना गरिन्छ ।
यसरी आशिर्वाददाताले शिक्षाको न्यूनतम् मापदण्ड सिर्जना गरिदिन्छ, ‘पढ्नु भनेको फस्ट हुनु हो ।’ यस्तो आशिर्वादले फस्ट हुने विद्यार्थीबाहेक अरूमा तनाव पैदा हुन्छ ।
आफू कमजोर, अक्षम हुँ भन्ने मानसिकताको विकास गरिदिन्छ । शिक्षा भनेकै फस्ट हुनु हो भनेर मनमा जरा गडाइदिन्छ ।
प्रथम नभएको कारण मैले पनि धेरैपटक आशिर्वादको बहानामा व्यङ्ग्यात्मक गाली खाएको छु— लाखौं अरू बालबालिकाले झैं ।
व्यङ्ग्य, घोचपेच, अरूसँगको तुलना र पढेर प्रथम हुनु नै लक्ष्य बनाउनु असल संस्कृतिको उद्देश्य हुन सक्दैन । यसैले हामीले यस्तो परम्परालाई फेर्नुपर्छ कि ?
‘बाबू तँ डाक्टर, इञ्जिनियर बनेस्’ भन्ने आशिर्वाद हाम्रो समाजमा झन्–झन् प्रचलित हुँदै गइरहेछ । यसले अर्को मापदण्ड सिर्जना गर्छ— ‘गतिलो मानिस हुनु भनेको डाक्टर, इञ्जिनियर हुनु हो ! अरू त गतिलो हुन नसकेर पो अन्य पेशामा गएका हुन् ।
सफल, शिक्षित मानिस त डाक्टर, इञ्जिनियर नै बन्छन् !’ २०६५ तिर जुम्लाको विकट गाउँमा मैले कक्षा ९ मा पढ्ने एउटा गरिब विद्यार्थीलाई ‘तिमी के बन्ने ?’ भनेर सोध्दा उत्तरमा डाक्टर बन्ने भनेर जवाफ दिएका थिए ।
उनलाई पनि डाक्टरभन्दा सानो हुनु भनेको मानिस हुनु हो भनेर सिकाइएको थिएन सायद । त्यहाँ धन्न, एक जना बालिकाले भनिन्, ‘म शिक्षक बन्छु ।’ सायद उनलाई ‘पढेर मास्टरनी बनेस् !’ भनेर आशिष दिइएको थियो कि ?
अध्ययनले भन्छ, हाम्रा विद्यार्थी गणित र विज्ञानमा कमजोर छन् तर पनि उनीहरू भन्न छाड्दैनन्, ‘म डाक्टर वा इञ्जिनियर बन्छु ।’
आशिर्वादको प्रभाव र सामाजिक दबावले गर्दा अरू विषयमा राम्रो क्षमता र दक्षता हुँदाहुँदै पनि ‘म डाक्टर बन्छु’ भन्न छाडेका हुँदैनन् उनीहरूले ।
सायद ‘फस्ट हुनु’ भन्ने आशिर्वादभित्र पनि यही डाक्टर वा इञ्जिनियर बनाउने दमित इच्छाले काम गरेको हुन सक्दछ ।
नेपाली बालबालिका पनि वर्षमा केही सयको संख्यामा डाक्टर, इन्जिनियर बन्छन् । तर लाखौं विद्यार्थी, जो वयस्कको आशिर्वाद अनुसार डाक्टर वा इञ्जिनियर बन्न सक्दैनन् वा बन्न चाहँदैनन् उनीहरूका लागि त यो आशीर्वाद एउटा बोझ् शिवाय केही होइन ।
सानैबाट बालबालिकालाई हामीले किन यस्तो बोझ् बोकाइरहेछौं ?
तेस्रो आशीर्वाद, ‘ठूलो मान्छे बनेस्’ ले मानिसलाई अर्को अपेक्षाको मापदण्डमा खडा गराउँछ । पढाइमा फस्ट हुने र डाक्टर वा इञ्जिनियर हुने भनेकै ठूलो हुनका लागि हो ।
‘मान्छे भनेको ठूलो मान्छे’ अर्थात् सामान्य मान्छे हुनुको कुनै तुक छैन । किसान, भरिया, हली, लाठे, विपन्न, कमजोर र पछाडि परेका मानिस सामान्यतया ‘ठूला मान्छे’ को कोटिमा पर्दैनन् ।
हामी ‘ठूला मान्छे’ भन्ने बित्तिकै आर्थिक रूपले सम्पन्न, जातीय रूपले उच्च कुलको, शक्तिको नजिकमा रहेको, शिक्षा आर्जन गरेको, अरूलाई नियन्त्रण गर्न र परिचालन गर्न सक्ने मानिस भन्ने बुझ्छौं ।
यस्ता मानिसले आफूलाई आम मानिसभन्दा माथि ठान्ने गर्दछन् । स्रोत र साधनमाथि उनीहरूकै नियन्त्रण हुन्छ । उनीहरूले आफ्नो स्वार्थका लागि शक्तिको उपयोग वा दुरुपयोग गर्न सक्दछन् ।
यसरी हेर्दा ‘ठूला मान्छे’ हरू असल मान्छेभन्दा आधारभूत रूपमा भिन्न देखिन्छन् । ‘ठूला मान्छे’ मा असल मान्छेमा जस्तो नैतिकता, आदर्श, इमानदारी, सदाचार, विवेक आदि नभए पनि खासै फरक पर्दैन ।
हाम्रा आशिर्वादको माध्यम्बाट असल मान्छेभन्दा पनि सामन्ती सोचयुक्त ‘ठूला मान्छे’ निर्माणमा योगदान पुगेको पो छ कि ? सोच्नुपर्ने भएको छ ।
यसकै फलस्वरूप ठूला भनिएका मानिस शोषक र शासक बन्ने अनि आम मानिस शोषित र शासित बन्नुपर्ने अवस्थाले निरन्तरता पाइरहेको पो हो कि देशमा ?
