भाइबहिनीहरू तिमीहरूलाई ‘पबजी’का बारेमा थाहा छ ? यो एउटा मोबाइल गेम हो । हालसम्म यो २० करोडभन्दा बढी पटक डाउनलोड भइसकेको छ । यसको दैनिक कमाइ नेपाली झण्डै २० करोड जति पुग्छ । यसमा हाल ३ करोड एक्टिभ युजर्स छन् । पबजी वा फोर्टनाइटको लत अहिले तिमीहरू जस्तै विद्यार्थीमा बढ्दै गइरहेको तथ्याङ्कले देखाएको छ । गत २ वर्षमा यो गेम खेलेर रोगी हुनेको सङ्ख्या ३ गुणा बढेको छ । यस विषयमा नेपालमा गहिरो अध्ययन भएको छैन । तर हाम्रो छिमेकी मुलुक भारतमा एउटा अध्ययन भएको छ । यही अध्ययनका आधारमा एउटा रिपोर्ट हामीले तयार पारेका छौं ।
भारतको जनसङ्ख्या १,३४,८१,३५,१५७ छ भनिन्छ । तर सन् २०१७ को जनसङ्ख्यालाई हेर्ने हो भने १.३३९ विलियन देखिन्छ । यो पूरै विश्वको कुल जनसङ्ख्याको १७ दशमलव ७४ प्रतिशत हो । यसमा १७ वर्षसम्मका बालबालिका ४४ मिलियनभन्दा बढी रहेको देखिन्छ । यो जनसङ्ख्याको ६८ प्रतिशत बच्चाहरूले ‘पबजी’ खेल्ने गरेको देखिन्छ ।
भारतको एउटा सञ्चारमाध्यम दैनिक भाष्करका बेङलुरुका समाचारदाता धर्मेन्द्र सिंह भदौरियाले यसबारे न्युज रिपोर्ट तयार पारेका छन् । उनका अनुसार बेङ्लुरुस्थित नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्युरोसाइन्सेस परिसरको शट (सर्भिसेज फर हेल्दी युज अफ टेक्नोलोजी) क्लिनिकमा उपचार गराउन आएका पबजी खेल्ने विशाल नाम गरेका बालक दैनिक ९ घण्टा पबजी खेल्दा रहेछन् । यो खेलको लत लागेपछि उनलाई अस्पताल पु¥याउनु परेछ । विशाल जस्तै भारतमा ६८ प्रतिशत बालबालिका पबजी र फोर्टनाइटजस्ता खेलका शिकार हुने गर्दा रहेछन् । भारतमा मात्र २२ करोड बढी गेमर्स रहेछन् । यस्ता बालबालिका १४ घण्टासम्म मोबाइल गेममा समय बिताउँदा रहेछन् । शट क्लिनिकका प्रोफेसर डाक्टर मनोजकुमार शर्माका अनुसार धेरैजासो बालबालिकाले आफू बिमारी नभएको भन्दा रहेछन् । तर उनीहरु यस्ता गेमको लतमा लागेर क्लिनिक नै पुग्नु पर्ने अवस्था आउँदो रहेछ । सन् २०१३ देखि यो ‘गेमिङ बिमारी’ फेला पर्न शुरु भएको रहेछ । सन् २०१६ सम्म आइपुग्दा यो सङ्ख्या तीन गुणा बढी पुगेछ । यसको कारण इन्टरनेट सस्तो भएर पनि हो भन्ने डाक्टरको ठम्याइ छ । डाक्टरसँग उपचार गर्न १२ देखि २३ वर्षसम्मका व्यक्ति पुग्दा रहेछन् । त्यहाँ हप्तामै तीनचारजना नयाँ बिरामी पुग्दा रहेछन् । औषधिबाहेक यस्ता बिमारीलाई ८ देखि २५ काउन्सिलिङ सेशन दिनुपर्ने रहेछ ।
यस्तो गेमिङ बिरामीहरुमा मुख्यतया शारीरिक क्रियाकलाप बन्द हुने, सामाजिक क्रियाकलाप बन्द हुने मात्र होइन नुहाइधुवाइ पनि नगर्ने, खाना खान मन नगर्ने, रातमा ननिदाउने, दिउँसो सुत्ने, विद्यालय नजाने, गए पनि उँङ्ने, साथीसँग भेट भए पनि पबजीकै बारेमा कुरा गर्ने, खेल्ने लक्षण देखा पर्दा रहेछन् ।
अभिभावकहरूले पनि प्रविधि र एक्सपोजरको नाउँमा बच्चालाई मोबाइल दिने, यसको बढी प्रयोग गर्दा वास्ता नगर्ने गर्छन् । रमाइलो, मनोरञ्जन र टाइमपासका रुपमा मोबाइल प्रयोग गरिरहँदा बालबालिका ‘गेमिङ रोग’ को शिकार हुने गरेका छन् । यो लत लागेपछि छुटाउन निकै समस्या हुने गरेको डाक्टरहरू बताउँछन् । त्यसका लागि मोटिभेस्नल क्लास, थेरापी, अभिभावक शिक्षा लगायत दिनुपर्छ । जीवनशैली परिवर्तनका लागि प्रोत्साहित गर्नुपर्छ । अचानक गेम छुटाउँदा पनि बच्चमा रिसाउने, आक्रोशित हुने हुनाले अभिभावकले सिमित समय तोकेर विस्तारै अन्य सामाजिक, पारिवारिक क्रियाकलापमा सहभागी गराउनु पर्छ । यस्ता बालबालिकालाई एक्लै राख्न हुँदैन ।
गेममात्र होइन, यो लत सोशल मिडिया, पोर्न साइट, नेटफ्लिक्स, अमेजन प्राइम, हटस्टारमा पनि कयौं सिरिजमा प्रोगाम हेरेपछि लाग्ने गरेको छ । अहिले बालबालिकामा टेक्नोलोजी एडिक्शन बढ्दै गइरहेको प्रति अभिभावक सचेत हुन जरुरी छ । र तिमीहरूजस्ता विद्यार्थीले आफैं सचेत हुनुपर्ने आवश्यक्ता छ ।
स्मरणीय कुरो के छ भने, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले यसै वर्ष ‘गेम खेल्ने लत’ लाई मानसिक रोगीको श्रेणीमा समावेश गरेको छ ।