म काठमाडौंबाट फर्किएँ । इटहरी चोकभन्दा पश्चिमपट्टि बस पार्कमा उभिएँ । मेरो हातमा एउटा हल्का निलो रङ्गको रुमाल थियो । जसको बीच भागमा गोलो घेराभित्र थ्यगलन लेखिएको थियो । रुमाल हल्लाउँदै मुख पुछेजस्तो गर्दै नजानिँदो गरी प्रत्येक गाडीको ढोकाभित्रबाट ओर्लंदै गरेका मानिसलाई हेरिरहें ।
त्यो बेलामा हामीले सीआईडीलाई झुम्के भन्थ्यौं । बासु दाहाल पनि हातमा रेञ्ची बोकेर यता–उता गर्दै थिए । बासुलाई मैले नाम नकाढी बोलाएँ । यता–उता झुम्के त छैनन् । ‘देखेको छैन’ उनले उत्तर दिए ।
हामीलाई चिन्ने झुम्के छन् कि भनेर सतर्क थियौं । मलाई अलिकति सङ्केत थियो । बसबाट ओर्लने मध्ये एक जना पार्टीका महासचिव छन् । मेरा लागि त्यहाँ उभिनु त्यतिको सजिलो थिएन ।
यदि झुम्केले मलाई देखिहाल्योे भने– मलाई भन्दा पनि नेताहरूलाई खतरा हुने थियो । बासु दाहाल र म निक्कै होसियारीका साथ त्यहाँ पर्खियौं ।
त्यहाँ बुटबलबाट आउने गाडी आइपुग्यो । गाडीबाट एक जना होचो कालो टोपी लगाएको हँसिलो मानिस त्यहीँ रुमाल हल्लाउँदै गाडीको ढोकामा उभियो ।
उनले यता–उता हेरे । यताबाट मैले रुमाल हल्लाएँ । त्यसपछि उनी गाडीबाट झरे । उनको पछाडि अर्को मोटो फेन्टम टोपी लगाएको मानिस पनि ओर्लियो । रुमाल हल्लाउँदै मैले बासुजीलाई पछाडि लान सङ्केत गरें ।
बासुजीले उनीहरूलाई पूर्वको बस स्टेण्डसम्म लैजानु पर्ने भयो । त्यहाँ पनि त्यही रुमाल बोकेका साथीलाई जिम्मा लगाएर बासुजी फर्कनु भयो ।
बसबाट ओर्लिएका दुई जनालाई लिन मोरङबाट अर्को साथी आएर पर्खनु भएको थियो । बासु गइसकेपछि बस स्टेण्डमा म एक्लै थिएँ । आगन्तुक गएको आधा घन्टापछि काठमाडौंबाट आउने एउटा गाडी आएर रोकियो ।
ढोकामा एक जना अग्लो गोरो मानिसले ढोकाको समाउने एक हातले समाएर अर्को हातले रुमाल हल्लायो । पर–पर हेरेको देखेँ । मैले बुझें । उहाँले मलाई नै हेर्दै हुनुहुन्छ । मेरो हातमा भएको रुमाल मैले पनि हल्लाएँ ।
मलाई देखेपछि उहाँले अर्को साथीलाई बोलाउनु भयो । उहाँहरू तल बसेपछि एउटा रिक्सामा बस्ने इसारा गरें । म अर्को रिक्सामा बसेर हामी पूर्व लाग्यौं ।
हामी लेखनाथ गौतम दाइको घरमा पुग्यौं । मैले लेखनाथ दाइकोमा गएर सबै व्यवस्था गरें । पार्टीका नेताहरूलाई बसबाट ओर्लिएपछि सुरक्षित ठाउँमा पु¥याउनु थियो । त्यहाँ आए मध्येका कसैसँग पनि हाम्रो चिनजान थिएन ।
हामीलाई त्यही रुमालले चिनाइदियो ।
मैले नेताहरूलाई चाहिने दैनिक उपभोगका सामानको व्यवस्था गरेर म त्यहाँबाट निस्कें । अझै एक जना साथीलाई मैले सिर्जनशील पुस्तक अगाडिबाट ल्याउनु थियो ।
म त्यहाँ पुग्दा पत्रिकाले अनुहार छोपेर पढदै गरेको एक जना देखें । मैले खोकेर रुमाल हल्लाएँ । मेरो खोकी सुनेर उहाँले मलाई पुलुक्क हेर्नु भयो । मैले रुमाल हल्लाइ दिएँ ।
