नेपालमा अहिले दुर्गा पूजाको महोत्सव छ ।

शक्तिपीठहरूमा भक्तजनको घुइँचो लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मका नौ दिन विशेषगरी भगवती दुर्गाको उपासनामा नेपालीहरू तल्लीन देखिन्छन् ।

शैव, शाक्त, वैष्णव, गाणपत्य, जैन, बौद्ध आदि भिन्न सम्प्रदायअनुसार उपासना र कर्मकाण्ड पद्धतिमा भिन्नता रहे पनि शक्ति वा दुर्गा उपासनाप्रति सबै सम्प्रदायको आस्था रहेको छ ।

भगवती दुर्गालाई पराशक्ति र सर्वोच्च देवता मानिन्छ । ‘मातर सर्वभूतानां गावः’ अर्थात् गाई सम्पूर्ण प्राणीहरूकी माता हुन् भन्ने मान्यताबाट शक्तितर्फ सबै झुुकेका छन् ।

दुनियाँका सबैजसो धर्मले ईश्वरको कल्पना गरेको छ, ईश्वरलाई पुरुषतŒवका रूपमा लिएको पाइन्छ तर शाक्त सम्प्रदायले भने स्त्रीलाई सर्वोपरि मानेको छ ।

गणेश, सूर्य, देवी, शिव र विष्णु यी पाञ्चायन देवताको पूजन सनातनदेखि चलिआएको पाइन्छ ।

सबै देवतालाई उत्तिकै महत्वका साथ आराधना गर्ने र देश, काल, परिस्थिति, प्रयोजन एवम् पर्वअनुसार खास–खास देवताको पूजनलाई प्राथमिकता दिने पनि हाम्रो प्राचीन वैदिक सनातन धर्मको मान्यता हो ।

भगवती दुर्गाका कथा सन्दर्भहरू वैदिक ग्रन्थहरूमा समेत उल्लेख भएका छन् ।

त्यसपछिका पौराणिक ग्रन्थहरूमा अझ विस्तृत ढङ्गले दुर्गाकथा, उपासना र पूजनको परम्परालाई प्रस्तुत गरेको पाइन्छ ।

भगवती दुर्गासँग सम्बन्धित वैदिक एवम् लौकिकग्रन्थहरूमा सङ्केत गरिएका सन्दर्भहरूलाई यहाँ सङ्क्षेपमा प्रस्तुत गरिन्छ ।

वैदिक वाङ्मयअन्तर्गतको प्राचीनतम् ग्रन्थ ऋग्वेदको चौथो मण्डलको दसौं अध्याय (सूक्त १२५) मा जगदम्बा भगवतीसम्बन्धी चर्चा पाइन्छ । ‘अहं रुद्रेभिर्वसुभि...’ इत्यादि सूक्तलाई दुर्गासप्तशतीमा समेत समावेश गरिएको पाइन्छ ।

यस सूक्तमा देवीले आफूलाई सम्पूर्ण चराचर जगत्को कारण बताउँदै सम्पूर्ण प्राणीहरूमा आफ्नो अवस्थिति रहेको बताएको कुरा प्रस्तुत छ । ऋग्वेदमा नै ‘रात्री व्यख्यदायती....’ इत्यादि मन्त्रद्वारा गरिएको रात्रिस्वरूपा भगवतीको स्तुतिपरक रात्रिसूक्त पाइन्छ (ऋग्वेदसंहिता, पृ.७११–७७३) ।

त्यस्तै महालक्ष्मीसँग सम्बन्धित श्रीसूक्त पनि ऋग्वेदमा नै पाइन्छ (पृ.९३२) । ऋग्वेदीय ब्रह्मकर्मसमुच्चय नामक ग्रन्थमा देवीका स्तुतिपरकअनेक मन्त्रहरू पाइन्छन् ।

यजुर्वेदमा पनि देवीस्तुतिसम्बन्धी मन्त्रहरू पाइन्छन् । ‘तिस्रो देवीर्बहिरेद...’(यजुर्वेदसंहिता, अध्याय २७), ‘देवीस्तिस्रास्तिस्रो देवीः..’(अध्याय २८) जस्ता मन्त्रहरू देवीको स्तुतिमा केन्द्रित छन् ।

