बक्लौरी/ सुनसरीको पर्यटकीय क्षेत्रहरू मध्ये ओझेलमा परेको तर पर्यटक पुग्नै पर्ने ठाँउ हो सुनसरीको रामधुनी नगरपालिकास्थित ६४ बिघा । यो क्षेत्र पर्यटक लोभ्याउने आकर्षक गन्तव्य बन्न थालेको छ ।
ठूलो सिमसार क्षेत्र, वनजङ्गल तथा जङ्गल क्षेत्रमा निस्कने पानीको मूललाई संरक्षण गरी तालको रूपमा विकास गरिएपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि सही गन्तव्य बनेको हो ।
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस डाँडासम्म पुग्ने जो कोही पर्यटकको मन लोभ्याउने गरेको उनीहरू बताउँछन् ।
‘पछिल्लो समय यस क्षेत्रमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका छन् ।’ स्थानीय चन्द्रबहादुर केसीले भने– ‘पर्यटकहरू दिनदिनै बढेपछि यहाँका स्थानीय हर्षित भएका छन्, हामी हर्षित छौँ ।’ पूर्वाधारको विकास गर्दै यसको प्रचार–प्रसारलाई व्यवस्थित गरेमा यहाँ आउने पर्यटकमार्फत् स्थानीय सरकारको आम्दानी समेत बढाउने अपेक्षा गरिएको छ ।
पर्यकटहरूको गन्तव्य बनाउन भुलभुलैयाबाट निस्कने पानीलाई संरक्षण गरी राष्ट्रिय संरक्षण ताल बनाइएको छ । सुनसरी सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा विभिन्न संरचनाहरू बनाएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गरी काम भइरहेको छ ।
पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने क्रममा ईमान सिंह चेम्जोङ पार्कको नाम दिएर निर्माण भइरहेको यस क्षेत्रमा आन्तरिक पर्यटक आउने क्रम शुरु भएको पार्क समितिका उपाध्यक्ष एवम् परिकल्पनाकार शशी राई बताउँछन् ।
धार्मिक र सांस्कृतिक रूपले पनि यस क्षेत्रको पहिचान बढाउने गरी थप योजना बन्दै जाने भएकाले यसलाई देशकै नमुना क्षेत्र बनाउने समिति र आफ्नो योजना रहेको राईले बताए । तालसहितको पर्यटकीय क्षेत्र निर्माण गर्ने भन्दा नपत्याउने स्थानीयहरू अहिले आफैँ यसको संरक्षणमा लागेको उनी बताउँछन् ।
उनी भन्छन्– ‘प्रचार–प्रसारको कमीकै कारण यो क्षेत्र पछि परेको छ । यसलाई राज्यले समेत ध्यान दिएको छैन ।
यस क्षेत्रमा ताल निर्माण गर्ने कार्यदेखि विभिन्न टहराहरू निर्माण गरिँदै छ । साथै पर्यटकहरूको सहजताका लागि शौचालय निर्माण तथा खानेपानीको विस्तार गरिँदै छ । ६४ बिघा अहिले साइक्लिङ गर्नेहरूको गन्तव्यसमेत बन्दै गएको छ ।
धरानदेखि यस क्षेत्रसम्म जङ्गल भित्रको बाटो प्रयोग गर्दा २० मिनेटको साइक्लिङ यात्रा रहने बताइएको छ । ६४ बिघाका स्थानीय सन्तोष राईले भने– ‘पर्यटकहरूलाई आकर्षण गर्ने यस क्षेत्रलाई पर्यटहरूको हब बनाउन चाहन्छौँ ।’
यस्तै सालको ठूला तथा हुर्कंदै गरेका बिरुवाहरू समेतको जङ्गल क्षेत्रमा विभिन्न प्रजातिका पुतली तथा चराहरू आउने गरेको स्थानीय बताउँछन् । ग्रामीण क्षेत्रमा रहेको मनोरम क्षेत्र भए पनि संरक्षणका दृष्टिले स्थानीय तथा नगरपालिकाले समेत ध्यान दिन नसकेको ताल क्षेत्रमा पुग्नेहरूले प्रतिक्रिया दिएका छन् ।
६४ बिघा प्रदेश–१ को पर्यटकीय स्थलको निकै राम्रो सम्भावना बोकेको ठाउँ भएकाले यसको संरक्षण र विकासमा अझ ध्यान दिनु पर्ने पर्यटकहरूको सुझाव छ ।
ताल क्षेत्रमा परम्परागत डुङ्गा तथा पाइडल डुङ्गाहरू सञ्चालनमा छन् । इमानसिंह चेम्जोङ पार्क समितिले तीनवटा तालको पानीबाट विद्युत उत्पादन गर्ने समेत योजना रहेको बताएको छ । मिनी हाइड्रोपावर निर्माण गरेर १५ सय मेगावटको विद्युत उत्पादन गर्ने गुरु योजना समेत निर्माण भइसकेको समितिले जनाएको छ ।
प्रशस्त सम्भावना बोकेको क्षेत्र भए पनि प्रचार–प्रसारको अभावमा अपेक्षाकृत पर्यटकहरू आउन नसकेको स्थानीयको गुनासो छ । यस क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न स्थानीय सरकार लाग्नु पर्ने सरोकारवाला बताउँछन् ।