धरान/समुन्द्र सतहबाट २ हजार १ सय मिटर उचाइको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडा अब झुल्के घाम नियाल्नका लागि मात्रै रहेन । शनिबारदेखि ध्वजेले नयाँ परिचय पनि थपेको छ ।
पारपम्परिक रूपमा झुल्के घाम नियाल्ने डाँडा ध्वजेबाट साहसिक खेल प्याराग्लाडिङको उडान केन्द्र बन्ने सङ्केत देखिएको छ । शनिबार त्यहाबाट २ वटा टेण्डमसहित ७ वटा परीक्षण उडान भरेपछि डाँडाबजारको ध्वजे डाँडा प्याराग्लाइडिङको उडान केन्द्र बन्ने विश्वास लिइएको छ ।
सुनसरीको धरानबाट २९ किलोमिटर पूर्वाेत्तर रहेको ध्वजे डाँडा प्याराग्लाइडिङका लागि पनि उर्वर सावित बनेको छ ।
\
‘ध्वजे डाँडा उडानका लागि एकदमै पोसिबिलिटी देखियो ।’ प्याराग्लाडिङ प्रशिक्षक देशवीर जिमी भन्छन् । उनका अनुसार देशभरका डाँडाहरू प्याराग्लाडिङका लागि उर्वर छन् । तर अहिले नेपाल सरकार अन्तर्गतको नेपाल नागरिक उडड्यन प्राधिकरणले पूर्वको ‘उदयपुर, सुनसरी र मोरङ’लाई समेट्ने गरी १ सय २४ किलोमिटर हवाइ रङ्शालाको स्वीकृति प्रदान गरेको छ ।
त्यसले पनि प्याराग्लाइडिङ र पर्यटनका लागि उत्साह थपेको हो ।
‘सरकारी तवरबाट यो पहिलो प्रयास हो । यसरी राज्यले हवाइ स्पेश दिएको यो नै पहिलो हो । प्रदेश १ को लागि सुवर्ण अवसर हो ।’ प्रशिक्षक जिमी भन्छन् । अब प्रदेश १ मा क्रसकन्ट्री अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ ।
हवाइ रङ्गशालाको अनुमति प्रदान गरेपछि नै सम्भाव्यताका लागि परीक्षण उडान गरिएको हो । जसमा नेपाल हेण्डग्लाइडिङ एण्ड प्याराग्लाइडिङ सङ्घ (नेफा) सफल सावित भएको छ ।
साहसिक खेलमा पर्ने प्याराग्लाइडिङ पर्यटक आर्कषणको केन्द्र पनि हो । खेललाई पर्यटनसँग जोड्ने एउटा माध्यम नै प्याराग्लाइडिङ भएकाले पनि डाँडाबजारबासीमा नयाँ उत्साह थपिएको छ । ‘हाम्रा लागि नयाँ अवसर सिर्जना गरेको छ ।’ डाँडाबजारका स्थानीयबासी तथा पर्यटन विकास समिति डाँडाबजारका सदस्य ध्रुव घिमिरे भन्छन्, ‘पर्यटन व्यवसायका लागि यो कोशेढुङ्गा सावित हुने छ ।’
डाँडाबजारमा केही वर्षयतादेखि होमस्टे पनि सञ्चालनमा छ ।
तर, पर्यटकहरूको आगमन कम हुने कारण पनि होमस्टे सञ्चालक निराश थिए । अब भने उनीहरूमा पनि उत्साह थपेको छ । प्याराग्लाइडिङले प्राण भर्ने विश्वासमा डाडाबजारबासी छन् । घिमिरेका अनुसार फ्रान्सेली २ नागरिकसहितले उडान भरेका थिए । उक्त दृष्य हेर्नलायक थियो । ‘अब झुल्के घाम हेर्ने मात्रै थलो रहेन ।’ उनी भन्छन्, ‘प्याराग्लाडिङको सफल परीक्षण उडानले हामीलाई पर्यटनमा नयाँ उमङ्ग थपेको छ ।’
यसैवर्ष नेपालको स्याङ्जामा प्याराग्लाडिङको विश्व च्याम्पियन प्रतियोगितासमेत सम्पन्न भएको छ । यही वर्ष उदयपुरको बेलका नगरपालिकामा प्याराग्लाडिङसम्बन्धी स्कुलसमेत खुलेको छ । जहाँ ६ जना विद्यार्थीहरूले प्रशिक्षण लिइरहेका छन् । ‘पहिलो चरणमा ६ जना थिए ।’ प्रशिक्षक जिमी भन्छन्, ‘दोस्रो चरणमा चार जना छन् । पोखराका ३ र धरानका १ जना छन् ।’
उनका अनुसार नेफाले स्कुल सञ्चालन गरिरहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नै प्याराग्लाइडिङलाई पनि खेलभित्र अटाएको छ । यही वर्ष नेपालले प्याराग्लाइडिङमा रजत पदकसमेत हात पारेको थियो ।
यसले पनि प्याराग्लाइडिङमा उत्साह भरेको प्रशिक्षक जिमीको भनाइ छ । ‘पर्यटनको कुरा मात्रै रहेन, खेलमाध्यमबाट पनि नेपाल चिनिन पाएको छ ।’ उनी भन्छन् ।
यहीबीचमा ध्वजे डाँडाबाटको परीक्षण उडानले प्याराग्लाइडिङमा पर्यटन व्यवसायीहरू थपिने आशा गरिएको छ ।
साहसिक खेल प्रवद्र्धन गर्दै आएको एस्ट्रिम धरानको सहकार्यमा ध्वजेबाट उडान गरिएको हो । करिब ढेड घण्टामा धरानमा आइपुगेको थियो । ५ जनाले सोलो उडान गरेका थिए । टेण्डमसहितको दुईवटामा प्रशिक्षार्थीहरू रहेका थिए ।
परीक्षण उडान सफल भएपछि डाडाबजारबासी मात्रै हैन, प्याराग्लाइडरहरू पनि उत्साहित बनेको पर्यटन विकास समिति डाँडाबजारका अध्यक्ष त्रिलोचन घिमिरे बताउँछन् ।
‘हामी त उत्साहित छौँनै । परीक्षण सफल भएपछि उहाँहरू पनि उत्साहित हुनुभयो ।’ उनले भने ।
उनका अनुसार व्यवसायिक उडानका लागि केही भौतिक संरचनाको निर्माण गर्नुपर्ने देखिएको छ । ‘तत्कालका लागि उडान गर्ने ठाउ मिलाउने, सम्याउनु पर्ने देखिएको छ ।’ उनले थपे । गाउँपालिकाका अध्यक्ष कुमारजङ्ग याक्खासहित जनप्रतिनिधि उपस्थित भएकाले भौतिक संरचना निर्माणले पनि चाडै मूर्तता पाउने छ ।
ध्वजेको मानक झुल्के घाम, धार्मिक स्थलसँगै अब प्याराग्लाडिङले नयाँ मानक थपेको छ । ‘थप परिचय आउने विश्वास छ ।’ अध्यक्ष घिमिरे थप्छन् ।