धरान /अन्य बेला राजधानी जाँदा न्यूनतम भाडा लिने काउन्टरहरूले दशैं विदा मानेर फर्किने यात्रुबाट चर्को भाडा असुल्ने गरेका छन् । त्यसमा पनि यात्रुको रोजी सिट नपाउने गरेका छन् । राजधानी जाने सीमित सवारीका कारण यात्रुबाट चर्को शुल्क लिने गरेका हुन् । चाडपर्व अघिपछि न्यूनतम भाडादरमा लाने सवारीहरूले यो बेला भने तोकिएको शुल्कभन्दा एक रूपैया कम नर्गने गरेको यात्रुहरूको गुनासो छ ।

‘मिनीबसमा ट्याम्मै १३ सय रूपैयाँ लिएँ ।’ काठमाडौं हिडेका धरान–१६ का एक यात्रुले भने, ‘महङ्गो भयो । अरू बेला बोलाइ–बोलाइ आफूले जति भन्यो त्यतिमै लान्छन् ।’ पूर्वबाट राजधानी फर्किने यात्रुको आम समस्या हो यो । टिकट काउन्टरहरूले अग्रिम टिकट बुकिङ भएको भन्दै आकस्मिक जानै पर्ने यात्रुहरूबाट बढी रकम असुल्ने गरेका छन् ।

‘अर्काको टिकट तपाईँलाई दिएको हो । यति पर्छ भन्दै बार्गेनिङ गर्छन् ।’ यात्रु नवराज अधिकारीले भने । अग्रिम टिकट बुकिङ भइसकेको नाममा चर्को भाडा असुल्ने गरेको इटहरी–५ जनतावस्तीका स्वर्णिम बस्नेतले गुनासो गरे । ‘अहिले टिकट छैन । अर्काको टिकटमा जाने हो भने बढी पैसा लाग्छ भन्छन्,’ बस्नेत गुनासो पोख्छन् ।

दशैं अघिपछि भाडादरभन्दा सस्तोमा लाने गरेका थिए । त्यो बेला इटहरी–काठमाडौंसम्म एक हजार रूपैयाँसम्ममा लाने गरेका थिए । ‘दशै अगाडि १ हजारसम्म टिकट पाइन्थ्यो । अहिले भीडभाडले १३ सय देखि १५ सय रूपैयाँसम्म भाडा लिनेका गरेका छौं,’ इटहरी काउण्टरका सागर ठाकुरीले भने । उनका अनुसार अहिले काठमाडौंबाट फर्किदा ११ सय रूपैयाँ मात्रै पर्ने गरेको बताए ।

दशैंका मुखमा यात्रु ठग्ने व्यवसायीलाई कारबाही गर्न नसकेकोमा यात्रु धेरै आक्रोशित भएको इटहरी वसपार्क व्यवस्थापन समितिका अध्यक्ष बाबुराम गिरीेले बताए ।

झापाको अवस्था पनि उस्तै छ । विमानमार्फत् राजधानी फर्किनेबाट चर्को भाडा असुल्ने गरेका छन् । विमान कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडादर असुल गर्न थालेपछि झापाका यात्रु मारमा परेका हुन् । एक यात्रु बराबर ९ हजार ५ सय रूपैयाँसम्म असुल्ने गरेका छन् । जुन प्राधिकरणले तोकेको भाडाको अधिकतम सिलिङ हो । दशैं अघिपछि चन्द्रगढीदेखि काठमाडौंसम्म २ हजार २ सय रूपैयाँ शुल्कमा एक यात्रुलाई लाने गरेका थिए ।

अन्य समयमा ३ देखि ४ हजार रूपैयाँमा यात्रुहरू ओसारेका विमानले अहिले ९ हजार ५ सय रूपैंयाँमा टिकट बिक्री गर्ने गरेका छन् । जसका कारण अधिकांस यात्रु स्थलमार्गबाट राजधानी फर्किन थालेका छन् ।

‘एकजना यात्रु बराबर चन्द्रगढी–काठमाडौंको हकमा लगभग ४ हजार रूपैंयाँ सञ्चालन खर्च आउँछ, नेपाल नागरिक उड्डयन प्राधिकरणका चन्द्रगढी प्रमुख पूर्णचन्द्र चुडालले भने, ‘विमान कम्पनीले त्यो बेला प्रतिष्पर्धाका नाममा घाटा खाएर व्यापार गरेका हुन्छन् ।’ चन्द्रगढी बिमानस्थलबाट दैनिक ८ उडान हुँदै आएका छन् ।

