धरान/ नापी कार्यालय धरान शाखाले एक सातादेखि अभाव रहेको जग्गाको नक्सा छाप्ने कागज आपूर्ति गर्न नसक्दा सेवाग्राही रित्तो हात फर्कन बाध्य छन् ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालय नापी विभाग अन्तर्गतको शाखा कार्यालयले कागज सकिएको साता बिते पनि कागज व्यवस्थापन गर्न नसकेको हो । एक सातादेखि कागज अभाव भएको सेवाग्राही बताउँछन् । नापीबाट दैनिक सानो र ठूलो गरी ७५ वटासम्म नक्सा लाने गरेका थिए ।

दैनिक सानो ५० वटासम्म जान्छ भने ठूलो आकारको नक्सा २५ वटासम्म जाने गरेको नापी शाखा बताउँछ । यसले दैनिक आउने राजश्वसमेत गुमिरहेको छ । तर, नापी शाखाले भने सेवाग्राहीलाई आकस्मिकरूपमा ‘कम्प्युटर प्रिन्ट’ गरेर दिने गरेको बताउँछ ।

‘हामीले इमरजेन्सी कसैलाई दिनुपर्यो भने कम्प्युटर प्रिन्ट दिन्छौं’–नापी शाखा अधिकृत धिरेन्द्रप्रसाद देब भन्छन् । उनले पनि एकसातादेखि कागज अभावमा नक्सा दिन नसकेको स्वीकार गरे ।
सेवाग्राही पङ्कज घिमिरेले कागज अभावमा नक्सा प्रिन्ट नदिने गरेको गुनासो पोखे ।

‘कागज नभएर प्रिन्ट नै दिदैनन्’ उनी भन्छन्, ‘कार्यालयले काम चलाउका लागि जहाँबाट ल्याएर पनि दिनुपर्ने हो । सेवाग्राहीलाई मार्कामा पार्नु नहुने हो ।’ उनले ‘कहाँबाट मगाउनु पर्ने हो त्यो मगाएर पनि काम चलाउनु’ पर्ने बताए ।

उनीमात्रै हैन, अधिकांस सेवाग्राही जग्गाको नक्सा लिन पाएका छैनन् । ‘नक्सा छाप्ने कागज सकिएको आज एक हप्ता पुगिसकेको छ’ मालपोत कार्यालयअघिल्तिर लेखापढी व्यवसाय गर्दै आएका राजु गौतम भन्छन्, ‘आउने–आउने भनेको एक साता भइसक्यो ।

अझै ४–५ दिन लाग्छ भन्छन् ।’ कागज नहुँदा दैनिक सेवाग्राही फर्किने गरेको उनले बताए । तर, ब्लाष्टकर्मीले बुझ्दा अझै एक साताभन्दा बढी लाग्ने शाखा अधिकृत देबले बताएका थिए । नक्सा विशेष गरी घर निर्माणको समयमा, खानेपानी जोड्न, विजुली बत्ति जोड्न, बैङ्कमा कर्जाका लागि धितो राख्न, घरनक्सा कोर्न, जग्गा बेच्दा आवश्यक पर्छ ।

तर, अहिले कागज अभावमा त्यो काम हुन सकेको छैन । यो विशेष किसिमको कागज हुने भएकाले पनि तत्काल ल्याउन नसकेको नापी शाखा अधिकृत देब बताउँछन् । ‘हामीले पनि मगाउने हो । त्यो इण्डियाबाट आउछ’ उनी भन्छन्,–‘त्यो विशेष किसिमको कागज हो ।ु’ उनले विराटनगरको एजेन्सीलाई मगाइसकेको दाबी गरे ।

उक्त कागजलाई ‘एमोनिया पेपर’ भनिन्छ । जसमा एक खाल्को ग्यास हुन्छ । नापी शाखाका अनुसार धेरै भण्डारण गर्दा कागज बिग्रिने डर हुने भएकाले ४–५ महिनाका लागि मात्रै भण्डारण गर्ने गरेका छौं ।

कागज रोलमा आउने हुनाले पनि धेरै भण्डारण गर्दा समस्या हुने गरेको नापी कार्यालय बताउँछ ।