पाँचथर/ पूर्वी नेपालका लिम्बू भाषासेवीले सरकारको लगानीबिना नै झण्डै एक दशकदेखि कक्षा ११ र १२ मा लिम्बू भाषा पठन-पाठन गराउँदै आएका छन् ।

लिम्बू बाहुल्य क्षेत्रमा लिम्बू भाषालाई सरकारी कामकाजीको भाषा नबनाए पनि लिम्बू भाषासेवीहरूको पहलमा २०६७ सालदेखि कक्षा ११ र १२ मा लिम्बू भाषा पठनपाठन हुँदै आएको हो । उनीहरु आफैंले लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्ड बनाएर पठनपाठन गराइरहेका हुन् ।

बोर्डका अनुसार हालसम्ममा २८० विद्यार्थीले कक्षा ११ र १२ उतीर्ण गरेका छन् । पाँचथरको फाल्गुनन्द-२, मा रहेको सत्यहाङ्मा मावि, कुम्मायक-१, मा रहेको पृथ्वी मावि र इलामको माङसेबुङ-५, मा रहेको सरस्वती माविमा कक्षा ११ र १२ मा लिम्बू भाषा पठनपाठन भइरहेको लिम्बू भाषा उच्च माध्यमिक शिक्षा बोर्डले जनाएको छ ।

सुनसरीको धरानस्थित पब्लिक मावि कक्षा ११ र १२ मा पनि लिम्बू भाषा पठनपाठन भइरहेकोमा हाल स्थगित रहेको बताइएको छ ।

लिम्बू भाषा लिम्बू समुदायका मात्र नभएर अन्य समुदायका विद्यार्थीले पनि अध्ययन गरिरहेका छन् । लिम्बू भाषामा विद्यार्थीले राम्रो अंक समेत प्राप्त गरिरहेको सत्यहाङमा मावि फाल्गुनन्द-२, का लिम्बू भाषा शिक्षक एस.बी.लिम्बूले बताए ।

भाषा मुलतः अभिव्यक्तिको माध्यम हो । भाषाले समुदायको पहिचान र सभ्यता समेत झल्काउछ, लिम्बू भाषासेवी महिसा याक्गुङबा बताउँछन् । कुनै पनि समुदायले प्रयोग गर्ने भाषा किन नहोस, त्यो राज्यको सम्पदा भएकाले भाषाको संरक्षण गर्ने प्रमुख दायित्व पनि राज्यकै भएको याक्थुङबाको भनाई छ ।

तर राज्यस्तरबाट प्रभावकारी ढंगले संरक्षण हुन नसक्दा कतिपय भाषा हराएर जाने अवस्थामा पुगेको उनले बताए ।

नेपालको संविधान २०७२ को धारा ३१ को शिक्षा सम्बन्धि हकको उपधारा ५ ले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम मातृभाषामा शिक्षा पाउने र शैक्षिक संस्था खोल्ने हक दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार मातृभाषामा शिक्षा दिने विद्यालयलाई अनुमति दिने र नियमन गर्ने जिम्मा स्थानीय सरकारलाई छ ।

तसर्थ विभिन्न मातृभाषामा शिक्षा प्रदान गर्न स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिका सचिव मधु केरुङ बताउँछन् ।  भाषाविद हरिचन्द्र लावतीका अनुसार भाषा आयोगले ‘शिक्षामा मातृभाषा’ कार्यक्रम अन्तरगत बढि वक्ता संख्या भएका लिम्बू सहित दश वटा मातृभाषाको अध्ययन थालेको छ ।

यस अध्ययनबाट मातृभाषा शिक्षामा ठूलो सहयोग पुग्ने भाषाविद लावती बताउछन् । भाषासेवीहरु मात्रैको प्रयासले कक्षा ११ र १२ मा लिम्बू भाषा पठनपाठन भइरहनु गर्वको कुरा भएको बताउँदै शिक्षा बिकास तथा समन्वय इकाई पाँचथरका प्रमुख युगमणी सबेहाङले भने अब यसलाई आधिकारिकता दिनेतर्फ लाग्न सुझाब दिएका छन् ।

इतिहासकारहरुका अनुसार नवौं शताब्दीमा प्रथम सिरिजंगाहाङले किरात सिरीजंगा लिपीको आविस्कार गरेका हुन् । लिम्बू भाषा यहीं लिपीमा लेखिन्छ । वि.सं.२०६८ सालको राष्ट्रिय जनगणना अनुसार नेपालमा लिम्बू जातिको जनसंख्या तीन लाख ८७ हजार तीन सय छ भने तीन लाख ४१ हजारभन्दा बढी लिम्बू भाषाका वक्ता रहेका छन् ।