त्यसपछि उहाँ मैले चिनेको मान्छे उहाँ पहिले नै हाम्रो घरमा आउनु भएको थियो । पछिल्लो साथीलाई लिएर म खगिन्द्र सिक्देलकहाँ गएँ । उहाँलाई त्यही छाडेर सबै कहाँ–कहाँ हुनुहुन्छ भनेर सूचना गरें ।
म विपिनकोमा गएर बसेँ । उहाँहरूलाई लिन अरू साथीहरू आउने योजना थियो । त्यो बेला ती साथीहरू सबै पार्टीका केन्द्रीय सदस्य हुन भन्ने हामीलेमात्रै ‘अन्दाजा’ गरेका थियौं ।
पछि पहिलो जनआन्दोलन सकिएपछि मैले त्यो बेलामा भेटेका नेताहरू बुटबलको गाडीबाट आएका दुई जनामा होचा र हँसिला कालो टोपी लगाएको जीवराज आश्रित हुनु हुँदो रहेछ ।
अग्लो मोटो वामदेव गौतम, त्यस्तै काठमाडौंबाट आएका ३ जनामा एक जना अग्लो गोरो मानिस तत्कालीन महासचिव झलनाथ खनाल र अर्को गोरो अग्लो अमृत बोहोरा र होचो घोप्टे जुगा भएको माधवकुमार नेपाल हुनुहुँदो रहेछ ।
सबैभन्दा पछाडि मैले खगिन्द्र सिक्देलकोमा राखेको ईश्वर पोखरेल हुनुहुन्थ्यो रहेछ । पछि भेटघाट हुन थाल्यो । तर खास नाम थर चाहिँ जनान्दोलन पछिमात्रै थाहा भयो ।
त्यो दिनमा मेरो काम सकिए पछि म आफ्नो कामतिर लागेँ । अब फेरि मैले सबैलाई इटहरीबाट आफ्नो– आफनो कार्यक्षेत्रमा फर्काउनु थियो । म, हाम्रो इटहरीका कुनै पनि साथीलाई उहाँहरूको पार्टी नाम पनि थाहा थिएन ।
त्यो बेला हामीले यति बुझेका थियौं, यी पार्टीका केन्द्रीय नेता हुन् । वहाँहरूलाई सुरक्षित बैठकमा पुर्याउनुपर्छ । हामीले त्यसको व्यवस्थापन गरी पुनः फर्काउनुपर्छ ।
यो हाम्रो जिम्मेवारी हो । आएको ४ दिन पछिका लागि काठमाडौं जान दुई ओटा सिट बुक गरिदिन भनेको थिएँ । त्यस्तै बुटबलका लागि दुई ओटा सिट भनेको थिएँ । बाँकी साथीहरूलाई इटहरीमा बस्नु थियो ।
वहाँहरू ३ जनाको आफ्नै हिसाबले जाने योजना रहेछ । नेताहरू इटहरी आइसक्नु भयो । उही पहिले बसेको ठाउँबाट दुईजना नेताहरू झलनाथ खनाल र अमृत बोहोरालाई लिएर आएँ ।
यता जीवराज आश्रित र बामदेव गौतम पनि त्यहाँ थिए । बामदेवले पछाडि एउटा झोला भिरेका थिए । हाफपेन्ट र छत्रे टोपी लगाएका थिए ।
मैले काठमाडौं जानका लागि काटेको टिकट कम्पनीले अन्तै बेचिदिएछ । हातमा टिकट र झोला बोकेर नेताहरू आफ्नो सिट खोज्दै गाडीभित्र गए ।
त्यहाँ पुग्दा सिटमा अरु नै मान्छे बसेका थिए । उनीहरु धरानबाट नै आएका रहेछन् । गाडीबाट बाहिर निस्किएर गोरो र अग्लो मानिस (झलनाथ) ले गाडीको बुकिङ (टिकट काट्ने व्यक्ति) लाई बोलाएर त्यो टिकट देखाउँदै इटहरीबाट बुक गरेको सिट हामीलाई चाहियो भने ।
बुकिङले बसमा सिट हेर्दा धरानबाट भरिएर आएको देखे । उनले माफी मागे । उनले अर्को गाडीमा पठाइदिने आश्वासन दिए ।
तर ती गोरा र अग्ला आगन्तुकले बुकिङलाई भने, ‘जान त हामी आफैं टिकट काटेर जान सक्छौं, तर मैले तपाईंहरूको अधिकार खोसिएकोमा चिन्ता गरेको हुँ, तपाईंहरूले आफ्नो अधिकार त खोज्नु प¥यो नि ? सधैं हामीलाई जस्तै भयो भने तपाईहरुलाई कसले विश्वास गर्छ त ? सवाल त्यो हो ।
