ताप्लेजुङ/ केही वर्ष अघिसम्म भलिबल खेलको खासै चर्चा हुँदैनथ्यो । ठूला प्रतियोगिता पनि कमै हुन्थे । भलिबलका दर्शक पाइन पनि निक्कै मुस्किल थियो तर हिजोआज भने हिमाली जिल्लामा भलिबलले दर्शक तान्न थालेको छ ।
‘खेलप्रति खेलाडी र दर्शक आकर्षित भएका छन्, भलिबलका प्रथम श्रेणीका प्रशिक्षक डम्बर लङ्वा भन्छन्, ‘प्रतियोगिताहरू पनि कमैमात्र हुन्थे ।
दर्शक पनि खासै आउँदैनथे तर हिजोआज भलिबल प्रतियोगितामा दर्शकले खुट्टा टेक्ने ठाउँ हुँदैन ।’ ०७० सालमा ताप्लेजुङमा सर्वाधिक पुरस्कार राशिको पूर्वाञ्चलव्यापी भलिबल प्रतियोगिता भयो । १४ जिल्ला सहभागी प्रतियोगितामा ओखलढुङ्गा प्रथम भयो । प्रथमलाई दुई लाख ५१ हजार र दोस्रोलाई एक लाख ५१ हजार पुरस्कार राखिएको थियो ।
सदरमुकाम बाहिर तत्कालीन हाङ्देवा गाविसमा खेल खेलाइएको भए पनि त्यसले ठूलो चर्चा पाएको थियो । त्यसको दुई वर्षपछि राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरियो । तीन विभागीयसहित पाँचै विकास क्षेत्रको टोली सहभागी थिए ।प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब प्रथम भयो । विजेताले तीन लाख ३० हजार पुरस्कार पाएको थियो । ती प्रतियोगिताले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलकर्मीको ध्यान जिल्लामा आकर्षित गरेको लङ्वा बताउँछन् ।
‘त्यसपछि त भलिबलको स्वर्ण समय नै शुरु भएको छ, अन्य पहाडी जिल्लाभन्दा यहाँ भलिबल प्रतियोगिता धेरै नै हुन थालेका छन्,’ उनले भने, ‘समय र खर्च कम लाग्ने, सानो मैदानमा पनि सञ्चालन गर्न सकिने भएकाले सानादेखि ठूलासम्म भलिबलमा आकर्षित भएका छन् ।’
जिल्लाको भलिबल इतिहास राम्रो भए पनि १० वर्षे सशस्त्र द्वन्द्वका कारण केही समय जिल्लामा खेलकुद खस्किएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा भलिबलका राष्ट्रिय रेफ्री तेजप्रताप सुब्बाले बताए । पहिले गाउँगाउँमा हुने मेला, पर्व र नियमित रूपमा वीरेन्द्र शिल्ड प्रतियोगिता भलिबलको खेलाडी उत्पादन गर्ने माध्यम थिए ।
‘त्यो बेला प्रत्येक गाउँमा आयोजना गरिने मेलाको बजारको प्रमुख आकर्षण नै भलिबल हुन्थ्यो,’ ३२ वर्षदेखि खेल क्षेत्रमा सक्रिय सुब्बा भन्छन्, ‘मुलुकमा सङ्कटकाल लागेपछि मेलाहरू पनि कम हुन थाले र भलिबल पनि सुस्तायो ।’ सुब्बाका अनुसार सङ्कटकालको समयमा वीरेन्द्र शिल्ड पनि भएन । वीरेन्द्र शिल्डले विद्यालयस्तरमै खेलाडी उत्पादन गर्थियाे ।
वि.सं २०२५ सालपछि एक दर्जनको सङ्ख्यामा जिल्लाका खेलाडीले राष्ट्रिय स्तरमा चर्चा कमाए । डिल्ली गुरुङ, यादव श्रेष्ठ, कृष्ण चोङवाङ, गणेश सेनेहाङ, किशोर इजम, रणबहादुर खड्का, बमबहादुर अङ्छङ्बो, खड्क खवास, खड्ग श्रेङचङवाङ, दिलबहादुर फुरुम्बो पुराना ख्याति प्राप्त खेलाडी हुन् ।
इजम र खड्का सम्मिलित पूर्वाञ्चलको टोलीले वि.सं २०४५ सालमा नेपालगञ्जमा आयोजित विद्यालयस्तरको भलिबल प्रतियोगितामा उपाधि जितेको सुब्बा बताउँछन् । २०३९ सालमा जिल्लाको टोली पूर्वाञ्चल च्याम्पियन बनेको थियो । कृष्ण चोङवाङ एकताका राष्ट्रिय टोलीका मुख्य लिफ्टर थिए ।
पछिल्लो समय जीवन अधिकारी, रोहित थेबे र राजकुमार साम्यखाम राष्ट्रियस्तरमा चर्चित छन् भने लक्ष्मी आङछङबो, ऐश्वर्यराज थापा र गणेश सेनेहाङ र महिलातर्फ देउमाया ओझा र प्रमिला तुम्बाहाम्फे क्षेत्रीय रेफ्री छन् । मुलुकमा गणतन्त्र घोषणासँगै वीरेन्द्र शिल्ड राष्ट्रपति शिल्डमा परिवर्तन भयो । विद्यालयस्तरको यो प्रतियोगितामा भलिबललाई प्रमुख खेलको रूपमा समावेश गरिएको छ ।
यसले खेलाडी उत्पादन गर्न र दर्शक बढाउन मुख्य भूमिका निर्वाह गरिहहेको जिल्ला भलिबल सङ्घका उपाध्यक्ष विमल भण्डारी बताउँछन् ।
यस वर्षदेखि जिल्लाको सबैभन्दा ठूलो पाथीभरा पर्यटन महोत्सवमा पनि भलिबल खेलाउन थालिएको छ । महोत्सवमा आयोजित अन्य सांस्कृतिक कार्यक्रमभन्दा भलिबलमा धेरै दर्शक उपस्थित भएको भलिबल प्रशिक्षक लङ्वा बताउँछन् ।
‘यसबाट पनि भलिबलको क्रेज बढेको पुष्टि हुन्छ ।’ यही वर्ष सरकारले भलिबललाई राष्ट्रिय खेल बनाएपछि विद्यालयहरूमा पनि प्रत्येक हप्ता विद्यार्थी र शिक्षकबीच प्रतियोगिता हुन थालेको प्याब्सन जिल्ला सचिव गणेश सिग्देलले बताए ।
खेललाई गुणस्तरीय बनाउन खेलाडी अनुशासित हुनु पर्ने समिति अध्यक्ष सुब्बाको भनाइ छ । नयाँ पुस्तामा ५–६ जना राम्रो भविष्य बोकेका भलिबल खेलाडीहरू ‘मार्क’ गरेको उनले बताए ।
आर्थिक स्रोतको अभावका कारण खेलाडीलाई पर्याप्त तालिम र प्रशिक्षण दिन नपाएको खेलकुद विकास समितिले जनाएको छ । अब स्थानीय तहले खेलकुदको प्रवद्र्धनका लागि स्पष्ट नीति बनाउनुपर्ने सुब्बाको भनाइ छ ।
‘पहिलेको जस्तो केन्द्रको मुख ताक्ने परम्पराको अन्त्य भएको छ,’ सुब्बाले भने, ‘अब स्थानीय सरकारले नै नीति बनाएर नियमित रूपमा खेलाडीलाई तालिम, प्रशिक्षण दिने र प्रतियोगिताहरू सञ्चालन गराउने गरेमा हाम्रा खेलाडीले धेरै राम्रो गर्न सक्छन् ।’