गरिवी, रोग, अनिकाल, अशिक्षा र बिदेशीनु जस्ता सामाजिक कलंकहरु हाम्रो देशले भोग्न बाध्य छन् ।

अरु देशमा काम गरीखाने व्यवस्था राज्यले मिलाएको हुन्छ । कसरी यति धेरै फरक परेको होला, हाम्रा देशसँग, अरुको देश? भोगाइका यी प्रश्नहरुले मन बेचैन थियो, अचानक झस्केँ । अन्तिम दोष शासकहरुको नालायकीपनमै पुग्यो मेरो ठहर ।

यतिकैमा कतिखेर निन्द्राको न्यानो काखले अंगालो हालेछ ।

असहिष्णु दरिद्रताको पीडाबाट थलिएको म, हिजोको चर्को खनजोतले गर्दा बिहान ढिलो बिम्झेँ । मेराहात, खुट्टा, शरीर लगायत सबै अंगहरु दुखिरहेकोले जुरुक्कै उठ्न सकिन । बिस्तारै आफ्नो शरीरलाई अल्टाइ पल्टाइ गरी तङग्राउँदै युयुको घरतिर लागेँ ।

मेरो बाल्यकाल अकल्पनीय कष्टकासाथ बित्यो । त्यसबेला मेरो पेटमा चारो छ की छैन, विवेक पुर्याउने, मलाई संरक्षण गर्ने, अलिक हुर्केपछि काम धन्दा र व्यवहार सिकाउने मेरो लागि एकमात्र युयु थिइन् ।

सायद यहीं कारणले होला, म उहाँको लागि एक वफादार नातिको रुपमा छुभने मेरो लागि उहाँ कुशल अविभावक र बलियो आडभरोसा । जुनसुकै समस्या र कामकारवाहीहरु भईपरि आउँदा सर्वप्रथम म उहाँबाटै सल्लाह र सुझावहरु माग्दै र पाउँदै आएको छु । भोलि बिहानै भञ्ज्याङ्गे साहुको नुन लिन कालापोखरी जानुछ ।

बाटोमा हुन सक्नेसम्भावित आपतविपदबारे सरसल्लाह गरेर घर फर्केँ ।

सिकुवामा झुण्डयाइ राखेको कोक्रोमा ६ महिनाको बच्चालाई सुताएरश्रीमति सुंगुरको चारो खोज्न जंगलतिर गई सकेकी रहेछिन् । नानी बिम्झिने डरले बिस्तारै ढोका उघारेँ । घरभित्र केहिखाजा छ कि भनि यताउति आँखा घुमाएँ ।

हिजै उसिनेर राखेको २/४ वटा फुलतरुल डालोमा राखेको रहेछ । तिहुनको लागि चुलामा मस्याम उसिनी राखेको थियो । जलेर छेउछेउसम्म पुगेका अगुल्ठाहरु ठोसठास गरीआगो बालेँ । कनै मालिकको ईमान्दार नोकर झैं फुलतरुल खादै, ढाकर निकालेर टक्टक्याएँ । लाप्ताकहरु छिनेको रहेछ, बुनेर नयाँ लगाएँ ।

पसिना पुछ्नको लागि, चोयाको कुङ्गलिङ्गे बनाइ सुत्लीको डोरीले बाँधेर ढाकरमा झुण्ड्याएँ ।

श्रीमतिले चारो लिएर आइन् र खोरमा भएको सुंगुर खासै बढेको थिएन । त्यसलाई हेर्दै, नाथे अधिया सुंगुर फाप्दो पनि रहेनछ, अब त बरु पाल्दिन ! भन्दै गुन्गुनाउँदै हतार हतार खानपिन बनाउन थालिन् । खानाखाइ सक्दा नसक्दा नानी उठेकोले दुध चुसाउँदै एकछिन आराम जस्तो गरिन् र तुरन्तै साहुको घरमा नानी बोकेर खेतला लागिन् ।

मभने नुन बोकि दिएको ज्यालाको पेश्की लिन पसलतिर लागेँ ।

पाएको पेश्कीले घरमा चाहिने भुटुुन, चामल र मसला जस्ता खुद्राखुद्री सामान लिएर झण्डै झण्डै श्रीमतिसँगैमात्र घरमा आईपुगेँ । बेलुकीको धन्दापात सकेर खानपिन गरी ओछ्यानमा ढल्केपछि सम्झेँ,मैले युयुकोगुणहरु कहिले तिरेर सक्ने ? बिहान सबेरै निन्द्राले छोड्यो । उठेर हाँडीमा मकै भुटेँ ।

