प्रदेशको स्थायी राजधानीबारे निक्कै चर्काचर्कीपछि दशैं–तिहार लाग्यो । चाडवाडको रमझमसँगै एक नम्बर प्रदेशको स्थायी राजधानीको विषयले पनि विश्राम लियो । दशैं सकियो । नामकरण र राजधानीको विषय फेरि तात्नेछ । प्रदेश सरकार गठन भएको केही हप्तापछि १ नम्बर प्रदेशको स्थायी राजधानी भोजपुर र खोटाङको सीमानामा पर्नेे चखेवा उत्तम हुने मेरो लेख प्रकाशन भएको थियो । सकारात्मक र नकारात्मक कमेन्ट्स पाएको उक्त लेखमा केही खिसीट्युरी पनि आएको थियो । वर्षे अधिवेशनमा एक नम्बर प्रद्रेशको नाम र राजधानी प्रस्तावसम्म हुने अपेक्षा थियो । तर, भएन । वर्षे अधिवेशन चलिरहेकै बेला सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी काङ्ग्रेसले आ–आफ्नो संसदीय दलमा छलफल चलायो । यही छलफलको सेरोफेरोमा स्थायी राजधानीबारे निक्कै चर्काचर्कीमात्र भएन आरोप–प्रत्यारोप पनि भयो । सत्तासिन र प्रतिपक्षी दलको बैठकमा चखेवाको बारेमा कुरा उठेको पाइएन । तर, उदयपुर र सुनसरीको सीमानामा पर्ने चतरा (सप्तकोशी किनार) को भने दुवै दलको बैठकमा छलफल भएको सार्वजनिक मिडियाहरूबाट जानकारी भयो । प्रदेश सभामा औपचारिक रूपमा छलफल र निर्णय हुन बाँकी छ । मत अझै भन्छु, उच्च सम्भावना बोकेको ट्याम्के र मैयुङबीचको रमणीय चखेवालाई राजधानी बारे अझै विचार गरियोस् । छलफलमा आएका नामहरू भन्दा चखेवा वातावरणीय हिसाबले सय गुणामाथि छ । तुलनात्मक हिसाबले पित्तल र सुन जतिकै फरक छ । एक पटक त्यहाँ पुगेर आउने प्रायलाई थाहा हुन्छ । चखेवा जत्तिको प्राकृतिक सुन्दरता बहसमा आएका नामहरूमा अरबौं डलर खर्च गर्दा पनि त्यो जति पुग्नै सक्दैन । मध्ये पहाडी सडक पूर्ण कालोपत्रे बनेपछि भौगोलिक हिसाबले पनि चखेवा प्रदेशकै केन्द्र भागमा पर्छ । इलाम ताप्लेजुङ, सोलुखुम्बु, ओखलढुङ्गादेखि झापा मोरङबाट पनि केन्द्र पर्छ ।
चखेवापछि दोस्रो प्राथमिकता चतरा हो । चतरा दुवै दलको बैठकहरूमा बहसमा आएको छ । भविष्यलाई ख्याल गर्ने र प्रदेशमा एकमत हुने भए स्थायी राजधानी प्रस्तावित अन्य ठाउँ भन्दा चतरा उपयुक्त हुन्छ । विश्वको विभिन्न देशको राजधानी नदी वा समुद्र किनारमा रहेका छन् । बेलायतको राजधानी लण्डनको बीचबाट थेम्स नदी बगेको छ । त्यस्तै फ्रान्सको राजधानी पेरिस सीन नदी, रुसको राजधानी मस्को मस्कव नदी, जापानको राजधानी टोकियो अराक्वा, भीयतनामको राजधानी हनोइ रेड रिभरको छेउमा छ । इराकको बग्दाद टिग्रिस नदीको किनारमा अवस्थित छ । शहरहरूको कुरा गर्ने हो भने त्यही हङ्कङमा हन नदी छ । जर्मनीको बर्लिन स्प्री, अमेरिकाको न्यूयोर्क शहर हड्सन नदी, इटलीको रोम टिबर, पाकिस्तानको लाहोर रभी नदीकै किनारमा छ । विश्वको दुई दर्जन ठूला शहरहरू नदी किनारमा रहेका छन् । जुन विश्वको आकर्षक शहरमा गनिन्छन् । दुई तिहाई सभासदस्यहरूको कुरा मिले चतरा प्रदेशको निक्कै शान्त र सुन्दर राजधानी बन्न सक्छ । सात मध्ये एकमात्र राजधानी नदी किनारमा स्थापित हुनेछ । चतरा भौगोलिक रूपमा पनि प्रस्तावित अन्य ठाउँ भन्दा केन्द्रमा पर्दछ । पर्यटकीय हिसाबले निक्कै आकर्षक केन्द्र हुनेछ । पहाड र तराईको सङ्गम स्थल चतराबाट जल यातायात शुरू भइसकेको छ । त्यहाँ बान्की परेको पुलमात्र बनाउन सके देश विदेशबाट पर्यटक तान्न सकिन्छ ।
