धरान/ छठ पूजा चार दिवसीय उत्सव हो । यसको शुरुवात कार्तिक शुक्ल चतुर्थीबाट हुन्छ । र, कार्तिक शुक्ल सप्तमीको दिन समापन हुन्छ । छठका व्रतालु निरन्तर ३६ घण्टा पानी नखाई व्रत बस्छन् । यो व्रतमा शुद्धतालाई ध्यानमा राखेर उपवास बसिन्छ । यो व्रत कठिन व्रतहरू मध्येमा पर्दछ । यो पटक छठ पर्व ११ नोभेम्बर ‘नुहाय–खाए’ बाट शुरु भएको छ । र, नोभेम्बर १४ मा समापन हुन्छ ।
छठ पूजा वास्तविक रुपमा प्रकृतिको पूजा हो । यो अवसरमा सूर्य भगवानको पूजा हुन्छ । सूर्यलाई देख्न सकिने एक मात्र भगवान्का रूपमा लिइन्छ । अस्ताउँदो सूर्य भगवान्को पूजा गरेर सूर्य भगवान्को उपासना गरिन्छ । व्रतालुहरूले दिनभर उज्यालो प्रदान गर्ने सूर्य भगवान्लाई अस्ताउँदा पनि पूजा अर्चना गर्नुपर्छ भन्ने मान्यताअनुसार भक्तिभाव प्रकट गर्छन् । छठ पूजाको अवसरमा नदी, ताल, जलाशयको किनारमा पूजा गरिन्छ ।
यसले सरसफाईको प्रेरणासमेत प्रदान गर्छ । यो पर्वले नदीलाई प्रदूषण मूक्त बनाउनलाई समेत उत्प्रेरित गर्छ । यो पर्वमा केरा, स्याउ, ऊखुसहित कयौं फलफूललाई प्रसादका रूपमा पूजा गरिन्छ । यसबाट वनस्पतीको महत्वसमेत उजागर भएको पाइन्छ ।
भगवान् सूर्यको बहिनीको रूपमा छठ देवीको उपसना सूर्योपासनाको यो पर्व सूर्य षष्ठीका दिन मनाइन्छ । यसलाई छठ भनिन्छ । यो पर्वले परिवारमा सुख, समृद्धि र मनोवाञ्छित फल प्राप्त हुने विश्वास लिइन्छ । छठ देवी सूर्य भगवान्की बहिनी हुन् भन्ने मान्यता रहिआएको छ । तसर्थ यस पर्वमा व्रतालुहरू सूर्यलाई अर्घ दिँदै छठ देवीलाई प्रसन्न बनाउका लागि सूर्यको आराधना गर्छन् ।
ज्योतिषशास्त्रमा सूर्यलाई सबै ग्रहहरूको अधिपति मानिन्छ । सबै ग्रहलाई प्रसन्न राख्नुबाहेक मात्र सूर्यको आराधना गर्दा र नियमित अर्घ अर्पण गर्दा धेरै लाभ हुने धार्मिक मान्यता छ ।
यसरी गरिन्छ सूर्यको पूजा छठ पूजाको चार दिवसीय अनुष्ठानमा पहिलो दिन ‘नुहाय–खाए’, दोस्रो दिन खरना र तेस्रो दिन अस्ताउँदो सूर्य र चौंथो दिन उदाउँदो सूर्याको पूजा गरिन्छ । ‘नुहाय–खाए’ का दिन नदीमा स्नान गर्ने गरिन्छ । यो दिन चामल, चनाको दाल आदि परिकार बनाइन्छ ।
कार्तिक शुक्ल पञ्चमीलाई खरना भनिन्छ । यस दिन व्रत बसिसकेपछि साँझमा व्रतालुहरूले भोजन ग्रहण गर्दछन् । षष्ठीका दिन सूर्यलाई अर्घ दिएर तलाउ, नदी वा घाटमा गएर नुहाउने र अस्ताउँदो सूर्यको पूजा गरिन्छ । सप्तमीका दिन सूर्योदयको समयमा पूजा अर्चना गरेर प्रसाद वितरण गरिन्छ ।
छठको वैज्ञानिक महत्व सूर्यलाई जल अर्पण गर्नुको पछाडि वैज्ञानिक महत्व छ । मानव शरीरमा रङ्गको सन्तुलन बिग्रियो भने पनि कयौं रोगको शिकार हुने खतरा हुन्छ । बिहानको समयमा सूर्यदेवलाई जल चढाउने समयमा शरीरमा आउने सूर्यको प्रकाशले रङ्ग सन्तुलन हुने वैज्ञानिक तर्क ( प्रिज्मको सिद्धान्त) छ ।
सूर्यको प्रकाशले शरीरको रोग प्रतिरोधात्मक शक्ति बढ्दछ । सूर्यको प्रकाशबाट प्राप्त हुने ‘भिटामिन डी’ शरीरले प्राप्त गर्दछ । सूर्यको प्रकाशबाट छाला सम्बन्धी रोगमा कमि आउँछ ।
नदी किनारमा व्रतालुको घुइँचो छठ पर्वले नेपाली समुदायमा धार्मिकसँगै सांस्कृतिक रूप ग्रहण गरेको छ । यो पर्व धार्मिक सहिष्णुता उच्चतम नमूनाका रूपमा विकास हुँदै आएको छ । केही वर्ष अघिसम्म तराईवासीले मनाउँदै आएको पर्व नेपाली पहाडी समुदायमा पनि विस्तारित हुँदै गएको पाइन्छ ।
हिन्दू धर्मावलम्बीले मनाउने छठ पर्वले बहुधार्मिक आयाम ग्रहण गरेको देख्न सकिन्छ । नेपालमा बसोबास गर्ने हिन्दू सम्प्रदायसँगै मुस्लिम समुदाय, किरात समुदाय र बौद्धमार्ग अनुशरण गर्नेहरूले पनि यो पर्वलाई धार्मिकसँगै सांस्कृतिक रूपमा ग्रहण गरेका छन् ।
नेपालका सबैजसो नदी किनारमा मनाइने यो पर्व विशेष गरी मिथिला क्षेत्रबाहेक मेची, कोशी नदी र यसको शाखाहरूमा समेत छठ व्रतालुहरूको घुइँचो देख्न सकिन्छ । साझा पर्वका रूपमा ग्रहण गरिएको छठ पर्व प्राकृतिको पूजा, उपासना गरी मनाइने हुँदा यसका विभिन्न आयाम र महत्वहरूलाई ग्रहण गरेको पाइन्छ ।