चियासँग भुटेको मकै खाएपछि सुतिराखेको नाबालक छोरालाई एकपटक स्नेहपूर्वक हेरेँ ।

म नभएको बेलाश्रीमतिले गर्नुपर्नेकेहि कामहरु अर्हाएर हिजै ठिक पारेको ढाकर बोकी बाटो लागेँ । उज्यालो भूँईमा खसेको थिएन । सेताम्मै तुसारोमाथि टेक्दा सुनिने सर्याप...सर्याप...को मन्द आवाजसँगै मेरो पाईलाहरु अगाडि बढ्यो । बाटो केवल उकालो भएकोले जाडो भएपनि हिड्दै जाँदा जिउ तात्ने आसमा ।

पाखाभित्ता भएर ढुङ्गेनी ढाँड, अनकण्टार जंगल, अग्लाअग्ला डाँडा हिडनु पथ्र्यो ।आकासेभञ्ज्याङ्ग, भोटेगाउँ, बतासे, स्यालधोति, हल्हल्ले हुदै भुसपातेको गोरेटोमा हिड्दा टेकेको तक्माङ्गको टक्क..टक्क..आवाजले मेरो मौनता भंग हुनुबाहेक साथमा कोहि थिएन । पानी भेटिने कुनै ठाउँमा आफूले बोकेको सातुले नै त्यो दिनको छाक टार्ने निधो थियो मेरो ।

हिडाइले थकाइ र भोक लागेपछिमाइओडारको चौतारामा ढाकर बिसाएँ । ढाकरबाट सिल्भरको थाल निकालेँ । पानी थापेर तीनमुी सातुहाली घोलेर खान्दै थिएँ । एकजना अपरिचित बटुवा मेरो छेउमा आएर बस्यो ।

त्यो मान्छेलाई पनि दिउँ भन्दा सातु सिमित छ, आफु पनि परदेशी, तर मागिहाले दिनुपर्ला भन्ने सोच्दै धमाधम खाइरहेको बेला, हजुरको घर कता हो र अहिले कहाँसम्म जादै हुनुहुन्छ ? बटुवाले मलाई सोध्यो ।

मेरो घर पाँचथर जिल्लालुवाफु गाउँपंचायत वार्ड २ आकासे हो। म साहुको नुन बोक्न कालापोखरीसम्म जाँदैछु । अनि तपाईको घर चाहीं कहाँ पर्यो ? प्रतिप्रश्नसँगै मेरो वतन बताइदिएँ । चोर औंलाले देखाउदै चौताराबाट देखिने तलको ठाउँ नै आफ्नोगाउँ भएको बतायो ।

मपनि तपाई जानेतिर नै लाग्दैछु गफगाफ गर्दै सँगै जाउँ न त बाटो पनि सजिलै काटिने हुन्न र ?उसले फेरि भन्यो मैले हुन्छको संकेत दिंदै टाउको मात्र हल्लाएँ । उ अघि अघि म पछि पछि भएर हामी हिडिरहेका थियौं ।

उसले मेरो नाम सोध्यो । मैले धनबीर लिम्बु भनेँ । त्यसपछि क्रमश ब्यवहार, परिवार, आर्थिक स्थितिबारे सोध्यो । र सोध्यो समाजमा हुने अन्याय, अत्याचार, शोषण, दमन र दुःख पिडाका बारेमा पनि ।अहिलेसम्ममैले जे जे देखेको र व्यहोरेको थिएँ, त्यै त्यै भन्दै गएँ ।

समाजमा ठगेर रातारात धनी बनेकाहरुसँग गरीवहरुबीच हुने अन्तरविरोधहरुको कुरा साच्चै नै चित्त बुझ्दो थियो । ठगीखाने र काम गरेर खानेहरुको लडाईंको इतिहास रतिनीहरुलाई समाप्त गर्ने कार्यदिशा, कार्यक्रम, कार्ययोजना र कार्यभारहरु झन चाख लाग्दा थिए ।

जति जति उसको कुरा सुन्दै गएँ ।म झन झन उत्साहित भएरथप अरु अरुपनि सोध्न थालेँ । मैले सोधेका सबै कुराको जवाफ दिंदै अन्तमा सा¥है गोप्य हुनु पर्ने बतायो ।कुनै ब्यक्तिलाई बिश्वास लागेमात्र यस्ता कुरा गर्न सकिने भन्दै गोप्य हुन नसक्दा घटेका केहि घटनाहरुको उदाहरण समेत दियो ।