कृष्णयजुर्वेदको तैत्तरीयसंहिता (प्रथम भाग, दशम अनुवाक्) मा पनि भगवतीको चर्चा पाइन्छ । त्यस्तै अथर्ववेदमा ‘शं नो देवी पृश्नि...’, ‘सरस्वतीं सुकृतो हवन्ते...’ (काण्ड २ र काण्ड १८ ) आदि मन्त्रद्वारा देवीको उपासना गरिएको देखिन्छ ।

मुण्डकोपनिषद्मा अग्निका सात जिह्वाका नामअन्तर्गत काली, कराली, मनोजवा, सुलोहिता, सुधूम्रवर्णा, स्फुलिङ्गिनी र विश्वरुची देवीको उल्लेख पाइन्छ (ईशादि नौ उपनिषद्, पृ. २२२) ।

यसै गरी श्वेताश्वतरोपनिषद्मा भगवतीलाई प्रकृतिको रूपमा चित्रण गरिएको देखिन्छ (पृ.४७६) । त्यस्तै देव्युपनिषद्मा ब्रह्मा आदि देवताहरूद्वारा गरिएको देवीको स्तुतिमा उनलाई आनन्द–अनानन्दरूपा, विद्या–अविद्यारूपा, ब्रह्म–अब्रह्मरूपा, पञ्चीकृत–अपञ्चीकृतरूपा, अजा–अनजारूपा गरी फरक–फरक स्वरूप स्वीकारिएको पाइन्छ (कल्याण, उपनिषद् अङ्क, पृ ६७०) ।

यसैगरी बह्वृचोपनिषद्मा भगवती दुर्गालाई सम्पूर्ण प्राणीहरूको उत्पत्तिको कारक मान्दै पराशक्ति ठानिएको छ (कल्याण, देवताङ्क, पृ. १३९) । यहाँ देवीलाई श्रीत्रिपुरसुन्दरी, बाला, अम्बिका, बगला, मातङ्गी, स्वयंवरकल्याणी, भुवनेश्वरी, चामुण्डा, चण्डा, वाराही, तिरस्करिणी, राजमातङ्गी, शुकश्यामला, लघुश्यामला, श्वारूढा, प्रत्यङ्गिरा, धूमावती, सावित्री, सरस्वती, ब्रह्मानन्दकला आदि नामबाट चिनाइएको छ ।

त्यस्तै सरस्वतीरहस्योपनिषद्, सौभाग्यलक्ष्मी उपनिषद्, कालिकोपनिषद्, गायœयुपनिषद्, लक्ष्म्युपनिषद्, त्रिपुरोपनिषद् आदिमा पनि देवीविषयक स्तुतिहरू पाइन्छन् ।

ब्रह्मवैवर्त पुराणको प्रकृतिखण्डको पहिलो अध्यायमा दुर्गा, राधा, लक्ष्मी, सरस्वती र सावित्री गरी पाँच देवीका अंशकला र कलांशको समेत वर्णन गरिएको छ ।

यसै गरी प्रकृतिखण्डको चौथो अध्यायमा मूल प्रकृतिका अंशभूत वाणी, वसुन्धरा, गङ्गा, षष्ठी, मङ्गला, चण्डिका, तुलसी, मानसी, निद्रा, स्वधा, स्वाहा र दक्षिणा देवीको चरित्रलाई उल्लेख गरिएको छ ।

यहाँ भगवान् कृष्णले वृन्दावनमा पूजा गरिएकी, मधुकैटभद्वारा डराएका ब्रह्मा र शिवद्वारा आराधना गरिएकी, इन्द्रादि देवताद्वारा आराधना गरिएकी र राजा सुरथले नदी किनारमा पूजा गरिएकी देवीको मनोहारी स्तुति पाइन्छ । यहाँ प्रकृतिकवच र भगवती कवच पनि प्रस्तुत गरिएको छ ।

मार्कण्डेय पुराणमा देवीको महिमाका सन्दर्भमा विस्तृत चर्चा गरिएको छ । अठहत्तर अध्यायदेखि नब्बेऔं अध्यायका तेह्र अध्यायमा देवीमाहात्म्य प्रस्तुत गरिएको छ ।