हामीले अर्को गाडीमा राम्रो सिट पाएनौ भने, हामीले अलिअलि दुःख पाउँला तर हामी पुग्छौ, तर तपाईंहरूसँगको हाम्रो विश्वात त गुम्यो नि ।’ यसो भन्दै गर्दा उताबाट जीवराज त्यही आउनु भयो । के भयो तपाईंहरू त यहीँ हुनुहुँदोरहेछ । जानु भएको रहेनछ । के गाडी पाइएन ? यता बाट झलनाथले भने, ‘हाम्रो सिटमा अरु नै बसाएछन ।’
जीवराजले भन्नु भयो– यी विचरा भाइहरूको के दोष ? कम्पनीले अलिकति फाइदा भयो भने यिनीहरूको कोटाको टिकट अन्तै बेचिदिन्छ । यो नियम र कानून नमान्ने मुलुकमा जसले जे गरे पनि हुन्छ । यो देशको सरकारमा बसेकाहरू सरकारका वरिपरिकाहरूले कानून नियम केही मान्नु पर्दैन ।
हाम्रो राजा जिन्दावाद भनेपछि मानिस मार्दा पनि छुट पाइने मुलुकमा तपाईं हामीजस्ता बबुराको के लाग्छ, भन्नु भयो । अनि नियम पालना गर्नु पर्ने यी भाइहरूजस्ताले मात्र हो ।
यिनीहरूको नाइकेले न नियम मान्छ न कानून, दुःख पाउने पनि तलकै र गाली खाने पनि तलकैले । यस्तै छ यहाँको तरिका । त्यो कुरा सुनेपछि बुकिङले हो मा हो मिलाइदियो ।
त्यही बेलामा मोरङ पशुपति बस आएर रोकियो । त्यसमा इटहरी कोटाको ३–४ नम्बरको सिट रहेछ । तीनै दुईवटा सिटको टिकट काटेर झलनाथ र अमृत बोहोरालाई बसाइ दिएँ ।
उहाँहरु बसेपछि फेरि जीवराजले भन्नु भयो– उहाँहरूले त राम्रो सिट पाउनु भएछ । तपाईंहरू सिट पाइएन भनेर छटपटिरहनुथ्यो ।
तर अब त हामी गयौं । तपाईंहरूको गाडी कुन बेला आउने हो । गाडी पाइएन भने काठमाडौंकै गाडीमा हेटौंडासम्म जाउँला ।’ उहाँहरू जीवराज र वामदेव हो भन्ने कुरो पछिमात्र थाहा पाएँ ।
उही हाफपेन्ट र फेन्टम टोपी र पछाडि झोला बोकेको लाहुरेजस्तो लाग्ने र होचो मान्छे उहाँहरू दुबै जना बुटबल जानु हुने रहेछ ।
त्यो बेला उहाँहरू कसैसँग मेरो चिनजान थिएन । खाली त्यही एउटा रुमालले हामीलाई चिनाइदिएको थियो ।
जीवराजले गाडी आउञ्जेल यहाँको अवस्थाबारे सोध्नु भएको थियो । मैले हामी सङ्गठन निर्माण गर्दैछौँ भनेँ । उहाँको चासो इटहरी बजारको काम कस्तो छ भन्नेमा थियो ।
त्यहाँ ठीकै रहेको बताएँ । हामीले सबै क्षेत्रमा सङ्गठन विस्तार गर्दै छौँ । आवश्यक पर्दा १५–२० जना साथीलाई राख्न सक्ने गरी सेल्टर निर्माण गरेका छौँ ।
त्यस्तै वरिपरिका गाउँहरूमा राम्रो सङ्गठन छ । किसानभित्र बाक्लै हिसाबले वरिपरि काम फैलिएको छ । विद्यार्थीहरू पनि त्यही गतिमा छन् ।
मजदुरहरूका सङ्गठन भने त्यस्तै प्राध्यापक, कर्मचारी, शिक्षक सबै क्षेत्रमा सङ्गठित गरेका छौँ । यहाँ स्वास्थ्य क्षेत्रमा काम गर्नु हुने साथीहरूको पनि राम्रो उपस्थिति छ ।
मैले सङ्गठनाको अवस्था जानकारी गराएँ । कुरा गर्दा गर्दै बुटवल जाने गाडी आयो । वहाँहरू दुई जनालाई गाडीमा चढाएँ ।
वहाँहरू गएपछि म फर्किएर लेखनाथ दाइकहाँ गएँ । त्यहाँ दुई जना साथी आउने जानकारी थियो ।