लामपोखरीको फेरो, लुङ्गचोकको पाखा र सातपत्रे भिर काटेलगतै हामी दुईको संवादलाई मन पराएर होला, छेर्छेरे र बिखेभञ्ज्याङ्गहरु बादलको घुम्टो खोलीपश्चिम बंगालका केहिभागलाई काखमा राखेर मुस्कुराइरहेका थिए । पसिनैपसिनाले भिजेको शरीरलाई सिर्सिरे बतासको फुलपाति बर्षाउँदै सितल दिइरहेका थिए ।

यहीं सितल बतासको स्पर्शमा मख्ख पर्दै थकित शरीरलाई विश्राम दिएर आँखाले भ्याएसम्म वरिपरिको दृष्यमा एकछिन रमाइरहेको बेला, उसले राजाको शासन फालेर गरिवको शासन ल्याउनको लागि आफु कम्युनिष्ट भएर भूमिगत राजनीतिमा रहेको कुरा बतायो ।

आफु पाँचथर पनि आउने भएकोले उसले मेरो गाउँमा पनि आउन सक्ने कुरा गर्यो । मलाइ पनि उसको कुरा मन परेकोले आउँदा केहि फरक नपर्ने कुरा गरेँ । मेरो घर आउने बाटोको नक्सा बताएँ । उसले कोर्यो ।

कालापोखरी पुगेपछि म साहुको दोकानमा नुन भारी लगाउन थालेँ ।

ऊ मसँग छुट्यो । मैले नुनको भारी ३ दिनमाल्याइपुर्याएँ । यसपटकको नुन बोकाइसधैंको भन्दा निक्कै भिन्न र गहन विषयवस्तु संगालेको अनुभूति गर्दै मेरो घरमा ढाकर थन्काएर युयुको घर पुगेँ । नुन बोक्न जाँदा बाटोमा अपरिचतसँग भएका अन्तरंग कुराकानीहरुको सबै विवरण युयुलाई सुनाएँ ।

२०२८ सालमा झापा विद्रोहमा सरिक हुँदै अहिले भूमिगत भएकाहरु हुन् भन्ने कुरा युयुले बुझिहालिन् । अपरिचित व्यक्ति आयोभने सोचबिचार गर्ने निश्चयका साथ युयु र म छुट्यौं । एकदिन आधारातमा अचानक ढोका ढक्ढक्कियो । सानो स्वरले धनबीर जी... ! भनेको सुनेँ । स्वर कता कता चिनेजस्तो लाग्यो ।

अन्ध्यारोमै बिस्तारै ढोकाखालेर नियालेँ । नुन लिन जाँदा बाटोमा भेटेको मान्छे नै हो भन्ने निश्चित भयो । मैले हातको ईसाराले भित्र बोलाएँ । कुपी बालेपछि केवल नक्साको भरमा यति राति पनि आइपुगेकोलेछक्क पर्दै हातको चालसँगै बिस्तारै सोधैँ ।

कसरी आइपुग्नु भो ? साधुको भेषमा दिउँसो घुमेर सबै पत्ता लगाइ राति आएको भनेपछि भूमिगत भएर राजनीति गर्नेहरु सार्है चलाख र चतुर हुँदारहेछन् भन्ने कुरा मलाइ प्रष्ट भयो । खाना खाएरै आएको भनेपछि घरको तलामाथि चढाएँ ।

भएका ओड्ने ओछ्याउने दिएर आगन्तुकलाई सुताएपछि उसकोबारेमा श्रीमतिलाई सबै कुरा बताएँ । आगन्तुक आएमा के गर्ने भन्ने कुरा पहिले नै युयुसँग सल्लाह भएकै थियो । बिहानै उठेर म आगन्तुक आइपुगेको खबर गर्न युयुको घरतिर गएँ ।

आज दिनभर मेरै तलामाथि रहने र राति युयुको घरमा सार्ने निधो भयो । आगन्तुकलाई यहीं जानकारी दिंदै दिउँसो पिसाब फेर्न बाँसका धिग्री तलामै लगिदिएँभने दिसाको लागि चारवटा जति टपरी राखिदिएर, श्रीमति र म आ-आफ्नो काममा लाग्यौं ।

