तेह्रथुम/जिल्लाका वन क्षेत्रमा सिकारीहरू लुकीछिपी भरुवा बन्दुक र पासो बोकेर वन्यजन्तुको सिकार गर्न हिँड्न थालेका छन् ।
चोरी सिकारीद्वारा खुल्ला रूपमा हतियार बोकेर वन्यजन्तुको सिकार गर्र्ने क्रम बढिरहेको भए पनि नियन्त्रण प्रयास कतैबाट भएको छैन ।
चाडपर्वको मौका छोपी वन क्षेत्रमा वन्यजन्तुको अवैध चोरी तस्करी फस्टाएको छ । बाहिरी जिल्लाबाट आएका व्यापारीहरू स्थानीयलाई पैसाको प्रलोभन देखाएर वन्यजन्तु मार्न लगाउने गरेका छन् ।
आठराई गाउँपालिकाको सङ्क्रान्ति, माझिटार, मेन्छ्यायेम गाउँपालिकाको श्रीजुङ्ग, मोराहाङ्ग, गुफा, लालिगुराँस नगरपालिकाको वसन्तपुर, चौकीको नाका प्रयोग गरेर सालकको खबटा, मृगको छाला, मासुको सुकुटी, दुम्सी र कालिज भारत र तिब्बततर्फ तस्करी हुने गरेको छ ।
वन्यजन्तु तस्करहरू, माझीटार, वसन्तपुर, सङ्क्रान्ति र जिरिखिम्तीलाई केन्द्रविन्दु बनाएर यी ठाउँसँग सीमा जोडिएका सङ्खुवासभा, तेह्रथुम, पाँचथर र ताप्लेजुङसम्मका गाँउ–गाँउमा पुग्ने गरेका छन् ।
गाउँका जङ्गलमा मारेर ल्याइएका छाँला पखेटेको छाला, सालकको खबटा, मृगको छाला, दुम्सी र कालिज बजार क्षेत्रमा लुकीछिपी किनबेच हुने गरेको छ ।
बाहिरबाट आएका व्यापारीले संरक्षित वन्यजन्तुको छाला, हड्डी र मासु सुकुटी बनाएर हजारौँ रुपैयाँमा खरिद गरेर लाने गरेको मेन्छ्यायेम गाउँपालिका श्रीजुङ्गका स्थानीयले नाम नबताउने सर्तमा तस्करीको बेलिबिस्तार लाए ।
पहिले जङ्गलमा धेरै दुम्सी, मृग, हरिण, गोहोरो, कालिज, खरायो पाइन्थे तर अहिले त सबैतिर चाहार्दा पनि पाउन मुस्किल छ । गाउँका जङ्गलमा मारिएका वन्यजन्तुका छाला, हड्डी र मासुको सुकुटी सुकाएर मङ्गलबारे, चौकी सङ्क्रान्ति, गुफा, माझीटार दोभानलगायतका बजारमा दिनहुँ गोप्य रूपमा किनबेच हुने गरेको स्रोतको दाबी छ ।
विशेष गरेर मृगको छाला र मासुको सुकुटीे, दुम्सीको काँडा र छाला, सालको खबटा र छाला, पखेटेको छालाको लागि ती वन्यजन्तुहरूको चोरी सिकार हुने गरेको सङ्क्रान्तिका भोला लिम्बूले बताए ।
संरक्षित सूचीमा रहेका र अन्य लोपोन्मुख जनावर मार्नाले जैविक विविधतामा असर हुने, वंश विनाश हुने र जलवायु परिवर्तनमा समेत ठूलो असर पर्ने सामुदायिक वन उपभोक्ता महासङ्घका प्रदेश नम्बर १ का अध्यक्ष तुलसी सङ्ग्रौलाले बताए । नियम, कानूनले बन्देज गरेका जङ्गली जनावर नमार्न पनि उनले सबैमा अनुरोध गरेका छन् ।
छालाका पखेटा हुने छाला पखेटे वन्यजन्तुको छाला टोपी लगाउनसमेत प्रयोग गरिन्छ । चार खुट्टा, लामो पुच्छर र सबै खुट्टामा छालाले घेरिएको यो वन्यजन्तु पछिल्लो समय चोरी सिकारीका कारण लोप हु“दै गएको छ । अग्ला रुखमा गुँड लगाएर बस्ने खरायोको जस्तो मुख भएको यो जनावरको अस्तित्व सङ्कटमा पर्दै गएको छ ।
यसैगरी दुम्सी, मृग, हरिण, गोहोरो, कालिज, खरायोलगायतका वन्यजन्तुको समेत अवैध सिकार भैरहँदा समेत सम्बन्धित पक्ष मौन रहेकामा स्थानीय आक्रोस व्यक्त गर्छन् ।
वनक्षेत्रमा दर्जनौँ सिकारीहरू लुकीछिपी भरुवा बन्दुक र पासो बोकेर वन्यजन्तुको सिकार गर्न हिँडिरहेका देखिन्छन् । चोरी सिकारीद्वारा खुल्ला रूपमा हतियार बोकेर वन्यजन्तुको सिकार गर्र्ने क्रम बढिरहेको भए पनि नियन्त्रण प्रयास कतैबाट भएको छैन ।
पाँचथरको फिदिम, तेह्रथुमको सङ्क्रान्ति, वसन्तपुर, जिरिखिम्ती र सङ्खुवासभाको गुफापोखरी वन्यजन्तुको तस्करी हुने मुख्य नाका भएको स्रोतको दाबी छ ।