म पुग्दा एकजना साथी आएर बस्नु भएको रहेछ । वहाँको खुट्टा सुनिएका थिए । तातो पानी तताएर धुन लाग्नु भएको थियो ।
वहाँले गाडी चढाउन पर्दैन, म यो बाटो धेरै हिँडेको छु । म आफैं जान्छु भन्नु भयो । वहाँ हेटौंडा जाने गाडी भए त्यसैमा जाने हुनु भयो ।
अर्को साथी पहिले काम गरेको ठाउँ विराटनगर जाने भनेर उता लाग्नु भयो । साथीहरू सबै जना आफ्नो–आफनो कार्यक्षेत्र तिर लाग्नु भएछ ।
अब हाम्रो काम पूरा भयो । यो जिम्मेवारी पूरा गर्न सजिलो थिएन । किन भने हामीले पठाएका सबै साथीहरु भूमिगत थिए ।
त्यसमा सरकारको सूचीमा रहेका साथीहरू थिए । यता म पनि प्रशासनको निगरानीमा थिएँ । त्यहाँ कोही एकजना पनि समातिएको भए ।
त्यसको सबै दोष हामीले बोक्नु पथ्र्यो । वासुलाई भनें– कमरेड हाम्रो जिम्मेवारी पूरा भयो । मध्यबजारको बीचमा साथीहरूलाई सुरक्षित ल्याइयो, पुर्याइयो । अहिले आङ सिरिङ्ग हुन्छ ।
त्यसपछि पङ्कज (पछि थाहा भयो झलनाथ खनाल तत्कालीन महासचिव) फेरि आउनु भयो ।
हाँ पार्टीको प्रान्तीय कमिटिको बैठकमा आएका बेलामा म सिर्जनशील पुस्तकमा लिन गएँ । साँझ परेको थियो ।
वहाँले मेरो हात समातेर हिँड्नु भयो । वहाँले मलाई नछोड्नुस भन्नु भयो । हामी बसमा चढ्यौं । हामीले बसमा चढेको कसैले हेर्दै थियो ।
त्यो भएर हामी सोझै तरहरा गयौं । त्यहाँबाट कृषिक्षेत्रभित्र पस्यौं । हाम्रो पछि कोही छैन भन्ने भएपछि हामी घरमा आयौं ।
बाटोभरि उहाँले जेलको यातना सुनाउनु भयो । पुलिसले यातना दिँदा अँध्यारोमा देखिने चम्किलो उज्यालोमा कसैको सहारा लिनुपर्ने सुनाउनु भयो ।
उहाँले सन्तुलन गुमाउनु भएको रहेछ । त्यसैबीच अरू पार्टी सङ्गठन निर्माण र सङ्घर्षबारे कुरा ग¥यौं । रातिको खाना खाउञ्जेल कुरा गर्यौं ।
त्यसपछि उहाँ पढ्न थाल्नु भयो । बिहान बुबाकहाँ लिएर गएँ । दिनभरि त्यहीँ बस्नु भयो । त्यहाँ बस्नु सुरक्षित थियो । साँझमा अर्को साथी आएर लानु भयो ।
पछि पनि वहाँ आएर बस्नु भएको थियो । दिउँसो ३ बजे नै इटहरी लैजाँदा मानिसले सोधे । मैले वहाँ तेह्रथुम सिंहवाहिनीको हेडसर हो ।
काठमाडौं हिंड्नु भएको भनेर गाडी चढाएको थिएँ । त्यो बेला बस्दा उहाँले पार्टीको कार्यक्रम कार्यनीति र पार्टी स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताबारे छलफल गर्नुभएको थियो ।
पहिलो जनआन्दोलन सकिएपछि सुनसरी नेकपा (माले ) को पहिलो जिल्ला त्यसमा प्रमुख अतिथि पार्टी महासचिव मदन भण्डारी र विशेष अतिथि सङ्गठन विभाग प्रमुख जीवराज आश्रित हुनुहुन्थ्यो ।
मैले वहाँलाई अन्तिम पटक त्यही अधिवेशनमा भेटेँ । वहाँहरू सबैको परिचय त्यतिबेला खुल्यो । सबै नेता खुल्ला हुनु भयो र त्यसबेलाबाटै वहाँहरूको जिम्मेवारी पनि खुल्यो । यी सबै नेतालाई त्यही हल्का आकाशे रङ्गको रुमालले परिचित गराएको थियो ।