पथरी/ भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरबाट मोही हक खोजिएको पत्र आएपछि जग्गाधनी प्रभादेवी पौडेल तीन छक्क परिन् । कानेपोखरी–४ बयरवनकी पौडेलले किनेको जग्गाबाट मोही दिनुपर्ने भन्दै पत्र आएपछि छक्क परेकी हुन् ।

पौडेलले छिमेकी सुर्वण भट्टराईबाट २०६७ सालमा कित्ता नम्बर ८०५ को १ बिघा ३ कठ्ठा जग्गा किनेकी थिइन् । भट्टराईले २०५० साल माघ १० गतेनै भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरबाट मोहीको लगत कट्टा गरिसकेका थिए ।

तर, सोही स्थानमा बसोबास गर्दैै आएका तौले माझीको छोरा तुलबहादुर माझीले मोहीको हक पाउँ भन्दै भूमिसुधारमा मुद्दा हालेका छन् । २०६९ सालमा तौले माझीको निधन भइसकेको छ । बुबाले जोतभोग गर्दै आएको जग्गामा जग्गा धनीले मोही दिन इन्कार गरेको जालसाजी गरी लगत कट्टा गरेको भन्दै मुद्दा दर्ता गराएका हुन् ।

तर, उनीहरू २५ वर्षअघिनै कोशी टप्पुबाट सट्टाभर्नामा बसाइ आएको स्थानीयको भनाइ उदृत गर्दै वडासदस्य शिव दुलाल बताउँछन् ।

पौडेलले किन्नुभन्दाअघि जग्गा धनी भट्टराई आफैले जोतभोग गर्दै आएको जग्गाधनी सुर्वण भट्टराई बताउँछन् । तौले माझीले कित्ता नम्बर ८०१ को जग्गा जोतभोग नगरेको दाबी उनको छ । माझीले अर्को जग्गा जोतभोग गरेकाले उक्त जग्गाको सहमति मै लगत कट्टा गरिसकेको भट्टराईले बताए ।

जग्गाधनी प्रभादेवी पौडेलले जग्गा किनेको १७ वर्षपछि मोही हक खोज्ने, मोहीको लगत कट्टा गरिएको २५ वर्षपछि मोही हक खोज्ने कस्तो व्यक्ति हो ? केही व्यक्तिको उस्काहटमा अनावश्यक दुःख दिन खोजेको बताइन् ।

उनका अनुसार एकातिर भूमिसुधार तथा मालपोत कार्यालय विराटनगरले जग्गाको मोहीको लगत कट्टा गर्ने र अर्कोतिर मोही देउ भनेर पत्र पठाउँदा आफै आश्चर्यमा परेको छु । वडा ४ की प्रभादेवीको मात्रै यो समस्या छैन, उनको झैं आधा दर्जन जग्गाधनी अहिले यही समस्यामा फसेका छन् ।

१ बिघा ३ कठ्ठाबाट प्रभादेवीले छिमेकी सिता खड्कालाई ६ कठ्ठा जग्गा बेचेकी थिइन् । अहिले तुलबहादुर माझीले उही किसिमको मुद्दा लगाएको छ । छोरो ख्याम खड्काले विदेश गएर कमाएर पठाएको रकमले किनेको जग्गा मोही दिनु पर्ने भन्दै पत्र आएपछि गाउँमा हारगुहार गरेकी छिन् ।

जग्गाधनी सीता खड्का मेहनत गरेर खरिद गरेको जग्गा जाने भन्दै चिन्तामा परेकी छन् । गाउँबासीलाई बुझ्दा जग्गा दिनु पर्दैन भनिए पनि कार्यालय जादै आउँदै गर्दा दुःख पाएको उनी बताउँछिन् । लल्की चौधरीले पनि सोही किसिमको मोही हक माग्दै दलबहादुर ढुङ्गाना, डम्बरकुमारी भट्टराई, ज्ञानेन्द्रबहादुर भट्टराईलाई मुद्दा लगाएकी छन् ।

त्यस्तै डोमी चौधरीले पनि मोही हक माग्दै मिनप्रसाद भट्टराईलाई मुद्दा लगाएकी छन् । भट्टराईको जग्गा पनि लगत कट्टा भइसकेको छ । जालसाजी गरेर लगत कट्टा गरिएको भनेर चौधरीले हक दाबी गर्दै मुद्दा लगाएकी हुन् ।

त्यसैगरी मालती राजवंशीको कित्ता नम्बर ६/क, ६/ख को ६ बिघा जग्गामा बुबा बन्हु चौधरीले जोतभोग गरेको भन्र्दै लल्कु चौधरी, जोखन चौधरी, दाताराम चौधरीले मोही हक दाबी गरी मुद्दा लगाएका छन् ।

वडा नम्बर ४, का वडासचिव एतराज नेपालीले कसैको लगत कट्टा भएको र केहीको नभएकाले कानूनअनुसार जोतभोग गरिरहेकाले मोही हक पाउने बताए । देशमा भूमिसुधार ऐन २०२१ अनुसार मोही हक दाबी गर्दै आइरहेका छन् ।

२०३२ सालदेखि नेपालमा सरकारले जग्गाको धनीपुर्जा दिन थालेको थियो ।

पहिले सरकारले जग्गा धनीलाई धनीपुर्जा र सोही धनीको खेत जोत्नेलाई मोहीको पुर्जा दिने चलन थियो । तात्कालीन समयमा कुल क्षेत्रफलको २५ प्रतिशत मात्र मोही दिने गरेको थियो भने अहिले कुल क्षेत्रफलको ५० प्रतिशत मोही हक पाउँने व्यवस्था कानूनमा छ ।

वडाअध्यक्ष धनबहादुर राईले मोही हक दाबी गर्न २०–२५ वर्षअघि यो वडाबाट बसाइ सरेर गएकोलाई पनि ल्याएर जन्मदर्ता, बसाइ–सराइसमेत बनाउन खोजिए पनि आफूहरूले नदिएको बताए ।  कीर्ते गरेर वडाबाट सिफारिस लिने मोही हक दाबी गर्दै धेरै आएका कारणले आफूहरूले थाहा पाएरै सिफारिस नदिएको बताए ।