यस पुराणमा देवीले विध्वंशकारी मधु र कैटभ नामक दैत्यलाई विनाश गरेको घटना उल्लेख छ । पुराणमा चिक्षुर, चामर, महिषासुर, धूम्रलोचन, चण्ड, मुण्ड, रक्तबीजआदि राक्षससँग देवीको युद्ध भएको र देवीले विजय प्राप्त गरेको कथा समाविष्ट छ ।

देवीको शक्तिबाट प्रभावित देवताहरूले चेतना, बुद्धि, निद्रा, क्षुधा, छाया, तृष्णा, क्षान्ति, जाति, लज्जा, शान्ति, श्रद्धा, कान्ति, लक्ष्मी, धृति, वृत्ति, स्मृति, नीति, तुष्टि, पुष्टि, मातृ र भ्रान्तिरूपमा रहेकी देवीको स्तुति गरेको सन्दर्भ उल्लेख गरिएको पाइन्छ ।

मार्कण्डेय पुराणका यिनै अध्यायहरूलाई छुट्टै सङ्ग्रह गरिएको छ, जसलाई दुर्गासप्तशती वा चण्डी पुस्तकका नामले चिनिन्छ । दुर्गासप्तशतीको प्रारम्भमा देवीकवच,अर्गलास्तोत्र,कीलकस्तोत्र र रात्रिसूक्त समाविष्ट छ भने अन्तमा देवीसूक्त, प्राधानिकरहस्य, वैकृतिकरहस्य र मूर्तिरहस्य प्रस्तुत गरिएको छ ।

सोही पुुस्तक हामी नवरात्रभरि घरघरमा र देवीका मन्दिरमन्दिरमा पाठ गर्छौं ।

वामन पुराणको उन्नाइसौं अध्यायपछिका सन्दर्भहरूमा मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार नै देवीको पराक्रमको कथा समाविष्ट भएको देखिन्छ । देवीले विभिन्न देवताहरूबाट तेज प्राप्त गरी सुशोभित बनेको प्रसङ्ग उल्लेख छ ।

पद्मपुराणको सृष्टिखण्डको सत्रौं अध्यायमा स्थानअनुसारका देवीको भिन्न–भिन्न नामको चर्चा छ ।

जसअनुसार चैत्ररथमा मदोत्कटा, हस्तिनापुरमा जयन्ती,कान्यकुब्जमा गौरी, मलयपर्वतमा रम्भा, एकाम्रकमा कीर्ति, गोकर्णमा भद्रकाली, स्थापतीश्वरमा भवानी, श्रीशैलमा माधवी, वराहशैलमा जया, शालिग्राममा महादेवी नामले चिनिँदै आएको उल्लेख छ ।

शिवपुराणको उमासंहिताको पाँचौं अध्यायमा देवीलाई जगदम्बिका, महामाया, जगद्धात्री, शक्तिरूपा, त्रिगुणा आदि नामबाट चिनाइएको छ ।

यस पुराणमा महिषासुरवधोपाख्यान, धुम्रलोचन, चण्ड, मुण्ड, वधोपाख्यान र निशुम्भशुम्भवधोपाख्यानको उल्लेख छ । यसैगरी देवी पुराणको पहिलो अध्यायमा देवीको माहात्म्य, ब्रह्मा, विष्णु र महेश्वरद्वारा गरिएको देवीस्तुति र देवीले बताएअनुसारको पूजनपद्धतिलाई समावेश गरेको देखिन्छ ।

कालिका पुराणमा काली नामले चिनिएकी योगमायाको माहात्म्यको दार्शनिक वर्णन छ । यस पुराणमा मरेकी सती देवीको अङ्ग पतन भएको विषय प्रस्तुत छ । जसअनुसार महाभागा, कात्यायनी, कामाख्या, पूर्णेश्वरी, ललिता, कान्ता आदि नामबाट देवी विख्यात रहेको चर्चा पाइन्छ ।

त्यसैगरी हिमालयपुत्री पार्वती (काली) को जन्म, तप, विवाह आदि सन्दर्भलाई पनि यहाँ विवेचन गरिएको छ ।