अहिले भनिएको विभेदीकरण, असमानता र शोषणमा कतै हाम्रा यस्तै परम्पराको योगदान त छैन ? यस प्रकारका ठूला मान्छे बन्ने–बनाउने स्वार्थले गर्दा समाजमा भ्रष्टाचार, अनाचार र धनी–गरिबबीचको खाडल बढाएको त हैन ? यस विषयमा घोत्लिनु आवश्यक भएको छ ।
‘कहिल्यै दुःख नपरोस्’ भन्ने आशिष अर्को काल्पनिक संसार हो । सुख र दुःख मानिसका फगत् कल्पना हुन् । लामो आशिर्वाद दिएर २५ पैसे ढ्याक दिनेले भन्दा आशिषबिनै १ रुपैयाँको नोट दिनेले बढी खुशी तुल्याउँथे मलाई सानोमा ।
जे भए पनि यस्तो आशिष किन दिनु जुन कुनै पनि हालतमा सम्भव छैन ।
किनकि हामीलाई थाहा छ, सुख र दुःख जीवनका अभिन्न अङ्ग हुन् ।
यसको सट्टा मानिसलाई दुःखको सामना गर्ने, दुःखबाट सिक्ने र दुःखलाई सुखमा बदल्ने शक्ति प्राप्त होस् भनेर आशिष दिइनु बढी बुद्धिमानी हुन्छ कि ?
दुःखबाट भाग्ने मानिसभन्दा दुःखका कारण पहिचान गरेर सोको सामना गर्ने मानिस बढी सुखी हुनसक्छ ।
हाम्रा आशिर्वादहरूको सरसर्ती विश्लेषण गरेर हेर्दा त्यसभित्र निहित अशान्तिका कारकलाई पनि देख्न सकिन्छ ।
हामीले सबैलाई फस्ट होऊ, डाक्टर, इञ्जिनियर बन, ठूला मान्छे बन, दुःख नहोस् भनेर दिइने आशिर्वादको माध्यमबाट बालबालिकाका लागि मापदण्ड सिर्जना गरिरहेका छौं कि ?
यसले कतै हाम्रा सन्तति र बालबालिकालाई हिंस्रक, अशान्त र विभेदकारी बनाउन सहयोग त गरेको छैन ?
यस बारेमा मनन् गर्नु जरूरी छ । आशिर्वादको नाममा लुकेका अशान्ति र दुःखका कारक पक्षहरूलाई समयमै चिनेर त्यसमा समयअनुसार परिवर्तन गर्ने हो भने मात्र हामीले नयाँ शान्ति संस्कृतिको विकास गर्न सक्छौं ।
निधारभरि अक्षता टाँसेर अक्षताकै संख्यामा आशिर्वाद र आशिषको खोलो बगाउने चाड दशैं नजिकै आउँदैछ ।
टीका र जमराको तयारी गर्दै गर्दा दशैंका आशिषलाई समयसापेक्ष, समाजोपयोगी र यथार्थपरक तुल्याउने बारे पनि केही सोच्न थाल्नु सान्दर्भिक नै हुनेछ ।
यसपालिको दशैंमा विशेषतः बालबालिकालाई यस्तो आशिष दिँदा कसो होला ?
धेरै पढेर असल र ज्ञानी मान्छे बन्नु, सरस्वती सधैँ दाहिना रहुन्, लक्ष्मीले साथ दिउन्, दुःखमा नआत्तिनु, सुखमा नमात्तिनु, सबैको कामलाई सम्मान गर्नु, सबैलाई समान व्यवहार गर्नु, दुःखीको सेवा र गरिबलाई सहयोग गर्नु, आफूभन्दा सानालाई स्नेह गर्नु र ठूलालाई आदर–सत्कार गर्नु, जति बाँच्छौं हाँसेर–हँसाएर बाँच्नू ।
दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् !