बेलुकीगाउँका सबै मान्छे सुतेपछि आगन्तुकलाई लिएर युयुको घर गएँ ।

दुईरातसम्मको बसाइमा हामी घरका सबै परिवारलाई राजनीतिका धेरै कुराहरु सहित भुमिगत तरिकाहरु आगन्तुकले सिकायो । अवस्था अनुसार गाउँका अरुलाई पनि सम्पर्क दिंदै जाने जिम्मेवारी म र युयुलाई प्रदान गरि फेरि आउने शर्तमा आगन्तुक लाग्यो ।

अर्मपर्म, अ‍ैंचोपैंचो र लेनदेन ब्यबहारको मौका पारेर अरुका मनका कुराहरु बुझ्दै बिस्तारै सम्पर्क बढाउँदै गयौं । युयुले मेरो र मैले उहाँको बारेमा मेसो नपाउँने गरी त्यो काम गरिरहेका हुन्थ्यौं । तर आज कोसँग, कसरी कुराकानी हुदैछ र त्यसको प्रतिक्रिया के आउदैछ भन्ने कुरा हामी दुवैलाई थाहा थाहा भइराखेको हुन्थ्यो ।

गरिबीले पिल्सिएको ठाउँ भएकोले होला, केहि महिनापछि त एकाद्ध सामन्तका घरबाहेक सबै युयु र मेरो भनाइमा गाउँ पुरै एकढिक्का भई सकेको थियो । अघिल्लो पटक दुइवटा मात्र घर भएको ठाउँ, पछिल्लो पटक आउँदा त गाउँ सबै एउटै भएको देखेर आगन्तुक छक्क प¥यो । हप्तादिनको बसाइमा प्रत्येक रात प्रशिक्षण चलाएर मान्छेको मनलाई अझ दर्हो बनाउने काम भयो ।

गाउँका बुढाबुढीदेखि उमेर पुगेका सबै एक हुनाले आकास खस्न सक्थ्यो तर कुनै हालतमा कुरा चुहिने डर हुदैनथ्यो । माथिल्लो, तल्लो, वारिपारिका गाउँतिर बिस्तारै सम्पर्कहरु बढ्न थाले ।अरुतिरका संगठनसँग हाम्रो गाउँको संगठन जोडिन थाल्यो ।

त्यसपछित ठूलठूला नेताहरु समेत बस्ने सुरक्षितक्षेत्र कहलिन थाल्यो हाम्रो गाउँ ।

भद्धा र महँगो गरी मान्दै आएका सामाजिक संस्कारहरु, चाडपर्व लगायत समाजका सबै नराम्रा र खर्चिला कुराहरुको विरुद्धमा आवाजहरु उठ्न थाले ।सावाँको ब्याज र ब्याजको स्याज थोपरेर ठूलाबडाले जवरजस्त खोसेका गरीवहरुको जग्गा जमिनहरुफिर्ता हुनथाले ।

गाउँमा भईपरि आएकादुःखविमार, होचोअर्घेलो, सार्रोगार्रो र मर्दापर्दाका समस्याहरु सामूहिक ढंगले हल गर्न थालेपछि पहिलेको तुलनामा धेरै सजिलो भएको महशुष हुनथाल्यो । जनताले गाउने सुखदुःखका गीत संगीतहरु गुञ्जिनथाले ।

यो गतिबिधीहरु तत्कालीन गाउ समिति सदस्य, वडाध्यक्ष, उपप्रधान र प्रधानपंच हुँदै प्रहरीहरुको कानमा नपुग्ने कुरैभएन ।यो गाउँलाई पटक पटक दमन गरे, कतिलाई यातना दिए र जेलमा कोचे, तर जनता एक भएपछि कसको के लाग्छ र ?