रुद्रयामल तन्त्रअन्तर्गतको देवीरहस्य ग्रन्थमा बाला, पञ्चदशाक्षरी, षोडशी, त्रिपुरा, विद्याराज्ञी, भद्रकाली, मातङ्गी, भुवनेश्वरी, उग्रतारा, छिन्नमस्ता, सुमुखी, सरस्वती, अन्नपूर्णा, महालक्ष्मी, शारिका, शारदा, इन्द्राक्षी, बगलामुखी, महातुरी, महाराज्ञी, ज्वालामुखी, भीडाकालरात्रि,भवानी, वज्रयोगिनी, धूम्रवाराही, सिद्धलक्ष्मी, कुलवागीश्वरी, पद्मावती, कुब्जिका, गौरी, खेचरी, नीलसरस्वती र पराशक्ति देवीको चर्चा प्रस्तुत छ ।

यहीँ शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री नवदुर्गाको पूजनपद्धति प्रकाशित गरिएको छ । यहाँ दुर्गाको ध्यानविधि, कवच, दुर्गा सहस्रनाम, दुर्गा मूलमन्त्र स्तोत्र, दुर्गा रहस्य प्रस्ताव, दुर्गा मन्त्र साधन रहस्य, दुर्गा मन्त्र सम्पुटीकरण आदि विषय विस्तारपूर्वक वर्णन गरिएको देखिन्छ ।

दुर्गा भवानीलाई धर्म, अर्थ, काम र मोक्ष चार पुरुषार्थ प्रदान गर्ने देवी मानिन्छ । देवीका सन्दर्भअनुसारका अनेक स्वरूपहरूको चर्चा पाइन्छ । वैदिक र पौराणिक सबैजसो ग्रन्थहरूमा कुनै न कुनै रूपमा भगवतीको प्रसङ्ग उल्लेख भएको देखिन्छ ।

दुर्गा भवानीको पूजा आराधनाबाट मानिसले चिताएको कामना पूरा हुने विश्वास गरिन्छ ।

शारदीय नवरात्रमा शैलपुत्री, ब्रह्मचारिणी आदि नवदुर्गा पूजनको विशेष महत्व रहेको छ । यस समयमा विभिन्न शक्तिपीठहरूमा वैदिक विधिअनुसार पायसबलि र कुष्माण्डबलिद्वारा नवदुर्गा भवानीको पूजा गरिन्छ ।

शक्तिपीठहरूमा पशुबलिमार्फत् पूजा गर्ने प्रचलन रहिआएकामा पछिल्लो समयमा अहिंसात्मक दुर्गापूजनको अभ्यास बढ्दै गएको देखिन्छ ।

मानिसमा रहेका खराब तत्वहरू काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलश्य, हिंसा, चोरी आदिलाई चाहिँ बलि दिनुपर्ने वा त्याग गर्नुपर्ने विचार विस्तारित हुँदै आएको छ ।

बडा दशैंका अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ ।

भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको खुसीयालीमा भवानीको प्रसादस्वरूप दशैंमा रातो टीका र जमरा लगाउने प्रचलन रहेको छ ।

जौ तथा गहुँको जमरा लगाउनाले सुख, शान्ति र स्वास्थ्यलाभ हुन्छ भन्ने मान्यता छ । जमरालाई महौषधिका रूपमा समेत लिइन्छ ।

देवीलाई शक्तिको प्रतीक मानिन्छ । वीरता, शौर्य र विजयका लागि देवीपूजनको परम्परा रहिआएको छ । मानिसभित्र रहेका दुर्भावनारूपी शत्रुहरूलाई निर्मूल गर्ने शक्ति प्राप्त गर्न जगज्जननी भगवतीको अनुकम्पा आवश्यक ठानिएको छ ।

नेपालीहरूले भगवती, शक्ति वा प्रकृतिको पूजा गर्नु आदिम परम्परा हो, संस्कृति हो र सभ्यता हो । देवीको उपासनाबाट आफूमा आत्मिक शक्ति बढेको हामी अनुभव गर्छौं ।

नवरात्रमा गरिएको पूजा अर्चनाबाट जगदम्बिका भगवती नवदुर्गा प्रसन्न रहून् र सम्पूर्ण नेपालीहरूमा सुुविचारको शक्तिसञ्चार गरून्, यही शुभकामना छ ।

डा.महानन्द तिमिल्सिना उप–प्राध्यापक पिण्डेश्वर विद्यापीठ, धरान