काठमाडौं/ एसिया प्यासिफिक समीटका लागि नेपालमा पहिलो पटक ४२ मुलुकका वर्तमान राष्ट्राध्यक्ष/सरकार प्रमुखहरू आउने भएका छन् ।
समीट मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी एसिया प्यासिफिकका चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्बब्यापक मूल्य–मान्यताका विषयमा छलफल हुँदै छ ।
एसिया प्यासिफिकका वर्तमान तथा पूर्वराष्ट्राध्यक्ष÷सरकार प्रमुखहरू, सभामुखहरू, सांसद्हरू, राजनैतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू सहभागी हुँदै छन् ।
पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका अनुसार सात जना राष्ट्र÷सरकार प्रमुख तथा उपप्रमुखहरू आउँदै छन् । कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी स्टेट काउन्सिलर नेतृ आङ सान सूची पनि आउने कार्यक्रम छ ।
युनिभर्सल फिस फेडरेशन (युपिएफ) को आयोजनामा हुन लागेको समीटमा १५ सयभन्दा बढी विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा उपप्रमुख, अगुवाको उपस्थिति हुने छ । सम्मेलनमा २० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको सम्मेलन आयोजक समितिका सहअध्यक्ष एकनाथ ढकालले जानकारी दिए ।
सम्मेलनले गरिबी, आतङ्कबाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिक पतन, जबर्जस्ती विस्थापन, प्राकृतिक विपत्ति, सस्त्रको होडबाजी जस्ता बढ्दो चुनौतीलाई सामना गरिरहेको विश्व समुदायलाई ती समस्या समाधान गर्न सघाउ पुर्याउने विश्वास गरिएको छ ।
भारतीय सत्तारुढ दल भाजपाका नेता बिजय जोलीले नेपालले यस प्रकारको सम्मेलन आयोजना गरेर विश्वमा आफूलाई चिनाउने अवसर पाएको बताए । यस प्रकारको सम्मेलन नेपालमा हुँदा धेरैले रोजगारीको अवसर पाउने, बौद्ध पर्यटनले प्रश्रय पाउने र नेपालको अन्तराष्ट्रिय रुपमा प्रबर्धन हुने उनले दाबी गरे ।
सम्मेलनको उद्घाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुने छ ।
त्यसपछिका सत्रमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तर–धार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, संचार माध्यमको भूमिकाबारे छलफल हुनेछ । यस शिखर सम्मेलनमा इन्टरनेशनल एसोसिएसन अफ पार्लियामेन्टेरियन फर पिस (आइएपिपि) को पहिलो भेला पनि सम्पन्न हुनेछ ।
नेपाल सरकारको ‘समृद्ध नेपालः सुखि नेपाली’ को दूरदृष्टिलाई सहयोग गर्नु शिखर सम्मेलनको मुख्य जोड रहने आयोजक समितिका सहअध्यक्ष ढकालले बताए । ‘शिखर सम्मेलनको बेला हुने द्विपक्षीय तथा बहुपक्षीय भेटघाटले पारस्परिक लाभ हुनेछ ।
यसरी हुने वार्ता र छलफल नेपालको नयाँ कुटनीतिक अबसरको सम्भावनाहरूको अन्वेषण गर्न केन्द्रीत हुनसक्ने छन् । सम्मेलनमा सहभागी हुन आउनु हुने राज्य र सरकार प्रमुखको प्रतिनिधि मण्डलमा विदेशी लगानीकर्ता तथा उद्यमीहरू समावेश छन् ।
तिनीहरूले आपसी लाभप्रद ब्यापारिक अबसरहरूको खोजी गर्ने छन ।’ उनले भने । जलवायु परिवर्तन र काठमाडौं घोषणाबारे बिशेष उद्घोषसहित एशिया प्यासिफिक शिखर सम्मेलन समापन हुने छ । नेपाल, भारत, चीन, अष्ट्रेलिया, थाइल्याण्ड, फिलिपिन्स र अमेरिकाका कुटनीतिज्ञ तथा बौद्धिक ब्यक्तित्वहरूले काठमाडौं घोषणापत्रको मस्यौदा गर्नेछन् ।
युनिभर्सल फिस फेडरेशन अन्तराष्ट्रियका अध्यक्ष डा. थोमस जी वाल्स र फिलिपिन्सको प्रतिनिधिसभाका पूर्व सभामुख तथा आइक्याप संस्थापक अध्यक्ष साथै आइएपिपिका अन्तराष्ट्रिय सहअध्यक्ष महामहिम जोसे डे भेनेसिया जुनियर पत्रकार सम्मेलनमा सहभागी थिए ।