जाली फटाहाहरुलाई जोगाउने राजाको शासन नै थियो । जुन दिनसम्म त्यो ढल्दैन त्यस दिनसम्म देशले मुक्ति पाउन सम्भव थिएन ।सबै बराबरी हुने शासनमात्र जनताको असली शासन हुन्छ । त्यो शासन ल्याउनको लागि सबैभन्दा पहिले राजाको शासन अन्त गर्नुपथ्र्यो ।

त्यो शासन बन्दुकको बलमा टिकेको हुँदा बन्दुकले मात्र अन्त गर्न सकिने कुरा हाम्रा गाउँमा आउने नेताहरुले पटक पटक सिकाएका थिए हामीलाई । मर्नुपरे सबै मर्ने तर यो शासनलाई नफाली नछोड्ने कुरा हामीलाई प्रत्येक नेताहरुले सुरुदेखि नै भनेका थिए ।

त्यो कुरा मनमा यसरी छाप लाग्यो की, उठ्दा बस्दा खाँदा र हिड्दा समेत हाम्रो दिमागमा यसलाई फाल्नेभन्दा अर्को थिएन ।२०४६ सालपछि पहिला जस्तो लुक्न नपर्ने, प्रहरीले पक्रिन, थुन्ननपाउने त भयो, तर राजाको शासन ज्यूँ का त्यूँ थियो ।

तलामा लुकाएर बाँसका धिग्रीमा पिसाब र टपरीमा दिसा बोकिदिएका पहिलेका मान्छेहरु कता गए कता गए ? कहिल्यै आएनन् । गाउँमा त चैते नेताहरु आउन थाले । भोट माग्थे, चुनाव जित्ने कुरा गर्थे तर राजाको शासन ढाल्नुपर्छ कहिल्यै भन्दैनथे ।

जितेर जान्थे त्यो शासनको विरुद्धमा सदनबाट कहिल्यै बोल्दैनथे । राजाको शासन फालेर जनताको शासन ल्याउने त्यत्रो सपना बोकेर आएका मान्छेहरुलाई चैते नेताहरुले यो वा त्यो वाहनामा उपभोग मात्र गरिरहेका थिए । लुकिछिपीको बोली व्यवहार र यो खुल्ला अवस्थाका बोली व्यवहारमा देखिने आकास पतालको फरकपनले मलगायतको पटक्कै चित्त बुझेको थिएन ।

ठिक त्यसैबेला हाम्रो देशको पश्चिमी क्षेत्रबाट जनताले लडाईं सुरु गरे । प्रत्यक्ष बन्दुक बोकेर लडन थालेपछि सर्वसाधारण जनताको हर्षले सिमा नाघेर आयो । कहिले यो लडाईंमा सहभागि हुन पाईन्छ भन्ने सोचहरु पनि देखा पर्न थाले । दिन, महिना, बर्षहरु गुज्रन्दै जानेक्रमसँगै हाम्रो ठाउँतिर पनि यो लढाईंको प्रभाव पर्दैगयो ।

सम्पर्कहरु बढ्न थाले । पहिले नै भूमिगत शैली र तरिकाहरु जानेकाले सँगठनको गोपनियता र कामको बारेमा कुनै अप्ठ्यारो परेन ।

तबसम्म घर फर्काइ हुने छैन, जबसम्म राजतन्त्र ढलेको हुँदैन भन्ने सपथ खाएर एकदिन थाहै नपाइ मेरो छोरो मिराक पनि बन्दुक बोकेर लडने हाँचमा सामेल भएछ ।

उमेर पुगेर पाल्छ की भनेको एउटै छोरो पूर्णकालीन भएर जाँदा हामी आमा बाबुको मन त कहाँ मान्थ्यो र ?मेरो छोरामात्रै होईन, सबैका छोराछोरी यसरी नै लागेका छन् भन्ने सोचले देशको लागि बलिदान गर्नु हिडेकै होभने, कहिल्यै गद्धार नगर्नु वाहेक केहि भन्न सकिन मैले, तर उसको आमा त मान्दै मानिनन् ।

के के भनेर मिराकले नै फकायो ।

खाउँखाउँ लाग्दो, लाउँलाउँ लाग्दो कल्कलाउँदा, भर्भराउँदा कलिलो छोरालाई दुःखजिलो गरेर खाइ नखाइ, पढाइ, लेखाइ हुर्काएका थियौं हामी आमाबाबुले। त्यै मुटुको टुक्राले घर छोडेर हिड्दा कुन आमा बाबुको आँसु झर्दैन होला ? कुन आमा बाबुको मुटु चुडिदैन र हृदय भक्कानिन्दैन होला ? मिराकले घर छोड्दा हामी आमा बाबुको मन यस्तै भएको थियो ।

उसको आमा त बिहान बेलुका जहिल्यै रोइरहेकै हुन्थिन् । थुप्रै तरिकाले म सम्झाउँथे तर उनको चित्त बुझेको हुँदैनथ्यो । त्यो क्रमसँगै थुप्रै युवा युवति, प्रौढ र बृद्धहरु पूर्णकालीन हुदै जाँदा मिराकले घर छोडेको पनि करिब २ बर्षजति भइसकेछ ।

