यासोक/खानेपानी किनेर दशैं मनाउने गरेको कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर पाँचथरको सुख्खाग्रस्तक्षेत्र कुम्मायक गाउँपालिकामा भने घरायसी सामानहरू भन्दा पनि पानी किन्नेको भीड नै लाग्ने गरेको छ ।

बजारदेखि गाउँघरसम्म पानी बोक्ने ट्याक्टरहरू दैनिक भेटिन्छन् । कोही ड्रममा पानी थापिरहेका भेटिन्छन् त कोही पानी राख्ने भाँडाकुँडा पखाल्दै गरेका भेटिन्छन् । यस्तैमा पानी थाप्ने पालो कुरेर बसेका स्थानीय चन्द्रगोपाल आचार्य भेटिए ।

‘पैसा हुँदा सबै सामानहरू किन्न पाइन्छ, तर यहाँ त पैसाभन्दा पनि पानी महँगो भएको छ’ चिन्तित हुँदै उनले भने, ‘चाडपर्वमा आफन्तजनहरूको भेटघाट हुने भएकाले पानीको प्रयोग धेरै हुने गर्दछ, खानेपानीको हाहाकार भए पनि आफू जन्मेको ठाउँ सधैँ प्यारो हुँदोरहेछ ।’ ‘दशैंमा पानीको समस्या टार्नको लागि प्रतिलिटर ६० पैसामा एक हजार लिटर पानी किनेर राखेको छु ।

फारो गरेर चलाउँदा पुग्छजस्तो लागेको छ’–उनले भने । आचार्यजस्तै अर्का व्यवसायी रमेश चेम्जोङको पनि पीडा उस्तै छ । पानी अभावमा होटल व्यवसाय सञ्चालन गर्न समस्या भोग्दै आएका चेम्जोङले पनि हजार लिटरभन्दा बढी पानीको जोहो गरेर राखेका छन् ।

‘पहिले प्रतिलिटर डेढ रुपैयाँसम्ममा पानी किन्नु पथ्र्यो, तर अहिले गाउँपालिकाले प्रतिलिटर ६० पैसामा पानी दिन थालेपछि सहज भएको छ’ –खुसी हुँदै उनले भने ।

सुख्खाग्रस्त क्षेत्र भएकाले स्थानीयको दैनिकी अन्य दिनमा भन्दा पनि चाडपर्वमा बढी व्यस्त हुने गरेको छ । गाउँघरमा पानीका स्रोतहरू नहुँदा स्थानीय खोलाहरूबाट ट्याक्टरमा ढुवानी गरेको पानी किनेर खान बाध्य स्थानीयको दैनिकी थप कष्टकर भएको छ ।

गाउँपालिकाको केन्द्र यासोक बजारमा ‘देउराली खानेपानी आयोजनाले धान्न छोडेपछि खानेपानीको माग बढ्दै गएको छ । बढ्दो शहरीकरणका कारण दैनिक २ लाख ५० हजार लिटर खानेपानी खपत हुँदै आएको छ ।

उक्त खानेपानी अयोजनाबाट दैनिक ६५ हजार लिटर पानी आपूर्ति हुने गरेको छ । स्थानीयको मागलाई आधार मान्दै आर्थिक वर्ष २०७४÷०७५ मा पानी बोक्ने दुईवटा ट्याक्टर गाउँपालिकाले खरिद गरेको थियो ।

अहिले सोही ट्याक्टरले खानेपानीको माग धान्दै आएको गाउँपालिका प्रमुख जयबहादुर चेम्जोङले बताए ।

‘पहिलो आर्थिक वर्षमै गाउँपालिकाले नागरिकको समस्यालाई सम्बोधन गर्नका लागि खानेपानी बोक्ने दुईवटा ट्याक्टर खरिद गरेको हो । ‘बजार र गाउँमा प्रतिलिटर ६० पैसामा पानी वितरण गर्दै आएका छौं’ –चेम्जोङले भने ।

नेपाल सरकारले कुम्मायक गाउँपालिकालाई सुख्खाक्षेत्र घोषण गरी बृहत् तमोर लिफ्ट खानेपानी आयोजनाको काम तीव्र गतिमा बढाएको छ ।

आयोजनाले आगामी ३० वर्षसम्म स्थानीयलाई खानेपानी पु¥याउने लक्ष्य लिएको छ ।