बेलबारी/ मोरङ केराबारी–२ सिंहदेवीकी ८१ वर्षीया लक्ष्मीदेवी खड्काले बल्ल नागरिकता प्राप्त गरेकी छन् ।

खड्काले नागरिकता प्राप्त गरेपछि खुसी हुँदै सामाजिक सुरक्षा भत्ताका लागि योग्य बनेको बताइन् । दर्जनौं नातिनतिनीले नागरिक पाइसके पनि उनी नागरिकताबाट बञ्चित थिइन् । जिल्ला प्रशासन कार्यालय मोरङले केराबारीमा सञ्चालन गरेको तीन दिने घुम्ति शिविरमा उनले नागरिकता प्राप्त गरेकी हुन् ।

यसअघि तीनपटकसम्म नागरिकताका लागि प्रयास गरे पनि कागजातका कारण असफल बनेकी थिइन् । खड्का भन्छिन्, ‘नागरिकता बनाउन गयो भने माइती लिएर आइज भन्ने, माइत पाँचथर हिम्वुवा हो । त्यति टाढाबाट माइती कहिले आइपुग्ने ? ’ यसपटक पनि आश मारेकी उनी घुम्ति शिविरमा आउन चाहेकी थिइनन् ।

आफन्तले सम्झाएपछि शिविर आएकी उनले नागरिकता पाएपछि खुसी बनिन् । ‘अब मर्ने बेलामा नागरिकता पाएको छु खुशी छु । बाँचेछु भने सरकारको भत्ता खान्छु’–उनले भनिन् । उनीजस्तै केराबारी–६ की कान्छीमाया देवानले पनि ७१ वर्षको उमेर नागरिकता प्राप्त गरेकी छन् ।

आर्थिक अवस्थाका कारण नागरिकता बनाउन नसेकी उनले शिविरबाटै नागरिकता पाइन् । देवान भन्छिन्, ‘आमाबाबु मरि गयो कसले नागरिकता बनाई दिने ?’ देवानको श्रीमान् पनि शारीरिक रूपमा अपाङ्ग छन् । विराटनगर गाडी भाडा तिरेर जानसक्ने अवस्था साथै बोली दिने कोही नभएपछि नागरिकताविहीन थिइन् ।

नागरिकता पाएपछि वृद्ध भत्ता पाउने आशा व्यक्त गरिन् । केराबारी–९ की दिलकुमारी माझीले पनि ६३ वर्षको उमेरमा बल्ल नागरिकता लिइन् । हराएको बसाइ–सराइको कागजको प्रतिलिपि बनाउन नसक्दा उनको नागरिकता बन्न सकेको थिएन । खड्का, देवान र माझी हाम्रा समाजको प्रतिनिधि पात्र मात्र हुन् ।

नागरिकतामा सनाखत गरिदिने र माइती नहुँदा धेरै नेपाली नागरिकहरू नागरिकताबाट बञ्चित छन् ।

केराबारी–९ कुसुमेका शेर्पा थरका दुई जना र लिम्बू थरका महिलाहरू कागजात अभावमा त्यसै फर्किएका छन् । पछिल्लो समयमा सरकारले वृद्ध तथा एकल महिलाहरूलाई भत्ता दिने व्यवस्था गरेपछि वृद्धा महिलाहरू नागरिकता बनाउन चासो देखाएका हुन् ।

केराबारी गाउँपालिकामा नागरिकता बनाउने वृद्धहरू भन्दा वृद्धाहरू बढी भेटिएका छन् । दुई दिनका लागि शिविर सञ्चालन गरे पनि नागरिकता बनाउने चाप भएपछि बिहीबारसम्म सेवा प्रदान गरिएको छ ।