बिर्तामोड/ झापाको शिवसताक्षी नगरपालिकास्थित चन्द्रडाँगीकी इन्दिरा राजवंशीले स्नातक तह उत्तीर्ण गरेपछि उनको बिहे उनीभन्दा धेरै कम पढेका बिर्तामोडका एकजना राजवंशी युवकसँग भयो । इन्दिराका अनुसार बिहे गर्नका लागि उनले उनी बराबर शिक्षा लिएका युवक पाइनन् । उनी भन्छिन् ‘आफूसमान शिक्षित जीवनसाथी नपाउँदा केही कुरामा निर्णय लिन पनि गाह्रो हुने रहेछ ।’

बिर्तामोडकै एउटा कलेजमा स्नातक तह अन्तिम वर्षमा पढिरहेकी मीरा राजवंशीका लागि धेरै राजवंशी केटा माग्न त आए तर उनी बराबर पढेका कोही पनि आएनन् । मीराले भनिन्– ‘अहिलेसम्म जति केटा आए मलाई माग्न, मेरो बराबर पढेका छैनन् ।त्यसैले मैले केही निर्णय गर्न सकेको छैन ।’

छोरासरह छोरीलाई शिक्षा दिनुपर्ने आवाज स्थापित भएको समयमा पूर्वी नेपालको झापा जिल्लामा बसोबास गर्ने आदिवासी समुदायका युवतीहरू भने विवाहका लागि आफूसरहको जीवनसाथी नपाउने अवस्थामा छन् ।

आदिवासी समुदायका युवकले बीचैमा अध्ययन छाड्ने भएका कारण युवतीले आफूले जति नै अध्ययन गरेका युवक जीवनसाथी नपाउने अवस्था आएको हो । त्यसकै कारण आदिवासी समुदायका कतिपय युवतीले अर्काे समुदायका युवकसँग विवाह गर्ने गरेको पाइएको छ ।

केही वर्षअघिसम्म छोरीचेलीलाई विद्यालय नपठाउने अवस्था भएकाले पुरुषसरह महिलाले पढ्न पाउने अवस्था थिएन । तर, जब देशमा बेरोजगारी समस्या बढ्न थाल्यो तब पुरुष जति पढाइ छाडेर विदेशिन थाले । गाउँ–घरमा रहेका महिलाले विद्यालय तथा कलेजको पढाइलाई निरन्तरता दिँदै आए ।

अहिले गाउँघरमा पुरुषले भन्दा महिलाले उच्च शिक्षा हासिल गर्दैछन् । जसका कारण बिहे गर्नका लागि शिक्षित महिलाले आफ्नो योग्यता बराबरका पुरुष पाउन छाडिसकेका छन् ।

खासगरी पूर्वी नेपालका आदिवासी समुदायमा यो समस्या अहिले जटिल बन्दै गएको छ । बिहे गर्न आफू समान शिक्षा लिएका युवक नपाएपछि आफू भन्दा धेरै कम शिक्षा लिएका युवकसँग बिहे गर्न बाध्य हुनुपरेको पूर्वी नेपालमा बसोबास गर्ने आदिवासी समुदायका युवतीहरूले बताएका छन् ।

आदिवासी समुदायका अधिकांश युवकहरू अलि समय पढेपछि पढाइ छोडेर पैसा कमाउन घर बाहिर जान्छन् तर युवतीहरूले भने पढाइलाई निरन्तरता दिने गरेका छन् । स्नातक उत्तीर्ण गरेपछि बिहे गर्नका लागि आफूहरू समान शिक्षा लिएका केटा पाउनै गाह्रो हुन थालेको आदिवासी युवतीहरूको भनाइ छ ।

यो समस्या आउनमा पढेलेखेका आदिवासी समुदायका युवकले अन्तरजातीय बिहे गर्नु पनि एउटा कारण रहेको आदिवासी समुदायका अगुवाहरुको भनाइ छ । त्यसका अतिरिक्त परिवारको लालनपालनको जिम्मेवारी युवकले पाएपछि पैसा कमाउनका लागि पढाइ छोड्नुपर्ने बाध्यता अर्को कारण रहेको राजवंशी समुदायका अगुवा तुलाराम राजवंशी बताउँछन् ।