तेस्रो प्राथमिकतामा धनकुटा रोज्नु पर्छ । प्रदेशको अधिकांश भूभाग डाँडाँकाडा र हिमालले भरिएको छ । यो हिसाबले पनि एक नम्बर प्रदेश हिमाल पहाडको पनि राजधानी हो । मधेशभन्दा कम जनघनत्व, सामरिक महत्वको हिसाबले सुरक्षित, यातायात, विद्युतलगायतको मापदण्डको हिसाबले पूर्ण, विकेन्द्रीकरणको सिद्धान्तसँग मेल खाने, हावापानी (वातावरणीय) हिसाबले उचित भएकाले धनकुटा स्थायी राजधानीको अर्को विकल्प बन्छ । समथर भूभागभन्दा वातावरणीय तथा पर्यटकीय दृष्टिकोणले धनकुटा प्राथमिकतामा पर्नुपर्छ ।
एउटै शहर विराटनगर, गोठगाउँ, इटहरी र धरान चखेवा, चतरा र धनकुटाभन्दा बढी विराटनगर, गोठगाउँ, इटहरी, धरान बसहमा छ । मोरङको विराटनगर, गोठगाउँ, सुनसरीको इटहरी, धरान, तरहरा र इनरुवालाई स्थायी राजधानी बनाइनुपर्ने दुवै दलको बैठकहरूमा बहस भयो । प्रदेशसभा सदस्यहरू सबैलाई थाहा हुनुपर्छ विराटनर र धरान करिब ४० किलोमिटरको दूरी हो । विराटनगर इटहरी करिब २२ किलोमिटरको दूरीमा छ । यो सङ्घीय राजधानी काठमाडौंको रिङरोडभन्दा ७ किलोमिरटर कम हो । यद्यपि राजधानीको विषयलाई लिएर करिब ४० किलो मिटरलाई टाढा मानेर विराटनगर, इटहरी, धरान र गोठगाउँवासी भने तानातान गरिरहेका छन् । राजधानी विराटनगर, इटहरी, गोठगाउँ र धरान मध्ये एकै ठाउँ केन्द्रित गर्ने कि मन्त्रालय लगायतका कार्यालयहरू विकेन्द्रित गरेर राजधानी करिडोर बनाउने बहसमा छ । यी शहरहरूलाई छुट्टाछुट्टै मान्ने हो भने वातावरणीय हिसाबले इटहरी, धरान, गोठगाउँ वा तरहरा छान्न सकिन्छ । तर, विराटनगर, इटहरी र धरानलगायतका क्षेत्रहरू भविष्यमा एउटै शहर हो । तीन शहरमात्र होइन । बाहिरी रिङरोड निर्माण गर्ने हो भने झापा, मोरङ र सुनसरी नै काठमाडौ, ललितपुर र भक्तपुरभन्दा उच्च कोटीको शहरको रूपमा विकास हुन सक्छ । प्रदेशलाई वृहत्तर रूपले हेर्ने भन्दा साना–साना कुरालाई लिएर तानातानमा उत्रिनु प्रदेशको भविष्य प्रति बेवास्ता गर्नु सरह हो । अझै यथास्थितिवादी सोचाइ प्रदेश सरकारले १ नम्बर प्रदेशलाई विकासको नयाँ मोडेलसहित प्रस्तुत हुनुपर्ने होला । निश्चित समय चक्रभित्र एकीकृत बस्ती विकास, जलविद्युत, पर्यटन, कृषि, उद्योग, युवाहरूलाई रोजगारी र पूर्वाधार विकासको मोडेल निर्माणसहित राजधानीको प्रस्ताव हुनु पर्छ । योजनामा प्रदेश सभा सदस्यहरू, भूगोलको विद्वतवर्ग र आम जनताले साथ दिनु पर्ने हो । तर, बहस हेर्दा हामी अझै यथास्थिति मै छौं । राजधानी प्रस्तावमा कुनै न कुनै निहित स्वार्थ झल्किन्छ । केही