सौर्य, यति, बुद्ध, श्री र नेपाल एयरलाइन्सले नियमित उडान गरिरहेको जानकारी चुडालले दिए । सवारी कम्पनीले गाडी थपे पनि यात्रुहरू टिकट नपाएपछि फर्किनु परेको बिर्तामोडको काउण्टरका कर्मचारी बिशाल गौतमले जानकारी दिए ।

पाँचथरमा पनि सवारीबाट यात्रु ठगिने शृङ्खला भने यसपटक पनि रोकिएन । यात्रुसँग ‘यति भाँडा दिने भए रिजर्भ जाने नत्र नजाने’ भन्दै सवारी चालकले बार्गेनिङ गर्ने गरेका दृष्य यसपटक पनि फिदिममा देखियो ।

सवारी चालकले मनोमानी रूपमा भाँडा असुलेको यात्रुले गुनासो गरेका छन् । निर्धारण गरिएको भाँडादरभन्दा दोब्बर, तेब्बरसम्म भाँडा लिन खोजेको एक यात्रुले गुनासो गरे ।

यसबारे पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले भने ठगिएका यात्रु भेटिए प्रशासनको सम्पर्कमा पठाइदिन आग्रह गरे । प्रजिअ अधिकारीले भने, ‘कोही, कसैले मनपरी भाँडा लिएको भेटिए तुरुन्त कारबाही प्रहरी र ट्राफिक प्रहरीलाई निर्देशन गरिसकिएको छ ।’

जिल्ला ट्राफिक प्रहरी इन्चार्ज जनक तिम्सिनाले पनि बढी भाँडा लियो भनेर उजुरी गर्न कोही यात्रु नआएको बताए । तर यात्रुले भने बढी भाँडा नदिए गन्तब्यसम्म पुग्नै नसकिने हुनाले बाध्य भएर चुपचाप बढी भाडा तिर्नुपरेको बताएका छन् ।

बिहीबार फिदिमदेखि काठमाण्डौं हिंडेका एक यात्रुले उजुरी गर्न थाल्दा समयमा गन्तब्य नपुगिने भएपछि बाध्य भएर बढी भाडा तिर्ने गरेको बताए । मोरङको विराटनगरको अवस्था पनि उस्तै देखिएको थियो ।

विराटनगरबाट काठमाडौं फर्कनेहरूलाई एकसातासम्म टिकट बुक भइसकेको यातायात व्यवसायीहरूले बताएका थिए । मोरङ धनपालथालन गाउँपालिकास्थित कर्सियाका लखन टुडुले काठमाडौंको टिकट नपाएपछि फर्किएको बताए ।

काठमाडौंमा निर्माणसम्बन्धी काम गर्ने टुडु र उनका साथीहरूसमेत टिकट नपाएका कारण फर्किएको बताए ।

काम गर्ने स्थानमा समयमा पुग्नुपर्ने भएकाले सिट नै नपाए पनि ‘पूरा’ भाडा तिरेर जान लागेको रङ्गेली नपाका विकास राइले बताए । सरकारको हेल चेक्राइको कारणले अहिले यातायात क्षेत्रमा मनपरि बढेको नेपाल रात्रि ता दिवा यातायात संघका अध्यक्ष कुमार सुब्बाले बताए ।

अहिले आफु खुसि यात्रुहरु लैजाने र ल्याउन क्रम बढेको उनले बताए । यसले कतिपय यात्रु ठगिने समेत सम्भावना रहेको उनी बताउ छन् ।

उनले दशैछेक प्रत्येक वर्ष विराटनगरमा १०-१२ वटा नयाँ काठमाण्डौ जाने गाडी थपिने भए पनि यस वर्ष नथपिएको बताए । यसले यात्रुलाई समयमा टिकट पाउन समस्या रहेको उनको जिकिर छ ।

भाडादर पनि मनपरि रहेको उनी बताउछन् ।सरकाले मापदण्ड बनाएर यातायात क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको अध्यक्ष सुब्बाले बताए ।

सरकारले सिडीकेट खारेज गरे सँगै विराटनगरमा पनि निजि कम्पनीले यात्रुहरु वसार-पसर गर्न थालेका छन् । अहिले विराटनगरमा ३० भन्दा बढी टिकट बुकिङ काउण्टर रहेको व्यवसायीहरु बताउ छन् ।

व्यवसायीले आफु खुसि ल्याउने लाने गर्दा यात्रु ठगीने गरेका छन् । विराटनगरबाट काठमाण्डौकालागी छुटने गाडीमा यात्रुहरुकालागी कुनै पनि समस्या नभएको मोरङ टूाफिक प्रमुख प्रहरी निरिक्षक शिवप्रसाद पोखरेलले बताए । टिकट पाएका यात्रुहरुले काठमाण्डौ जान कुनै समस्या भएको विषयमा गुनासो नआएको उनले बताए ।