घर छोडेदेखि मिराक २/४ पटक घरमा आएको थियो । त्यसबेला उसले भनेका थिए की, म ब्यक्तिगत स्वार्थलाई त्यागेर गरिब दुःखिको मुक्तियुद्धमा होमिएको छु, कुनैबेला म लगायत कसैको पनि रगत बग्न सक्छ ।

आखिर मान्छे एकदिन मरिने नै हो । यो अभियानमा मरेंभने मेरो मृत्यु पहाडभन्दा गर्हौं हुनेछ जसले गर्दा म शहीद बन्नेछु । जो राष्ट्र भन्दा माथि हुन्छ । त्यसकारण तपाईहरु चिन्ता नगर्नु होला । बरु शोकलाई शक्तिमा र पिडालाई आक्रोसमा बदलेर हामी जस्ता उत्पिडीत समुदाय र जनतालाई शोषण दमन गर्नेहरु बिरुद्ध अझ संगठित हुनुहोला ।

एकदिन बिशेष योजनाबाट फर्किरहेको बेला राजाको सेनाले अनाहकमा थुप्रै निहथ्थाहरुलाई मा¥यो भन्ने अपुष्ट खबर आयो । बिनाहात हतियारका मान्छेलाई त नमार्नु पर्ने, पक्रिहाले पनि जेल सजाय गर्नुपर्ने हो, तर तानाशाहीहरुको भर चाहिं हुदैन जे पनि गर्न सक्छन् ।

खास कुरा के हो, को को र कहाँ कहाँका परेछन् ? कतै हाम्रो गाउँतिरका पनि परे की ? जस्तो लागेर मैले बुझ्ने कोशिष गरेँ । कतै हाम्रै छोरा त परेन? भन्दै श्रीमति अतालिएकी थिइन् । उनले सुनेपछि त खान सुत्नै बिर्सिइन् । मैले बुझ्ने कोसिस नगरेको होइन, तर केहि पत्ता लागेन ।

घटनास्थल आसपास युयुको माईतिगाउँ परेकोले सत्यतथ्य बुझ्नको लागि युयुलाई अनुरोध गरेँ । आफ्नो सबै काम थाँती राखि सम्बन्धित ठाउँमा पुगेर युयुले बुझेअनुसार पन्ध्रजनामा मिराक पनि त्यहाँ ढलेकै रहेछ। मिराकले गाउँलेहरुलाई जसरी सम्झाएर गएको थियो । त्यो पटकको घर आइ नै उसको अन्तिम रहेछ ।

मिराक ढलेको सुनेपछि उसको आमाको आँखाबाट खसेका बलिद्र आँसुका धाराहरु कहिल्यै सुकेन । दशमहिना पेटमा बोकेर दशधारा दुध चुसाउदै हुर्काएको बढाएको छोरा पो त भन्दै छाति पिटी पिटी रुन्थिनश्रीमति ।मेरो पनि आँसु नझर्ने त कहाँ हो र ? तर म लुकेर रुन्थेँ ।

अरुको हेराइमा आँटिलो जस्तो भइटोपलेर श्रीमतिलाई सम्झाउने प्रयत्न गर्थेँ ।

तर मलाई पनि तोतेबोलीले बोल्न सिकाउदै ताते...ताते...भनेर हिड्न सिकाएको क्षणहरुको सम्झना आइहाल्थ्यो । बालचञ्चलताको बेला बिगार गर्दा अलिक अलिक तर्साएको र सम्झाएको असंख्य पलहरुको सम्झनाले आँखा रसाइ हाल्थ्यो। ऊ ढलेको बेला उसको पार्थिव शरीरलाई अन्तिम स्पर्श गर्न त के पशु प्राणीको मराइमा गरिने सदगदसम्म हुन नसकेको तितोयथार्थले झस्काइरहन्थ्यो ।

झन खाने, सुत्ने बेला नरोएको समय छैन, आँसु नझारेको साँझ छैन ।

आजसम्म ढुक्कले खाएको छाक छैन र मस्तले सुतेको रातपनि छैन । शिद्धान्त जस्तो व्यवहार नहुने रहेछ । स्वयम आफैले व्यहोर्नु र अरुबाट सुनेर अनुभूत गर्नुमा दिशै फरक पर्दोरहेछ ।