राजनीतिक, केही व्यापारिक–व्यावसायिक स्वार्थ, केही आफ्नो पहुँच प्रदर्शन गर्ने, केहीको विमानस्थलबाट उत्रिनेसाथ राजधानी टेक्न पाइयोस् भन्ने र केहीको घर घडेरीको मूल्य वृद्धि गरेर करोडौं कमाउनेसम्मको स्वार्थ देखिन्छ । आफ्नो डेरा, घर–घडेरी छेउमै होस् भन्नेमा जोड गरिरहेका छौं । राजधानी स्वार्थहरू भन्दा माथि उठेर सोच्नु पर्ने हुन्छ । राजधानी झापा, मोरङ, सुनसरी, उदयपुरको लागि मात्र होइन । सोलुखुम्बु र ताप्लेजुङ जिल्लाको दुर्गम इलाकाको पनि दूर–दराज क्षेत्रमा बस्ने जनताको भावना पनि भुल्नु हुँदैन । पूर्ण रूपमा विकास भइसकेको र राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा परिचित भइसकेको शहर विराटनगरलाई प्रदेशकै औद्योगिक क्षेत्रको रूपमा विकास गर्न सकिन्छ । यो शहरलाई असुरक्षित त भन्न मिल्दैन तर वातावरणीय हिसाबले चतरा, चखेवा, धनकुटा, धरान र इटहरीभन्दा राम्रो भन्न मिल्दैन । नेपालमा हालसम्म विकासको प्रभावकारी मोडल छैन । प्रदेशमा त हुने कुरै भएन । स्वभाविक प्रकृयामार्फत् हुने भौतिक विकासको स्फूर्त मोडलको भरमै छ नेपाल । दक्षिण एसियामा प्रभाव जमाउँदै आएको हाम्रो छिमेकी मुलुक भारतको केरलाको विकासको मोडल नमूनाको रूपमा लिन सकिन्छ । गरिबी (भोकमरी) ले ग्रस्त केरलामा कम्युनिष्ट शासन स्थापनासँगै विकासको नयाँ मोडेलले त्यहाँ प्रगति शुरु भएको थियो । स्वास्थ्य, शिक्षा रोजगारी तथा भौतिक विकासको लागि विकेन्द्रिकरणलाई जोड दिएका थिए । केरला सरकारले आफ्नो योजना सफल बनाउन केन्द्रदेखि नगर–नगरमा स्वयम् सेवकहरू खटाएका थिए । विकासको हिसाबले छौटै समयमा फड्को मारेका सिङ्गापुर, दक्षिण कोरिया, ताइवान र हङकङले भौगोलिक विशेषताअनुसारको मोडल तयार गरेर उन्नति शुरु गरेका थिए । समाजशास्त्रीय चिन्तकहरूले यी मुलुकहरुलाई ‘पूर्वी एसियन टाइगर’ भनेर संश्लेषण गरेका छन् ।
नेपालमा जहानीय राणा शासन, राजतन्त्र र एकतान्त्रिक राज्य व्यवस्था विकासको बाधक बन्यो । एकतन्त्रीय राज्य व्यवस्थाको अन्त्यपछि पनि एकात्मक र खासगरी एक जातीय राज्य चल्यो । विकासको मोडलकै रूपमा पञ्चवर्षीय योजना बनेपनि प्रभावकारी बन्न सकेन । पुरानो व्यवस्थाले नेपालको समग्र विकास सम्भव नहुने भएकैले लामो सङ्घर्षपछि गणतान्त्रिक सङ्घीय राज्यव्यवस्था कार्यान्वयनको पहिलो चरणमा छौँ हामी । तर, हाम्रो सोच अझै पनि केन्द्रिकृत नै छ । जहाँ भिडभाड छ । त्यहीँ थप भीड गर्ने प्रकारको हाम्रो सोच परिवर्तन भएको छैन । सङ्घीय राज्यको तीव्र सामाजिक, सांस्कृतिक र भौतिक विकासको लागि स्थापना भएको हो । सबैखाले विभेदको अन्त्य र सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि हो सङ्घीयता । त्यसकारण निर्णय कर्ताहरूले प्रदेशको राजधानी बनाउँदा सबैखाले स्वार्थबाट मुक्त भएर प्रदेश विकासको नयाँ मोडलको रुपमा केन्द्र तोकियोस् । [email protected]